हराएकाे मानिस – १२
पछिल्लो ११ भागमा यहाँहरूले पढ्नुभयो :
काठमाडौंका प्रमुख पत्रिकाहरूमा एकै दिन एकै युवकको फोटोसहित छापिएका ‘मानिस हराएको सूचना’ले ठूलै तरंग ल्याउँछ । किनभने चार फरक नाम र थर भएका मानिसले उससँग आफ्नो चार फरक नाता देखाएर विज्ञापन छपाएका हुन्छन् ।
सर्वेश्वरराज कोइरालाको छोरा, कामिनी विष्टको श्रीमान्, रामकृष्ण महर्जनको भतिजा र विमलसिंह परियारको भाइ भनिएको त्यस हराएको युवकलाई कुनै दुर्गममा एउटा भरियाले खोलामा अचेत अवस्थामा फेला पार्छ । संयोगवश आइपुगेको एउटा हेलिकोप्टरले उसको उद्धार गरेर काठमाडौं ल्याइदिएपछि अस्पतालमा पुर्याइएको त्यस युवकमाथि दाबी गर्न चारैजना आइपुग्छन् । इन्स्पेक्टर विनोद खड्का यो रहस्यको गुत्थी सुल्झाउन चारैजनाको बयान लिन थाल्छ ।
पहिलो पालो सर्वेश्वरराज कोइरालाको हुन्छ । ऊ आफ्नो कथा बताउन थाल्छ । त्यसअनुसार ऊ लातभियाको सफल उद्यमी हुन्छ । आफ्नो छोरा लागुऔषधको कुलतमा परिसकेको थाहा पाएर एक दिन ऊ आफ्नो छोरा राजेशलाई घरमा कुरिरहेका वेला उसको कार दुर्घटनामा परेको खबर आउँछ । ऊ अस्पताल पुग्छ । प्रहरीले बताउँछ, लागुपदार्थको नशामा चूर भएर राजेशले चलाएको कारमा सँगै भएकी युवतीको मृत्यु भएको हुन्छ ।
०००
‘त्यो केटीको बाबुआमासँग डिल गर । रकमको कुनै सुर्ता नगरे हुन्छ । ह्वाटएभर दे वान्ट ।’ ‘तपाईंलाई थाहा छैन, दुर्घटनामा मरेकी लोनिजा कसकी छोरी थिई ।’ सर्वेश्वरले आँखा चिम्सा पारेर सतर्क भएर उसलाई हेर्यो । ‘दिमित्रिस इभानोभिक ।’
यसपटक आफूलाई नियन्त्रणमा राख्ने सर्वेश्वरको कुनै पनि प्रयासले काम गरेन । दिमित्रिस इभानोभिक भन्ने नाम सुन्नासाथ उसको अघि सबैथोक निष्पट्ट कालोमा परिणत भयो र ऊ आफू बसेको बेन्चीमै लल्याकलुलुक परेर रित्तो बोरा फैलिएजसरी पसारियो ।
०००
लातभियामा दिमित्रिस इभानोभिकको नाम नसुन्ने कुनै मानिस पनि थिएन । उत्तरी युरोपका लगभग हरेक मानिसले उसको नाम सुनेका थिए । तर, उसलाई देख्ने मानिस निकै कम थिए । प्रहरीले निकै लामो समयदेखि उसको खोजी गरिरहेको थियो । केही मानिस भन्थे, प्रहरीले उसलाई छुन सक्दैन । ऊ चाहेका वेला चाहेको स्थानमा कुनै पनि रूपमा प्रकट हुन सक्थ्यो र त्यसैगरी गायब हुन सक्थ्यो । उसका बहुरूपबारे कसैलाई थाहा पनि थिएन ।
विश्वका थुप्रै देशका पासपोर्ट र नाम भएको मानिने दिमित्रिस इभानोभिक लागुऔषध व्यापार र हातहतियारको सबैभन्दा ठूलो डिलरको रूपमा कुख्यात थियो । आफ्नी एक्ली छोरी लोनिजाप्रति दिमित्रिस हदभन्दा बढी आसक्त थियो । उसको सुरक्षाका लागि हुनसक्नेजति बन्दोबस्त गरेको थियो । लोनिजा सधैँ चारजना अंगरक्षकहरूको सुरक्षामा हुन्थी ।
दिमित्रिस इभानोभिक आफ्नी एकलौटी छोरीको मृत्युको खबर सुनेर बहुलाएको थियो । उसका सामु लोनिजाको सुरक्षाका लागि खटाइएका चारजना उभिएका थिए । दिमत्रिस खाउँलाजसरी उनीहरूलाई हेरिरहेको थियो । निकै बेरमा एउटाले घुटुक्क थुक निल्यो र भकभकाउँदै भन्यो, ‘यस्तो…प..प..पहिले कहिले पनि भएको थिएन ।
