संसदीय समितिमा महिला वर्चस्व, १० विषयगत समितिका ६ मा सभापति - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

संसदीय समितिमा महिला वर्चस्व, १० विषयगत समितिका ६ मा सभापति

सविन शर्मा/काठमाडौं।

प्रतिनिधिसभाका १० विषयगत समितिमा ६ महिला सभापति निर्विरोध निर्वाचित भएका छन् । सबै समिति सभापति पदका लागि एकल उम्मेदवारी परेको थियो । बिहीबार समितिहरूमा एकल उम्मेदवारी दर्ता भयो । प्रतिनिधिसभामा जेनतेन ३३ प्रतिशत महिला सहभागिता भए पनि मिनी संसद् मानिने संसदीय समितिमा भने बहुमत महिला नेतृत्वमा आएका हुन् ।
निर्विरोध भए पनि शुक्रबार निर्वाचन प्रक्रियामार्फत १० वटै समितिका सभापतिको औपचारिक घोषणा हुनेछ । प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये आठवटा समितिमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को उम्मेदवारी परेको छ भने नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबाट एक–एकवटा समितिको सभापति हुने भएका छन् । सरकारको सहयात्रीे संघीय समाजवादीले उद्योग, वाणिज्य तथा श्रम समितिको सभापति पाएको छ । सो समितिको सभापतिमा विमल श्रीवास्तवको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै, लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतकुमार साह निर्विरोध भएका छन् ।


प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको सभापतिमा शशी श्रेष्ठ उम्मेदवार छिन् । रेखा शर्माको प्रस्तावमा सांसद कृष्ण गोपाल श्रेष्ठले उनलाई सभापति बनाउन प्रस्ताव गरे । सभापति बनाउनकै लागि उनलाई कानुन, न्याय तथा मानवअधिकार समितिबाट राज्य व्यवस्था समितिमा ल्याइएको हो । यसैगरी, महिला तथा सामाजिक समितिको सभापतिमा सांसद निरु पाललाई पार्वत गुरुङको समर्थनमा सांसद गंगा चौधरी (सत्गौवा) ले सभापति बनाउन प्रस्ताव गरेकी हुन् ।
यस्तै, शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा जयपुरी घर्तीको मात्रै उम्मेदवारी परेको छ । सांसद अञ्जना विशंखेको समर्थनमा सांसद योगेश भट्टराईले उनलाई सभापति बनाइयोस् भनी प्रस्ताव गरेका छन् । घर्तीलाई पनि उद्योग वाणिज्य तथा श्रम समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा सभापति बनाउनका लागि नै सारिएको थियो । पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति बन्ने निश्चित भएको छ । सांसद घनश्याम खतिवडाको समर्थनमा सांसद शान्ता चौधरीले उनलाई सभापति बनाउने प्रस्ताव गरेका छन् ।

त्यस्तै, पवित्रा निरौला (खरेल) अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति बन्ने भएकी छन् । सांसद नारदमुनी रानाको समर्थनमा सांसद सानु शिवाको प्रस्तावमा उनलाई सभापति बनाउने प्रस्ताव गरिएको छ । सांसद कल्याणीकुमारी खड्का विकास तथा प्रविधि समितिको सभापति बन्ने भएकी छन् । सांसद इन्दुकुमारी शर्माको समर्थनमा सांसद गणेशबहादुर पहाडीले उनलाई सभापति बनाइयोस् भनी प्रस्ताव दर्ता गराएका हुन् ।

ने क पाबाट पुरुषतर्फ कृष्णप्रसाद दाहाल अर्थ समिति सभापति बन्ने निश्चित भएको छ । हरिराम अधिकारीको समर्थनमा सांसद विष्णुप्रसाद पौडेलले उनको नाम प्रस्ताव गरेका छन् । यस्तै, कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिका लागि सांसद कृष्णभक्त पोखरेलको मात्रै नाम प्रस्ताव भएको छ । उनलाई समिति सभापति बनाइयोस् भनी सांसद देवप्रसाद गुरुङको समर्थनमा पूर्वसभामुख एवं सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका हुन् ।
उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिको नेतृत्व संघीय समाजवादी फोरमका विमल श्रीवास्तवले पाएका छन् । सांसद गोपालबहादुर बमको प्रस्तावमा सांसद बिन्दा पाण्डेले उनको नाम सभापतिका लागि सिफारिस गरेकी हुन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भरतकुमार शाह सार्वजनिक लेखा समितिको सभापति बन्ने भएका छन् । सांसद मीना सुब्बाको समर्थनमा सांसद राजेन्द्रकुमार केसीले उनलाई सभापति बनाइयोस् भनी प्रस्ताव गरेका हुन् । समितिका सभापतिले राज्यमन्त्रीसरह गाडी, सचिवालय र सुरक्षाको सुविधा पाउनेछन् ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2poMjh4

No comments:

Post a Comment

Post Bottom Ad

Pages