राजधानी समाचारदाता/काठमाडौं।
राजधानीको भृकुटीमण्डपमा ६ दिन सञ्चालित सवारीसाधनको कुम्भ मेला ‘नाडा आटो सो–२०१८’ मा ६५ हजार जनाले अवलोकन गरेका छन् । गत मंगलबारदेखि सञ्चालित नाडा अटो सो आइतबार सम्पन्न भएको हो ।
मेला समापन भएको छैटौं दिन आइतबारसम्म कुल ६५ हजारले अवलोकन गरेको मेला आयोजक संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका सचिव एवं नाडा आटो सो–२०१८ का प्रचारप्रसार समिति सभापति अनुप बरालले यस मेलामा कुल ६५ हजार अवलोकनकर्ता सहभागी भएको जानकारी दिए । उनले मेला सुरु भएको पाँचौं दिन शनिबार सबैभन्दा धेरै अवलोकनकर्ता सहभागी भएको बताए ।
‘नाडा आटो सो–२०१८’का संयोजक निराकार श्रेष्ठले यसवर्षको मेला विगत वर्षको तुलनामा निकै प्रभावकारी भएको बताए । अहिले बुकिङ संख्या र रकम भने सार्वजनिक नगरेको भन्दै उनले यो वर्ष नाडाले अटो सो लाई ब्रान्डिङमा मात्रै केन्द्रित गर्ने नीति अवलम्बन गरेको बताए ।
अहिले आयोजक संस्था नाडाले बुकिङ संख्या र कारोबार रकम सार्वजानिक नगरे पनि आफ्नो प्रयोजनका लागि संकलन भने गरेको थियो । नाडाका एक पदाधिकारीका अनुसार यस मेलामा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो कारोबार आयोजकको लक्ष्यअनुसार नै हो । ६ दिने मेला अवधिभर चारपांग्रे र दुईपांग्रे मोटरसाइकल बुकिङ अपेक्षाकृत रूपमा भएका छन् ।
नाडाका सचिव एवं नाडा आटो सो–२०१८ का प्रचारप्रसार समिति सभापति बरालले यस मेलाको अवसरमा विभिन्न सवारी विक्रेता कम्पनीले दिएको भारी छुट एवं उपहारै उपहारको बहारका कारण पनि अहिले यहाँ अवलोकनकर्ताहरूको अत्यधिक भीड लागेको हुन सक्ने बताए ।
सवारी पारखीहरूका लागि सञ्चालित यस नाडा अटो सोमा चारपांग्रे मात्र होइन, दुईपांग्रे सवारी खरिदमा पनि विभिन्न कम्पनीहरूले उस्तै अफर दिएका थियो । मोटरसाइकल र स्कुटरका नयाँ मोडल हेर्न चाहनेका लागि मात्र नभएर खरिद गर्न चाहनेका लागि पनि मेला एकदमै फलदायी हुने नाडाको दाबी छ । उनले यस मेला अपेक्षा गरिएको भन्दा पनि निकै राम्रोसित सफल भएको बताए । सवारी पारखीका लागि हरेक वर्ष दसैंअघि नाडा अटो सो हुँदै आएको छ । गत वर्षको मेलामा साढे ३ अर्ब रुपैयाँबराबरको आर्थिक कारोबार भएको थियो भने ६२ हजारले मेला अवलोकन गरेका थिए ।
यसवर्ष मेलामा करिब ६० हजार अवलोकनकर्ता आउने अनुमान गएको थियो । यस मेलामा बैंक वित्तीय संस्था, बिमा कम्पनीको र ठूला हेभी इकुपमेन्टको स्टल नभए पनि कुल ६५ हजार अवलोकनकर्ताले मेला भर्नु निकै उपलब्धिमूलक भएको बरालको दाबी छ । हिन्दूहरूको महान चाड बडा दसैंको मुखैमा सञ्चालन भएको यस मेलामा विभिन्न कम्पनीका सवारीसाधन विक्रेताहरूले सवारी पारखीलाई लोभ्याउन अहिले विभिन्न उपहार एवं छुटैछुटको बहार नै ल्याएका छन । जसले गर्दा पनि यस मेलामा अवलोकनकर्ताको भीड लाग्ने गरेको नाडाले जनाएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) एवं ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा यो मेला सञ्चालन भएको हो ।
from Rajdhani Daily https://ift.tt/2Ng0pQm
No comments:
Post a Comment