बेबीले कहिल्यै हामीलाई छल्ने प्रयास गर्नुभएको थिएन । त्यसैले हामीलाई केही शंकै भएन । हिजो पनि उहाँ नर्मल नै हुनुहुन्थ्यो । तर, कुनवेला बाथरुमको पछाडिको झ्यालबाट निस्केर गाडी नलिई उहाँ कहाँ जानुभयो भन्ने हामीलाई थाहा पनि भएन सर ।’
दिमित्रिसले केही पनि भनेन । आग्नेय नेत्रले नै उनीहरूलाई हेरिरह्यो । यसै पनि कुन वेला बाहिर निस्केर खस्लान् जस्ता उसका भ्यागुते आँखा, त्यतिवेला अझै बाहिर निस्कन खोजेजस्ता देखिएका थिए । नचाहँदा–नचाहँदै पनि ती चारमध्ये एकलाई आफ्नो पिसाब चुहिन थालेको थाहा भइसकेको थियो । दिमित्रिसले केही नबोली आँखाले नै उनीहरूलाई बाहिर जान इसारा गर्यो ।
उनीहरू एक सेकेन्डको विलम्ब नगरी निस्किए । तर, उनीहरूलाई त्यतिवेला थाहा थिएन, अबको केही घन्टाभित्रै उनीहरूको शरीर बाल्टिक सागरको पानीमुनि हुनेछ, हात र खुट्टा बाँधिएका हुनेछन् अनि कम्मरमा बाँधिएको हुनेछ फलामको गहु्रँगो टुक्रा । बाल्टिकको नुनिलो पानी उनीहरूको नाक र मुखबाट ह्वालह्वाल गर्दै भित्र छिरेर फोक्सोमा पुग्दा हुने पीडाबाट उनीहरू त्यतिवेलासम्म अनभिज्ञ थिए ।
०००
सर्वेश्वर कोइरालाले आफूलाई निकै यत्नका साथ नियन्त्रण गर्यो । अब समस्याको समाधान कसरी गर्ने भन्ने कुरामा उसको ध्यान केन्द्रित हुन थाल्यो । दिमित्रिस इभानोभिकलाई कसैले चाहेर पनि भेट्न सक्दैनथ्यो । उसले चाह्यो भने मात्र त्यो सम्भव थियो । तर, सर्वेश्वरलाई विश्वास थियो, दिमित्रिसले अवश्य पनि उससँग सम्पर्क गर्नेछ ।
त्यो वेला के गर्न सकिन्छ भन्ने मात्र उसको दिमागमा खेलिरहेको थियो । शक्ति, साधन, वैभव र अरू कुनै पनि कुरामा दिमित्रिसलाई मात दिन ऊ सक्दैनथ्यो । प्रहरी वा प्रशासनले पनि यो कुरामा उसलाई कुनै सहयोग गर्न सक्दैनथ्यो । त्यो खुंखार अपराधीकी एक्ली छोरी मारिएकी थिई । कुनै न कुनै रूपमा राजेश त्यसको जिम्मेवार थियो । इल्मार्स र योहान्स पनि मौन थिए । उनीहरूले पनि दिन सक्ने कुनै सल्लाह वा सुझाब थिएन ।
त्यही अन्योलमा तीन–चार घन्टा सर्वेश्वर अस्पतालको बेन्चीमै बसिरह्यो । बाहिर बिहान हुने वेला भइसकेको थियो । तर, सर्वेश्वरको जीवनमा चाहिँ चुक घोप्ट्याएको औँसीजस्तो रात परिरहेको थियो । यस्तो रात, जसको बिहान कुन वेला हुने हो अथवा हुने हो कि नहुने हो भन्ने पनि उसलाई थाहा थिएन । त्यही वेला अस्पतालको एकजना कर्मचारी उनीहरू भएको ठाउँमा आयोे र भन्यो, ‘तपाईंलाई डाक्टर लुकाले आफ्नो च्याम्बरमा बोलाउनुभएको छ मिस्टर कोइराला ।’
सर्वेश्वर जुरुक्क उठ्यो र अघि बढ्यो । तनाव र लामो समय निश्चल भएर त्यसरी उठेको कारणले होला, उसलाई फेरि भनन्न रिंगटा लाग्यो । इल्मार्सले अघि बढेर नथामेको भए त ऊ फेदमा आरी चलाएको रुखजसरी गर्लम्म ढल्थ्यो होला । केही बेरमै उसले आफूलाई नियन्त्रण गर्यो र इल्मार्सलाई कृतज्ञ आँखाले हेर्दै भन्यो, ‘धन्यवाद इल्मार्स । म अब ठीक छु ।’
