नियमित व्यायाम गर्छु
मैले विगत सात वर्षदेखि नियमित व्यायाम गर्दै आएको छु । घरमा अति जरुरी काम पर्दा र जिल्लामा रहँदाबाहेक नियमित व्यायाम गर्ने गरेको छु । घरनजिकै ह्यात होटेल भएकाले त्यहाँको क्लबमा व्यायाम गर्छु । करिब एक किलोमिटरको दूरी रहेकाले धेरैजसो मर्निङ वाक गर्दै जाने गरेको छु । पानी परिरहेको अवस्थामा गाडीमै जान्छु ।
व्यायामले तनावमुक्त
शारीरिक रूपमा होस् वा मानसिक रूपमा, नियमित व्यायाम गर्दा र नगर्दा धेरै फरक पर्छ । व्यायाम नगर्दा शरीर अलि भारी हुन्छ । कामको चाप पर्दा दिनभर काम गरिरहन निकै गाह्रो हुन्छ । त्यसैले म एक–डेढ घन्टाजति पसिना मज्जाले बग्ने गरी व्यायाम गर्छु । यसरी नियमित व्यायाम गर्न थालेपछि स्फूर्ति बढेको छ । जतिसुकै कामको चाप भए पनि सहज रूपमा काम पूरा गर्छु । नियमित व्यायामले शरीरको स्फूर्तिपन बढ्नुका साथै तनावमुक्त बनाउँछ । त्यसैले शरीरको तौल पनि ब्यालेन्समा छ । त्यसले गर्दा म व्यायाम सकेसम्म छुटाउँदिनँ ।
विद्यार्थी जीवनमा खेलाडी
म विद्यार्थी जीवनमा एकदमै खेलप्रेमी थिएँ । खेलकुद भनेपछि सक्रिय भएर लाग्थेँ । विद्यालयमा हुने सबै किसिमका खेलकुदमा सहभागी हुन्थेँ । त्यसैले, मलाई बहुप्रतिभाशाली विद्यार्थीको रूपमा लिइन्थ्यो । शिक्षकहरूले सबै खेलकुदमा सहभागी हुन हौसला दिइरहनुहुन्थ्यो । त्यसले गर्दा शरीर पनि एकदमै फूर्तिलो हुन्थ्यो ।
खानाको तालिका छैन
दैनिक खानाको विशेष तालिका र निश्चित समय छैन । घरमा जस्तो हुन्छ त्यस्तै, जतिवेला समय मिल्छ, त्यतिवेला नै खाने हो । राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय हुन थालेपछि त्यो सम्भव नहुँदो रहेछ ।
बिहानको खाना र साँझको खानाचाहिँ घरमा नै खाने गरेको छु । दिउँसोतिर जहाँ हुन्छु र जस्तो उपलब्ध छ, त्यस्तै खाने गरेको छु । घरको खाना ताजा, स्वास्थ्य र पौष्टिक हुन्छ । त्यसले गर्दा पनि विशेष तालिका नबनाए पनि स्वस्थकर खाना भएकाले मेन्टेन नै छ । बाहिर पनि त्यति धेरै अस्वस्थ खाना खाइँदैन, तर घरको खानाको तुलनामा अलि बढी चिल्लो–पिरो हुन्छ ।
मेरो खाना
बिहानको खाजा : व्यायाममा जानुअघि एकदम थोरै सुप खाएर जान्छु । त्यसलाई हामी थुप्पाको सुप भन्छौँ । यो स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । एक घन्टा व्यायाम गरेपछि साथीभाइसँगको भेटघाट अथवा कार्यक्रममा सहभागी हुन्छु । त्यसैक्रममा चिया बिस्कुट खान्छु । अथवा, अन्य हल्का खाजा खान्छु ।
बिहानको खाना : बिहानको खाना खाने समय एउटै हुँदैन । कहिले साढे ११ बजे हुन्छ, कहिलेकाहीँ त दुई नै बज्छ । बिहानको खानामा म सामान्य नेपाली दालभात खान मन पराउँछु । घरैमा पाकेको खानेकुरा मनपर्ने हुँदा सकेसम्म घरमा नै आउँछु । कहिलेकाहीँ भने सम्भव हुँदैन ।
दिउँसोको खाजा : बिहानको खाना खाँदा दुई बज्छ, त्यसैले खाजा खाँदा कहिले पाँच बज्छ भने कहिले खाइँदैन पनि, त्यसैले अवस्थाअनुसार अथवा उपलब्ध भएअनुसार खाजा खान्छु ।
साँझको खाना : साँझको खानाचाहिँ म अनिवार्य घरमा नै आउँछु । अरू वेला परिवारसँग बसेर खान सम्भव हुँदैन । तर, साँझमा चाहिँ घरैमा आएर परिवारसँग बसेर खान्छु । श्रीमतीले साँझ–बिहान खानाचाहिँ घरैमा आएर खानुपर्छ भन्छिन्, तर आफ्नो कार्यक्षेत्रले गर्दा सम्भव नहुँदो रहेछ । राजनीतिक तथा सामाजिक क्षेत्रमा लागेकाको साझा समस्या नै यही होलाजस्तो लाग्छ । म प्रायः आठ बजे घर आइसकेको हुन्छु । साँझ प्रायः रोटी–तरकारी खान्छु । अन्य समयमा पनि म श्रीमतीको सल्लाहअनुसारको खाना खाने कोसिस गर्छु ।
