चुरेले पुरीँदै तराइका अन्नभण्डार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

चुरेले पुरीँदै तराइका अन्नभण्डार

सरिता दाहाल/राजधानी।

चुरे (मकवानपुर) पुर्व मेचिदेखि पश्चिम महाकालीसम्म फैलिएको छ चुरे क्षेत्र । वैज्ञानिक भूउपयोग नीति अनुसार र भूगोलमैत्री ढंगले काम गर्न सकेमा बरदान बन्नसक्ने संभावना बोकेको चुरेक्षेत्र यहाभने अभिश्राप बन्दै आएको छ ।
कारण वर्षेनि २ दशमलव ७५ प्रतिशतका दरले विनाश भुक्षय भैरहेकै कारण यो क्षेत्र विकराल समस्या बन्दै आएको हो । यो क्रम नरोकिएमा वर्षेनि जंगलको विनास र भुक्षयको प्रतिशत वढदै जाने भएकाले कम्तिमा पच्चिस वर्षमा मुलुकको अन्नभण्डारको रुपमा चिनिएको तराईका जिल्लाका उर्वरा जमिनहरु बालुवामा परिणत हुने प्रक्षेपण गरिएको छ । यही प्रक्षेपणलाई आधार मानेर तराइको अन्नभण्डार जोगाउने उद्देश्यले चुरे संरक्षणका लागि चुरे राष्ट्रपति कार्यक्रम विगत केही वर्षदेखि सञ्चालन गरिएको छ ।

२०६८ सालबाट भुसंरक्षण कार्यालयले चुरे संरक्षणको काम गर्दै आएको छ । आर्थिक वर्ष २०७१÷०७२ बाट चुरे र खहरेको जोखिम न्यूनिकरण कार्यक्रम सञ्चालन गरिएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा ४ करोड ५९ लाख २०७२÷०७३ मा ४ करोड ८१ लाख २०७३÷ २०७४ मा र २०७४÷२०७५ मा करिब ७–७ करोडको काम भएको चुरे समिति मकवानपुरका प्रमुख बसन्त गौतमले जानकारी दिए ।उक्त आवहरुमाचुरे संरक्षणको कामलाई गतिदिएको गोतमको दावि छ । मकवानपुरमा वकैया गाउँपालिकको केही क्षेत्रमा संरक्षणका काम पनि भएका छन् । यहाँ ८८५ किमी लामो रहेको उक्त चुरे क्षेत्र पहाडी तथा तराइका गरी ३४ जिल्लामा फैलिएको छ । पर्वतीय श्रृखला मध्ये सबैभन्दा कान्छो र होचो पहाडको रुपमा रहेको चुरे क्षेत्रको माटो अस्थीर र भिरालो भएकाले वर्षाको पानीले नै यो क्षेत्र भुक्षय तथा पहिरोबाट ग्रसित हुने गर्दछ । मुलुकको १२ दशमलव ७ प्रतिशत भुभाग ओगटेको चुरे क्षेत्रको विनास आफैमा मात्रै सिमीत छैन । चुरेको विनाससंगै बगेर जाने र थुप्रने स्थान तराईको उर्वरा भुमि हो । यहाबाट बगेर जाने बालुवाको कारण तराईको उर्वर अन्नभण्डारमा पनि बालुवा जम्मा हुने क्रम जारी छ ।

मकवानपुरको कूल क्षेत्रफल २ लाख ४२ हजार ६ सय हेक्टर मध्ये कुल खेतीयोग्य क्षेत्रफल ४ लाख १३ हजार ३८ हेक्टर रहेकोमा हाल ३ लाख ६५ हजार ४२ हेक्टर जमिनमा खेती भईरहेको छ । मकवानपुरमा १ सय ८५ हेक्टर (शून्य दशमलव ५ प्रतिशत) खेतियोग्य जमिन बाढिको जोखिममा रहेको जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जनाएको छ । २०२१ सालदेखि २०३६ सालसम्ममा प्रतिवर्ष १८ हजार ८ सय हेक्टरका दरले जंगल र जमिन विनास हुदै गएको थियो । चुरे क्षेत्रको वनावट नै अति भिरालो एवं कमलो माटो, गेग्रिरिङ र वालुवा मिलेर वनेको छ जसले गर्दा मानविय गतिविधी विना नै जोखिममा छ । त्यसमाथि अहिले मानविय गातिविधी र सडक र अन्य पूर्वाधार विकाससँग जोडिएकाले चुरे क्षेत्रमा भू–स्खलन बढ्दो छ । चुरेको आयुसँग तराई क्षेत्रको उर्वरा जमिनको भविष्य पनि गासिएको छ त्यसैले चुरे क्षेत्रको दीगो संरक्षण, सम्वद्र्धन र विकासका कार्यहरु एकद्धार प्रणालीवाट गर्नु पर्ने विज्ञहरु बताउँछन् ।

