एमके माझी/राजविराज ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान संशोधनको मुद्दा आफूहरूले पहिलो प्राथमिकतामै राखेको भन्दै संशोधन नभएसम्म संघर्ष जारी रहने बताएका छन् । सप्तरीको कञ्चनपुरमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । ‘सरकारमा गएर पनि हामीले मुद्दा विसर्जन गरेका छैनौं,’ मुख्यमन्त्री राउतले भने, ‘अधिकार नपाएसम्म आन्दोलन जारी रहन्छ ।’
मधेसका नाममा राजनीति गर्ने अन्य पार्टीभन्दा आफूहरूको पार्टी अझै पनि अग्रपंक्तिमै रहेको दाबी गर्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्षसमेत रहेका राउतले भने, ‘हाम्रो पार्टी अहिले पनि मधेसी, पहाडका जनजाति तथा उपेक्षित समुदायको अधिकारका लागि संघर्षरत छ, कसैले आफूलाई यस मुद्दामा बढी क्रान्तिकारी देखाउनुको तुक छैन ।’
संघीयता, धर्मनिरपेक्षता र समावेशिताको मुद्दामा फोरमले गरेको संघर्ष अहिले पनि जनताको मानसपटलबाट नहराएको उनले दाबी गरे । ‘कोही आफूलाई क्रान्तिकारी ठान्दछ भने फोरमभन्दा ठूलो क्रान्तिकारी हुन सक्दैन,’ राउतले भने ।
मुख्यमन्त्री राउतले शुक्रबारै कञ्चनरूप नगरपालिमा दुई सातादेखि फैलिएको मौसमी रुघाखोकी तथा उच्च ज्वारोबाट मृत्यु भएका चार जनाका अभिभावकलाई प्रतिपरिवार २ लाख रुपैयाँका दरले राहत रकम वितरण गरेका छन् । उनले सप्तरीमा अहिले बढेको मौसमी रुघाखोकीको प्रकोप नियन्त्रणका लागि १५ लाख रुपैयाँ उपलब्ध गराउनेसमेत जानकारी दिए ।
from Rajdhani Daily https://ift.tt/2OIn4S8

No comments:
Post a Comment