जिल्लामा असुरक्षित गर्भपतन शून्यमा झार्ने अभियान सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्य संस्थासँगको सहकार्यमा ‘शून्य असुरक्षित गर्भपतन’ अभियान सञ्चालन गरेको हो । विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा विस्तारसँगै दुई वर्षभित्र असुरक्षित गर्भपतन शून्यमा झार्ने अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका डा. कृष्णचन्द्र महतले बताए ।
‘जिल्लास्थित जिम्मेवार सरोकारवाला, महिला अधिकारकर्मी, जनप्रतिनिधि र राजनीतिक दलसमेतको प्रतिबद्धतापछि अभियान सञ्चालन गरेका हौँ,’ डा. महतले भने । ०७७ सालसम्ममा असुरक्षित गर्भपतनलाई शून्यमा पुर्याउने लक्ष्य अभियानको छ । सरकारले निःशुल्क रूपमा गर्भपतन गर्न पाउने सुविधासहितको प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गरेपछि महिलाहरूले
अझै असुरक्षित गर्भपतन गराइरहेका छन् ।
जसका कारण जिल्लामा असुरक्षित गर्भपतनको दर उच्च छ । अझै पनि गर्भजाँच नगरी जथाभावी औषधि सेवन गरी गर्भपतन गर्ने महिलाको संख्या उच्च रहेको डा. महतले बताए । हाल तेह्रथुममा जिल्ला अस्पतालसहित १४ वटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा सञ्चालन गरेका छन् ।
३ सय २१ ले लिए सुरक्षित गर्भपतन सेवा
चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा जिल्लामा ३ सय २१ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । आइपास नेपालको सहयोगमा सुरक्षित गर्भपतन सेवा सुरु भएपछि जिल्लाका ३ सय २१ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका संयोजक केदार भण्डारीले बताए ।
हाल जिल्ला अस्पतालसहित संक्रान्तिबजार र वसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्र, चुहानडाँडा, इवा, सम्दु, पोक्लाबाङ, ओयाक्जुङ, मोराहाङ, आङबुङ, सोल्मा, हमरजुङ, ओख्रे र फाक्चामारा स्वास्थ्यचौकीबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ ।
नेपालमा कानुनी रूपमा १२ हप्तासम्मको अनिच्छित गर्भपतन गर्न पाइन्छ । अशक्त, अपांग वा बच्चा जन्माउने कारणले आमालाई खतरा हुने भएमा, जबर्जस्ती करणी वा अन्य कारणबाट गर्भधारण भएको खण्डमा २८ हप्तासम्मको गर्भसमेत पतन गर्न पाइने व्यवस्था छ ।
The post सुरक्षित गर्भपतन अभियान सञ्चालन appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2DP3nqy
No comments:
Post a Comment