मांशाहारी हुँ : म मासु खान्छु । पहिला अलि बढी खाइन्थ्यो, अहिले स्वास्थ्य खराब हुने भएकाले यसलाई कन्ट्रोल गर्न थालेको छु । बँदेलको मासु मेरो मनपर्ने तरकारी हो । सुगरको समस्याले कन्ट्रोल गरेको हुँ । दुई हप्तामा एकपटक खान्छु । त्यस्तै, मटन पनि एकदम मनपर्छ । यसलाई झनै कम गरेको छु । महिनामा एकचोटी खाने गरेको छु । चिकेनचाहिँ अरूको तुलनामा अलि बढी खाइन्छ । हरियो र सकेसम्म अर्गानिक खाने कोसिस गर्छु ।
पानी : दिनभर पानी पिइरहन्छु । मेरो शरीरलाई आवश्यक पानी पर्याप्त पिउँछु । दिनभर कम्तीमा पनि चार लिटर पिउँछु होला ।
जाँडरक्सी र चुरोट : मैले जाँडरक्सी र चुरोट अहिलेसम्म छोएको पनि छैन । नछोएपछि त्यसको स्वाद थाहा हुने कुरै भएन । सानोमा वास्ता भएन । ज्ञान आएपछि यसले राम्रो गर्दैन भन्ने ठानेर नै खाइएन पनि ।
शारीरिक रूपमा होस् वा मानसिक रूपमा, नियमित व्यायाम गर्दा र नगर्दा धेरै फरक पर्छ । व्यायाम नगर्दा शरीर अलि भारी हुन्छ । कामको चाप पर्दा दिनभर काम गरिरहन निकै गाह्रो हुन्छ । त्यसैले म एक घन्टादेखि डेढ घन्टासम्म पसिना मज्जाले बग्ने गरी व्यायाम गर्छु । यसरी नियमित व्यायाम गर्न थालेपछि स्फूर्ति बढेको छ । जतिसुकै कामको चाप भए पनि सहज रूपमा काम पूरा गर्छु ।
मनोरञ्जनका लागि फिल्म, संगीत
मनोरञ्जन जोकोहीका लागि आवश्यक छ । मचाहिँ मनोरञ्जनका लागि सिनेमा हेर्न जाने गरेको छु । धेरैजसो श्रीमतीसँग जान्छु । कहिलेकाहीँ साथीभाइहरूसँग पनि गइन्छ । त्यस्तै, आधुनिक तथा लोकगीत सुनेर पनि मनोरञ्जन लिने गरेको छु । साथीभाइसँग घुम्न जान पनि रमाइलो लाग्छ ।
श्रीमतीसँग कुरा गरेपछि स्ट्रेस कम
श्रीमती मेरी मिल्ने साथी पनि हुन् । बढी स्ट्रेस हुँदा उनीसँग कुरा गर्छु । स्ट्रेस कम हुन्छ । आनन्द लाग्छ । समस्या समाधानका उपायहरू दिन्छिन् । उनको सल्लाह, सुझाबले मन हल्का हुन्छ । त्यस्तै, स्ट्रेस कम गर्न संगीत पनि सुन्छु । पुराना आधुनिक गीतहरू सुन्दा मन शान्त हुन्छ । रमाइलो लाग्छ । कहिलेकाहीँ साथीभाइको सल्लाह लिन्छु ।
नियमित स्वास्थ्य जाँच
नियमित स्वास्थ्य जाँच गर्ने गरेको छु । हरेक दुई महिनामा जाँच गर्छु । नेपालीको स्वास्थ्यमा गम्भीर समस्या नआएसम्म अथवा आफूलाई एकदमै असहज नभएसम्म स्वास्थ्य जाँच गर्न जाने बानी छैन । तर, हामी आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्छ । जसले गर्दा स्वास्थ्यका कारण जीवनमा आइपर्ने गम्भीर समस्याबाट बच्न सकिन्छ । विभिन्न रोगको निराकरण गर्न सहयोग मिल्छ । त्यही सचेतनाका कारण म हरेक दुई महिनामा स्वास्थ्य जाँचका लागि गइरहन्छु ।
सुगर कन्ट्रोलमा छ
सचेत हुँदाहुँदै पनि सुगर छ । औषधि खाइरहेको छु । नियमित व्यायाम र खानाको कन्ट्रोलले गर्दा अहिले कन्ट्रोलमा छ । सचेतनाका कारण यसले गम्भीर समस्या पार्दैन भन्ने लागेको छ । स्वास्थ्य सचेतनाका कारण म शारीरिक तथा मानसिक रूपमा फिट छु ।
धनबहादुर बुढा पर्यटन राज्यमन्त्री हुन् ।
The post स्वास्थ्य सचेतनाले फिट छु : धनबहादुर बुढा appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2xXjD2T

No comments:
Post a Comment