सर्वेश्वर जुरुक्क उठ्यो र अघि बढ्यो । तनाव र लामो समय निश्चल भएर त्यसरी उठेको कारणले होला, उसलाई फेरि भनन्न रिँगटा लाग्यो । इल्मार्सले अघि बढेर नथामेको भए त ऊ फेदमा आरी चलाएको रुखजसरी गल्र्याम्म ढल्थ्यो होला । केहीबेरमै उसले आफूलाई नियन्त्रण गर्यो र इल्मार्सलाई कृतज्ञ आँखाले हेर्दै भन्यो, ‘धन्यवाद इल्मार्स । म अब ठीक छु ।’
ऊ अस्पताल कर्मचारीको पछिपछि लाग्यो । इल्मार्स उसको पछि लाग्यो । योहान्स केही सोच्दै त्यहीँ बसिरह्यो । लामो बरन्डाको पल्लो छेउमा गएर उनीहरू लिफ्टको ढोका अघि रोकिए । लिफ्ट खुलै थियो । पहिले अस्पताल कर्मचारी र सर्वेश्वर भित्र छिरे । इल्मार्सले एउटा खुट्टा भित्र हुलिसकेको देखेर कर्मचारीले उसलाई रोक्दै भन्यो, ‘सरी.. उहाँलाई मात्र लिएर आउनू भन्ने आदेश छ ।’ इल्मार्सले प्रतिवाद गर्न खोज्यो, ‘तर…।’
सर्वेश्वरले उसको कुरा काट्दै भन्यो, ‘ठीकै छ । तिमी यहीँ बस इल्मार्स ।’ आफ्नो बोसलाई यस्तो अवस्थामा एक्लै छोड्न इल्मार्सलाई पटक्कै मन थिएन । उसले अमिलो अनुहार लगाएर आदेश पालन गर्यो । लिफ्ट विनाआवाज बन्द भयो । इल्मार्सले लिफ्ट दसौँ तलामा पुगेकोसम्म हेरिरह्यो ।
०००
दसौँ तलामा लिफ्ट सीधै डाक्टर लुकाको च्याम्बरमा खुल्थ्यो । कर्मचारी लिफ्टभित्रै बस्यो र उसले हातले ससम्मान सर्वेश्वरलाई निस्कन इसारा गर्यो । बाहिर बसेकी एक युवतीले पुलुक्क उनीहरूलाई हेरी । उसले मधुरो स्वरमा सोधी, ‘मिस्टर कोइराला ?’
सर्वेश्वरले हल्कासँग टाउको हल्लायो–सहमतिस्वरूप । युवती मुसुक्क हाँसी । उसका दाँतहरू असाध्यै सफा र टम्म मिलेका थिए । उसले भनी, ‘कृपया भित्र जानुहोला । डाक्टर लुका र उहाँका सहयोगी तपाईंकै प्रतीक्षामा हुनुहुन्छ ।’
सर्वेश्वर उसले इसारा गरेको ढोकातिर बढ्यो । एकपटक लामो सास फेरेर आफूलाई नियन्त्रित गर्दै ऊ भित्र पस्यो । त्यो कोठाको सजावट राम्रो थियो । एउटा गतिलो अस्पतालको ठूलो डाक्टरको कोठामा हुनुपर्ने सबै कुरा त्यहाँ थिए । ऊ भित्र पस्दा डाक्टर लुका र उसको सहायक भित्तामा राखिएको उज्यालो बोर्डमा कसैको टाउकाको एमआरआई टाँसेर अध्ययन गर्दै थिए ।
सर्वेश्वरको छोरा राजेशको टाउकाको एमआरआई । सर्वेश्वर छिरेको थाहा पाएर दुवैले फर्केर हेरे । सर्वेश्वरले दुवैलाई अभिवादन ग¥यो । सहायकले अभिवादन फर्कायो । डाक्टर लुका केही प्रतिक्रिया नजनाई खुरुक्क आफ्नो कुर्सीमा बस्यो । उसको अगाडिको दुईवटा कुर्सीमध्ये एकमा सर्वेश्वरलाई इसारा गर्दै सहायकले भन्यो, ‘बस्नुस् मिस्टर कोइराला ।’
सर्वेश्वर बसेपछि ऊ पनि सँगै बस्यो र उसले प्रश्नवाचक आँखाले डाक्टर लुकालाई हेर्यो । डाक्टर लुका केही नबोलेपछि उसले मुखै फोरेर सोध्यो, ‘कस्तो छ मेरो छोराको अवस्था ?’
