राष्ट्रिय अपांग महासंघ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँचयुक्ततातर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा महिला बाल–बालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहलाई प्रदान गरेकी हुन् ।
काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिकामैत्री बनाइएको कम्पनीले जनाएको छ ।
पहुँचयुक्तता प्रवद्र्धन गर्ने र्याम्प, पदमार्ग, शौचालय, विद्युतीय गाडी तथा ह्विल–चियरलगायतका सुविधाले पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको कम्पनीको दाबी छ । नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो सिर्जनशील काम गरेबापत चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको आयोजक संस्था राष्ट्रिय अपांग महासंघले जनाएको छ ।
राष्ट्रिय अपांग महासंघले पहिलोपटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्स लिमिटेडलगायत अन्य तीन संघ–संस्था सम्मानित भएका छन् । सम्मान कार्यक्रममा मन्त्री थममाया थापाले अपांगमैत्री संरचना निर्माणमा चन्द्रागिरि एउटा नमुना परियोजना भएको विश्वास व्यक्त गरिन् ।
चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक शाहले चन्द्रागिरि परिसरमा निर्माणाधीन रिसोर्टमा समेत अपांगमैत्री संरचना निर्माण गरिएको जानकारी दिँदै यसबाट फरक क्षमता भएका व्यक्तिका लागि समेत चन्द्रागिरि मुख्य गन्तव्य बन्ने विश्वास व्यक्त गरेका थिए ।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको जनाएको छ ।
The post चन्द्रागिरि हिल्सलाई पहुँचयुक्तता इनोभेटिभ अवार्ड appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2OrbPka
No comments:
Post a Comment