५४/४६ को शक्तिसन्तुलन, पूर्वएमालेबाट ६, माओवादीबाट १ इन्चार्ज, अध्यक्षमा ३/४
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले पार्टी एकीकरण भएको चार महिनापछि प्रदेश संगठन कमिटीको नेतृत्व टुंग्याएको छ । शुक्रबारको केन्द्रीय सचिवालय बैठकले प्रदेश संगठन कमिटीको नेतृत्व टुंग्याएको हो । नेकपाले तल्ला कमिटी र जनसंगठन एकीकरणसम्बन्धी मापदण्ड परिमार्जनपछि एकीकरण टुंगो लगाउने भनिए पनि त्यसलाई थाती राखेरै निर्णय गरेको छ । बैठकपछि केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले सातवटै प्रदेश कमिटीको नेतृत्व टुंगो लागेको जानकारी गराए ।
तल्ला कमिटी र जनसंगठनमा समायोजन ढिलाइ हुँदा जिम्मेवारी नपाएको भन्दै नेता–कार्यकर्ताले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेपछि सचिवालयले हतार–हतारमा प्रदेशको नेतृत्व टुंगो लगाएको हो । सचिवालयले टुंग्याएको नेतृत्व र सदस्यहरूको नामावली स्थायी समिति बैठकले पास गरेपछि औपचारिक रूपमा नेकपाको प्रदेश कमिटी गठन हुनेछ । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली शनिबार अमेरिका जाने र एक हप्तापछि मात्रै फर्किने भएकाले स्थायी समितिको बैठकको मिति तोकिएको छैन । नेकपामा अझै जिल्ला र त्यसमातहतका स्थानीय कमिटी तथा जनसंगठनको एकता टुंगो लगाउन बाँकी छ ।
नेतृत्वमा ५४ र ४६ प्रतिशतको शक्ति सन्तुलन
प्रदेश कमिटीको नेतृत्वमा पूर्वएमालेबाट १५ जना र माओवादीबाट १३ जना नेतालाई जिम्मेवारी दिइएको छ । यसलाई आधार मान्दा प्रदेशको समग्र नेतृत्वमा पूर्वएमाले र माओवादीको ५४÷४६ प्रतिशत शक्ति सन्तुलनको प्रतिनिधित्व देखिएको छ ।
नेपाल, बादल र श्रेष्ठ समूह असन्तुष्ट
सचिवालयबाट परिमार्जित मापदण्डका आधारमा तल्ला कमिटीको नेतृत्व टुंग्याउनुपर्ने नेता नेपाल, झलनाथ खनाल, बादल र नारायणकाजी श्रेष्ठले अडान राख्दै आएका थिए । तर, अहिले नेपाल र श्रेष्ठ विदेश भ्रमणमा रहेकै वेला विनामापदण्ड प्रदेशको नेतृत्व टुंग्याइएको भन्दै ती निकट नेताहरूमा असन्तुष्टि छाएको छ । दुवै पार्टीको साबिकको कमिटीमा वरिष्ठतामा अगाडि रहेकालाई नेतृत्वमा प्राथमिकता दिनुपर्ने अडा उनीहरूले अघिल्लो सचिवालय बैठकमा राखेका थिए ।
प्रदेश १ मा अध्यक्ष तथा गण्डकी र ५ मा मुख्यमन्त्रीलाई नै इन्चार्जको जिम्मेवारी तोकिएकामा नेपालसहित तीन नेता असन्तुष्ट बनेका हुन् । सरकारको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेकालाई नै पार्टीमा पनि कार्यकारी जिम्मेवारी दिनु न्यायोचित नभएको तथा जिम्मेवार नेताहरू नै अवसरबाट वञ्चित भएको उनीहरूको तर्क छ ।
नेपाल र श्रेष्ठ विदेश भ्रमणमा रहेकाले बैठकमै अनुपस्थित रहे पनि खनाल र बादलले भने अध्यक्ष ओलीको प्रस्तावको ठाडै विरोध भने गरेनन् । यद्यपि, प्रदेश १ मा पूर्वएमालेमा वरिष्ठतामा अगाडि रहेका अध्यक्षका प्रवल दाबेदार नेता जगन्नाथ खतिवडाले निर्णयलाई ‘पजनी’को संज्ञा दिएका छन् । उनले नेतृत्वको सिन्डिकेटले पार्टीमा बिस्फोटक स्थिति उत्पन्न हुन सक्ने भन्दै सामाजिक सञ्जालमार्फत गम्भीर चेतावनी दिएका छन् ।