खहरेको पिरलो बढ्नुमा चुरे दोहन नै प्रमुख कारण भएको चुरेको विषयमा विद्यावारिधी गर्नु भएका विजयसिंह दनुवारका अनुसार राजमार्ग विस्तारमा केहि मात्रामा चुरे दोहनको कारण रहेको छ भने बस्ती विकासले थप समस्या छ । “राज्यको दोहोरो नीतिका कारण यो विषयमा अन्यौलता बढेको छ,” उनले भने “राजमार्गले चुरे क्षेत्र चिराचिरा पा¥यो ।” राजमार्ग निर्माण गर्दा चुरेको भौगर्भिक अध्ययन गरेर चुरे विनास नहुने गरी गरिनुपर्नेमा डा. दनुवारको सल्लाह छ । ‘वैज्ञानिक खेती प्रणाली, भुमिको सही उपयोग तथा व्यवस्थापन गर्न नसक्दा मकवानपुर प्राकृतिक प्रकोपको रुपमा पहिरो र भुक्षयको जोखिममा रहेको उनले बुझाइ छ ।
भुक्षय र पहिरोको जोखिमको हिसाबले मकवानपुर देशमै सोलुखुम्बुपछि दोस्रो नम्वरमा पर्छ । भौगर्भिक सूचना प्रणाली अध्ययनपछि मकवानपुरले उच्च सतर्कता अपनाउनुपर्ने जिल्ला भुसंरक्षण कार्यालय मकवानपुरले जनाएको छ । भौगर्भिक सुचना प्रणालीवाट अध्ययनपश्चात मकवानपुरमा एक हेक्टर क्षेत्रफल भन्दा सानो पहिरोको संख्या ७ सय ५१ रहेका छन भने एकदेखि २ हेक्टर भित्रका पहिरो एक सय ५६ वटा, दुईदेखि तीन हेक्टर सम्म क्षेत्रफल भएको पहिरोको संख्या ६१ वटा रहेको छ ।


तीन हेक्टरदेखि दश हेक्टरसम्म क्षेत्रफल ओगटेको पहिरो ८५ वटा रहेको भू–संरक्षण कार्यालय प्रमुख राजु दाहालले जानकारी दिए । उनका अनुसार ५ हेक्टरभन्दा माथि क्षेत्रफल भएका ४८ वटा पहिरो संवेदनशिल रहेको छन् । संवदेनशिल पहिरो मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने कैलाश गाउँपालिका साविकको नामटार गाविसमामात्र १३ वटा छन । २०७२ को विनाशकारी भुकम्पपछि बस्ति स्थानान्तरण भनेर प्रमाणिक भएको नामटारको जमिन चिराचिरा परेको छ ।
चुरेबाट बग्ने खहरेको नियन्त्रणका लागि पहल भईरहेको जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय हेटौंडाका प्रमुख मनोहर रिजालले बताए । नदि, खोला, खहरेको क्षेत्रमा काम गर्नुपर्ने भएकोले खहरे कम प्राथमिकतामा परेको कार्यलयले जनाएको छ । कार्यालय प्रमुख रिजालका अनुसार अहिले मकवानपुरमा रहेका राप्ती खोला र कर्रा खोलमा काम भैरहेको छ त्यपछि खहरेहरुको काम सुरु हुने छ ।खहरे नियन्त्रणका लागि ५० भन्दा बढि निबेदन परेको रिजालले जानकारी दिए । खहरे नियन्त्रणका लागि सानोतिनो बजेटले नभ्याउने उनको भनाई छ । ‘खहरे नियन्त्रणका लागि जहँ क्षति हुन्छ, त्यहाँ मात्र गरेर हुँदैन यसको मुहानसम्म नै पुग्नुपर्छ, त्यसैले यसको लागि करोडौं खर्च हुन्छ, एउटा खहरेको लागि करोडौं खर्च गर्ने बजेट आउन मुश्किल छ’–डिभिजन प्रमुख रिजालले भने ।वर्षेनी दोहोरिने खहरे समस्याबारे अवगत गराउँदै नियन्त्रणका लागि प्रदेश सरकारसंग पनि बजेट माग गरिएको उनले बताए ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2MSBk9e

No comments:

Post a Comment

Post Bottom Ad

Pages