राजधानी संवाददाता/राजविराज ।
नेपाल–भारतबीच खुला सीमा क्षेत्रमा तारजाली लगाउने र परिचयपत्र लागू गर्ने विषयमा दुवै देशका उच्च अधिकारीबीच छलफल चलिरहेका बेला यस विषयमा स्थानीय स्तरमा दुवै देशका नागरिक अगुवाबीच बहस चलाइएको छ ।
नेपाल–भारत खुला सीमा संवाद समूहले शुक्रबार सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समितिको सभा कक्षमा दुवै देशका नागरिक अगुवाको भेला गरी परिचयपत्र लागू गर्ने र सीमा क्षेत्रमा तारजाली लगाउँदा पर्ने असरबारे बहस चलाएको हो ।
भेलामा सहभागी अधिकांश वक्ताले वर्तमान परिवेशमा सीमा क्षेत्रमा तारजाली लगाउने र परिचयपत्र लागू गर्ने दुवै अवस्थाको विरोध गर्दै यसले सदियौंदेखि कायम रहेको नेपाल–भारतको सुमधुर सम्बन्धमा चिसोपना ल्याउने दाबी गरे । कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको चर्चा गर्दै सीमा क्षेत्रमा तारजाली वा परिचयपत्र लागू गरेर समस्या झन् बल्झिने जिकिर गरे ।
भौगोलिक बनावट, भाषा संस्कृति र पिपुल टु पिपुल सम्बन्धका आधारमा नेपाल–भारत सम्बन्ध युनिक रहेको चर्चा गर्दै उनले व्यावहारिक धरातल र रियालिटी–वेमा नेपाल–भारत सम्बन्ध अगाडि बढ्नुपर्नेमा जोड दिए ।
राजनीतिक विश्लेषक प्रा. अमरकान्त झाले नेपाल र भारतका चार÷पाँच जना केही प्रबुद्ध भनाउँदाहरुले काठमाडौंमा बसेर सीमा क्षेत्रमा तारजाली लगाउने र परिचयपत्र लागू गर्ने षड्यन्त्रमा लागेको चर्चा गर्दै यसविरुद्ध मधेसका मात्र होइन भारतका जनतासमेत मिलेर आवाज उठाउनुपर्नेमा जोड दिए ।
इतिहास विद् डा. पिताम्बरलाल यादवले सीमा क्षेत्रमा तारजाली लगाउने वा परिचयपत्र लागू गर्ने दुवै कुरा दुवै देशका नागरिकको हितमा नरहेको जिकिर गर्दै अपराध नियन्त्रण र सुरक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा मजबुत र निगरानी बढाए सबै समस्याको समाधान हुने बताए ।
भारतको निर्मली प्रखण्डका प्रमुख अरविन्द गुप्ताले सीमा क्षेत्रमा मानव तस्करी, हातहतियार कारोबार, लागूऔषध मदिराको ओसारपसार, चोरी तस्करी र अपहरणजस्ता घटना रोक्न तारजाली वा परिचयपत्रको सट्टा दुवै देशका सुरक्षा निकाय मिलेर संयुक्त गस्ती र निगरानी गर्दा उपयुक्त हुने सुझाव दिए ।
नेपाल–भारत खुला सीमा संवाद समूहका संयोजक राजीव झाकाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजपाका केन्द्रीय सहमहासचिव गजेन्द्र मण्डल, संवाद समूहका सदस्यद्वय अनिल महासेठ, डा. अमरेन्द्र यादव, प्रदेशसभा सदस्यद्वय विकेश्वर यादव, नेत्रविक्रम साह, वरिष्ठ पत्रकार शिवहरीप्रसाद भट्टराई, पत्रकार दिनानाथ यादवले मन्तव्य व्यक्त गरे । त्यस्तै, राजपाका केन्द्रीय सदस्यद्वय दिनेश यादव, अमरनाथ मण्डल, नेपाली कांग्रेसका मो. इर्साद अन्सारी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिका प्रमुख शम्भु यादव, भारतको कुनौली ग्रामपञ्चायतका प्रमुख सत्यनारायण रजकलगायतले पनि बोल्दै वर्तमान परिवेशमा सीमाक्षेत्रमा तारजाली र परिचयपत्र लागू गर्नुको सट्टा दुवै मुलुकको विकास, समृद्धि र सुरक्षाका लागि सीमा क्षेत्रमा संयुक्त गस्ती र उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका थिए ।
from Rajdhani Daily https://ift.tt/2zmmG6D

No comments:
Post a Comment