‘कुनै उचित आधार तथा मूल्यांकनको प्रणाली कमिटीगत निर्णयबाट स्वीकृत नै नगरी अनिवार्य निर्णय गर्नुपर्ने स्थायी कमिटीलाई अवमूल्यन गरेको देखिने गरी मनोमानी पजनी गरेको प्रस्ट देखिने गरी यस्तो निर्णय भएको हो भने पार्टीको आन्तरिक जीवन प्रणालीको लागि यो सकारात्मक संकेत होइन,’ वरिष्ठ नेता नेपालनिकट नेता खतिवडाले लेखेका छन्, ‘यसैगरी आजको निर्णय तरिका हेर्दा जिल्लाहरूमा पनि मनोमानीपूर्ण रूपमा एकीकरण गर्ने तयारी भैरहेको पूरै अनुमान गर्न सकिन्छ । पार्टीको आन्तरिक प्रतिस्पर्धामा पक्ष विपक्षमा भएका कारणले पूर्वाग्रहवश किनारा लाउने प्रवृत्ति जीवित राख्न प्रयास गरेकै हो भने परिस्थिति बिस्फोटक बन्न सक्छ । संक्रमणकालीन व्यवस्थाहरूका नाममा जे पायो त्यही नगर्न र सिन्डिकेट नचलाउन नेतृत्वको ध्यानाकर्षण गर्न चाहन्छु ।’
उता, कर्णाली प्रदेशका लागि सचिवमा प्रस्तावित बादलनिकट मायाप्रसाद शर्माले आफू उक्त पदमा नरहने सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेका छन् । घोषणालगत्तै सम्पर्कविहीन बनेका शर्माले आफूभन्दा निष्क्रिय व्यक्ति बोगटीलाई अध्यक्ष बनाइएको भन्दै उनको मातहत रहेर काम गर्न असन्तुष्टि जनाएको निकट स्रोतले जनाएको छ ।
प्रदेश १
इन्चार्ज : भीम आचार्य
सहइन्चार्ज : सावित्रीकुमार काफ्ले
अध्यक्ष : देवराज घिमिरे
सचिव : सुरेश राई
प्रदेश २
इन्चार्ज : सत्यनारायण मण्डल
सहइन्चार्ज : विश्वनाथ साह
अध्यक्ष : प्रभु साह
सचिव : सुमन प्याकुरेल
प्रदेश ३
इन्चार्ज : अष्टलक्ष्मी शाक्य
सहइन्चार्ज : हितबहादुर तामाङ
अध्यक्ष : नारायण दाहाल
सचिव : आनन्द पोखरेल
गण्डकी
इन्चार्ज : पृथ्वी सुब्बा गुरुङ
सहइन्चार्ज : खगराज अधिकारी
अध्यक्ष : हितराज पाण्डे
सचिव : गोविन्द नेपाली
प्रदेश ५
इन्चार्ज : शंकर पोखरेल
सहइन्चार्ज : दलबहादुर राना
अध्यक्ष : ओनसरी घर्ती
सचिव : जगप्रसाद शर्मा
कर्णाली
इन्चार्ज : जनार्दन शर्मा
सहइन्चार्ज : यमलाल कँडेल
अध्यक्ष : गोरखबहादुर बोगटी
सचिव : मायाप्रसाद शर्मा
प्रदेश ७
इन्चार्ज : भीम रावल
सहइन्चार्ज : लक्ष्मण जोशी
अध्यक्ष : कर्ण थापा
सचिव : नेपबहादुर चौधरी
को कसको निकट ?
नेकपाको प्रदेश संगठन कमिटीको नेतृत्वमा अध्यक्ष केपी ओली हाबी देखिएका छन् । उनीनिकट १० नेताले जिम्मेवारी पाएका छन् । इन्चार्जको जिम्मेवारी पाएका सत्यनारायण मण्डल, पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेल, सहइन्चार्जको जिम्मेवारी पाएका खगराज अधिकारी, अध्यक्षहरू क्रमशः देवराज घिमिरे, गोरखबहादुर बोगटी र कर्णबहादुर थापा, सचिवहरू क्रमशः आनन्दप्रसाद पोखरेल, गोविन्द नेपाली र सुमन प्याकुरेल अध्यक्ष ओलीनिकट हुन् ।
अर्का अध्यक्ष प्रचण्डनिकट आठजनामध्ये जनार्दन शर्माले इन्चार्ज, हितबहादुर तामाङले सहइन्चार्ज, नारायण दाहाल, प्रभु शाह, हितराज पाण्डे र ओनसरी घर्तीले अध्यक्ष तथा सुरेश राई र जगप्रसाद शर्माले सचिवको जिम्मेवारी पाएका छन् ।
वरिष्ठ नेता माधव नेपालनिकटका अष्टलक्ष्मी शाक्य, भीम रावल र भीम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै, रामबहादुर थापानिकट सावित्रीकुमार काफ्ले र लक्ष्मण जोशीले सहइन्चार्ज तथा मायाप्रसाद शर्मा र नेपबहादुर चौधरीले सचिवको जिम्मेवारी पाएका छन् । वामदेव गौतमनिकट यमलाल कँडेल र दलबहादुर राना तथा नारायणकाजी श्रेष्ठनिकट विश्वनाथ शाहले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।
The post नेकपाले तोक्यो प्रदेशका नेता : को कसको निकट ? appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2NurKyl

No comments:
Post a Comment