भगीरथ भण्डारी/इलाम ।
नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद जस्ताको त्यस्तै छ । केही समयअघिदेखि सीमामा समस्या नभएजस्तै गरी त्यो विषय मत्थर देखिए पनि सानोतिनो समस्या अहिले पनि देखिरहने गरेको छ ।
भारतीय सुरक्षा निकाय एसएसबी सीमा क्षेत्रका भारतीय भूभागमा जताततै छ । एसएसबीले दशगजा क्षेत्रमा टेन्ट हालेर र हतियार राखेर बस्ने क्रम अहिले पनि चलिरहेको छ । भर्खरै मात्र पशुपतिनगर फाटक नजिकै रहेको पुलखोलामा एसएसबीले दशगजाभित्रै तारबार लगाएर घेर्ने प्रयत्न गरेको थियो । त्यहाँ नेपालतर्पmबाट स्थानीय बासिन्दा र सीमा प्रशासनको प्रयासमा तारबार लगाउन नदिइएको पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयका प्रमुख मोहन पनेरुले जानकारी दिएका छन् ।
अहिले पनि पुलखोलामा एसएसबी दशगजाभित्रै पाल टाँगेर बसेका छन् । त्यहाँ उनीहरूले हतियार पनि दशगजाभित्रै सोझ्याएर राखेका देखिन्छन् । स्थानीयको सहयोगमा त्यहाँ तारबार लगाउन नदिइएको भए पनि भारतीय पक्षबाट अभैm त्यहाँ संरचना बनाउन पहल भइरहेको बुझिएको छ । त्यस क्षेत्रमा एसएसबीको क्याम्प नै छ ।
त्यतिबेला सीमा प्रशासनबाट राजदूतावास हुँदै भारत सरकारलाई दशगजा क्षेत्र पर्ने भएकाले संरचना नबनाइदिन र संयुक्त नापीबाट सीमा निर्धारण भएपछि मात्र थप काम गर्न आग्रह गरिएपछि रोकिए पनि भारततर्पmबाट ‘के हुँदै छ ? छिटो गरेर त्यहाँ संरचना बनाउन प्रक्रिया मिलाइदिनु प¥यो’ भन्ने जस्ता आग्रह भइरहेको प्रमुख पनेरुले बताए ।
इलाम जिल्लाको भागमा पर्ने भारतीय सिमानाको सन्दकपुरदेखि सूर्योदय नगरपालिकाको छब्बीसेसम्म अहिले जम्मा १०४ वटा सीमा स्तम्भ छन् । तीमध्ये मुख्य स्तम्भ १८ वटा र सहायक स्तम्भ ८६ वटा रहेको भनिए पनि पाँचवटा स्तम्भ गायब भएका छन् । ती स्तम्भ भारतीय पक्षबाट गायब गरिएको नेपाली पक्षको आरोप छ ।
छब्बीसेदेखि दक्षिणतर्पm मेची खोला बगेको हुँदा मेची नदीलाई नै सीमा मानिएर त्यहाँ इलामको भागमा सीमा स्तम्भ राखिएको छैन । मेची नदीबाहेकको स्थानमा भने कहिले स्तम्भ उखेलिने, कहिले दशगजा क्षेत्रमा संरचना बनिने, बाटो बनिने जस्ता हर्कत भइरहेका छन् ।
मानेभन्ज्याङमा दशगजा क्षेत्रमा भारतले बाटो बनाएर कालोपत्रे नै गरिदिएको छ । त्यहाँ मानेभन्ज्याङ बजारमा नेपालतर्पm पनि दशगजा क्षेत्रमा घर बनेका छन् र भारततर्पm पनि छन् । यस्तै, समस्या सन्दकपुरसम्मका सानातिना बजारमा पनि छ । सन्दकपुर जाने बाटो नै भारतले कतिपय स्थानमा नेपालपट्टिको दशगजाभित्र बनाएको छ ।
त्यति मात्र होइन । पशुपतिनगरको फाटकमा भारतीयतर्पmबाट दशगजा क्षेत्रमा गत वर्ष मात्र एउटा गुम्बा बनाएको छ । गुम्बा बन्न थालेपछि नेपालतर्पmबाट पटकपटक पहल गरिएको भनिए पनि त्यहाँ संरचना बनाएरै छाड्यो भारतले । ‘त्यहाँ उसले जितेको देखिएको छ,’ प्रमुख पनेरुले भने, ‘केन्द्रबाटै नापी टोली आएर नाप्दा पनि त्यो स्थान दशगजाभित्रै देखियो तर संरचना बनेको छ ।’
यता, छब्बीसेमा नेपाली भूभाग नै भारतपट्टि पारिएको छ । त्यहाँ सात घर नेपालीको बस्ती नै भारततिर पर्ने गरी नापी भएको जनाइएको छ । यसअघि भएको नापीमा ती घर भारततिर पर्ने भनेर स्तम्भ नै राखिएको भए पनि स्थानीयले स्तम्भ उखेलेर फ्यालिदिएका थिए । तर, पछि दुईतर्फी नापी टोलीले उक्त भाग भारततर्पm नै पर्ने भन्ने देखाएको भए पनि आधिकारिक र औपचारिक रूपमा त्यो भाग कता पर्छ भन्ने अहिलेसम्म टुंगो लगाइएको छैन । त्यहाँका बासिन्दाको नेपाली नागरिकता र नेपाली जग्गा पुर्जा छ ।
स्थानीय बासिन्दाका अनुसार पनि एसएसबीले बेलाबेला हतियार बोकेर नेपाली भागमा पस्ने, दशगजा क्षेत्रभित्र संरचना बनाउने गरेको छ । पशुपतिनगर पर्ने सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष चन्द्रकुमार सुब्बाले पनि भारततर्पmबाट कहिलेकाहीँ सीमा मिच्ने काम हुने गरेको बताए । उनले भने, ‘एसएसबीले अलिअलि गर्दै पेलिरहन्छ । हामी स्थानीय बासिन्दाको पहलमा त्यो कामलाई रोक्ने गरेका छौं ।’
from Rajdhani Daily https://ift.tt/2OHJVgq

No comments:
Post a Comment