डाक्टर लुकाले आँखाले सहायकलाई बोल्न इसारा गर्यो । सहायकले घाँटी खकार्दै भन्यो, ‘तपाईंको छोराको अवस्थाबारे त थाहा पाइसक्नुभयो होला । हो, दुर्घटना निकै नै डरलाग्दो थियो । उसका करङ भाँचिएका छन् । एउटा चुच्चोले उसको फोक्सोमा छेडेको छ ।
आन्तरिक रक्तस्राव पनि निकै भएको छ । दाहिने हात तीन ठाउँमा भाँचिएको छ । कुहिनाको जोडमा हुने डल्लो पनि धुलोपिठो भएको छ । खुट्टामा कुनै फ्याक्चर छैन । तर, टाउकोमा लागेको गम्भीर चोटका कारण मगजको एउटा भाग सुन्निएको छ । हामीले केही समयअघि अप्रेसन गरेर आन्तरिक रक्तस्राव त रोकिदिएका छौँ । तर, उसको मगजको चोटबारे अहिले केही भन्न सकिन्न ।’ राजेशको अवस्थाबारे सुनेरै मात्र पनि सर्वेश्वरको आङ जिरिंग भयो । उसले डराइडराई सोध्यो, ‘मेरो छोरा… बाँच्न त बाँच्छ नि ?’
यसपटक डाक्टर लुका पहिलोपटक बोल्यो, ‘चिन्ता नगर्नुस् सर्वेश्वरराज कोइराला । उसको अवस्था जस्तोसुकै भए पनि उसलाई म मर्न दिन्नँ । तपाईंको छोरालाई म जसरी भए पनि बचाउँछु ।’ त्यति ठूलो डाक्टरले यसो भन्दा कुनै पनि मानिसले निश्चिन्तताको सास फेर्नुपर्ने हो । तर, किन हो किन सर्वेश्वरलाई झनै चिसो भएर आयो । किनभने एक त डाक्टर लुकाले विनाकुनै सम्बोधन सीधै उसको पूरा नाम मात्र लिएको कस्तो–कस्तो सुनिएको थियो । उसलाई त्यस्तो सम्बोधन सुन्ने बानी नै थिएन ।
अर्को कुरा डाक्टर लुकाको बोलीमा आश्वासनको एक अंश पनि भाव नै थिएन भन्ने उसलाई अनुभूति भयो । के त्यो उसको बिथोलिएको मनस्थितिका कारण भएको थियो ? उसले डाक्टर लुकालाई ध्यान दिएर हे¥यो । डाक्टरको अनुहारमा हुनुपर्ने कोमलता पनि उसको अनुहारमा थिएन भन्ने सर्वेश्वरलाई लाग्यो । तैपनि त्यसलाई आफ्नो मनको भ्रम ठानेर उसले भन्यो, ‘धन्यवाद डाक्टर लुका । म तपाईंको यो गुन कहिल्यै पनि बिर्सनेछैन । तपाईंको मुखमा भगवान्को वास होस् ।’
डाक्टर लुका मुसुक्क हाँस्यो । तर, उसको ओठ मात्रै तन्किएको थियो । उसका आँखासम्म त्यो मुस्कान पुग्न सकेको थिएन । आँखा नहाँसी तन्किएका ओठहरू बडा डरलाग्दा देखिन्छन् । डाक्टर लुकाले भन्यो, ‘म किन तपाईंको छोरालाई मर्न दिन्नँ थाहा छ, सर्वेश्वरराज कोइराला ?’ सर्वेश्वरले उसको व्यवहार बुझ्नै सकिरहेको थिएन । उसले सोध्यो, ‘किन डाक्टर लुका ?’
डाक्टर लुकाले बम फोड्यो, ‘तपाईं मलाई गलत नामले सम्बोधन गर्दै हुनुहुन्छ । डाक्टर लुका त तपाईंको छेउमा बस्नुभएको छ ।’ अनि आफ्ना बल्ड्यांग्रे र हेर्दै बाहिर निस्केर भुइँमा झर्लान् जस्ता आँखाहरूले सर्वेश्वरलाई खाउँला जसरी हेर्दै भन्यो, ‘मलाई… दिमित्रिस भन्छन् ।’ सिकार गर्ने वेला हाँसेको हुँडारको जस्तै मुस्कानसहित उसले वाक्य अन्त्य गर्यो, ‘इभानोभिक । दिमित्रिस इभानोभिक ।’
The post डाक्टर लुका appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2zDCaTU


No comments:
Post a Comment