राष्ट्र बैंकद्वारा प्रदेश तहमा आर्थिक गतिविधि अध्ययन सुरु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 1, 2018

राष्ट्र बैंकद्वारा प्रदेश तहमा आर्थिक गतिविधि अध्ययन सुरु

बैंकिङ पहुँचमा प्रदेश ५ अगाडि, तीन तहमा मात्रै बैंक पुग्न बाँकी

नेपाल राष्ट्र बैंकले प्रदेश ५ बाट संघीय संरचनामा आर्थिक गतिविधिको अध्ययन सुरु गरेको छ । मुलुकका सातवटै प्रदेशमा अध्ययन गरेर मार्गदर्शन तयार पार्न राष्ट्र बैंकले अध्ययन थालेको हो ।
राष्ट्र बैंकले आइतबार बुटवलमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, सचिवहरूसहित सरोकारवालासँग छलफल गरेको छ ।

राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले पाँच नम्बर प्रदेशसँगै मंसिरसम्ममा सबै प्रदेशमा कार्यक्रम सम्पन्न गर्ने जानकारी दिए । उनले भने, ‘सबै प्रदेशको कार्यक्रमपछि निचोड निकालेर त्यसबाट मार्गदर्शन तयार पारेर अगाडि बढ्न सजिलो हुन्छ ।’

प्रदेश ५ का तीन तहमा मात्रै बै‌क छैनन्
प्रदेश ५ का स्थानीय तहमा सबैभन्दा बढी वाणिज्य बैंकहरूको पहुँच पुगेको देखिन्छ । प्रदेश ५ का १०९ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा सञ्चालित छन् । जम्मा तीनवटा स्थानीय तहमा मात्रै वाणिज्य बैंक पुग्न सकेका छैनन् । कार्यकारी निर्देशक थापाका अनुसार बैंक नपुगेका रोल्पाको सुनछहारी, अर्घाखाँचीको मालारानी र गुल्मीको छत्रकोट गाउँपालिकामा शाखा खोल्ने प्रक्रिया अगाडि बढेको छ ।

तथ्यांक संकलन व्यवस्थित बनाउनुपर्नेमा जोड
प्रदेश ५ का योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले प्रदेशको काम व्यवस्थित रूपमा अगाडि बढाउन तथ्यांकको अभाव रहेको बताए । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा तथ्यांक महाशाखा राखेर यससम्बन्धी कामलाई व्यवस्थित गर्ने कार्य अगाडि बढाइए पनि स्वीकृत नभएको उनले बताए । श्रेष्ठका अनुसार राष्ट्र बै‌‌कले संकलन गर्ने तथ्यांकले मुलुकको विकासमा प्रभाव पार्ने भएकाले अझ व्यवस्थित पार्न जोड दिइएको छ । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले तथ्यांक संकलनमा विज्ञहरूबाट संलग्नता आवश्यक रहेको बताए ।

प्रदेश सरकारको आर्थिक सल्लाहकार को ?
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. मानबहादुर विकेले बैंकिङ क्षेत्रका कानुन बनाउने विषयमा अन्योल कायम रहेको भन्दै प्रदेश सरकारको आर्थिक सल्लाहकार को बन्ने भन्ने अन्योलमै रहेको बताए । यस्ता समस्या समयमै समाधान भएमा विकास निर्माण अगाडि बढ्न सहज हुने उनको भनाइ छ । प्रदेश तहमा सञ्चालित बैंक कसको मातहतमा हुने र प्रदेशमै दर्ता गर्न पाइने÷नपाइनेजस्ता विषय जतिसक्दो चाँडो टुंगो लाग्नुपर्ने उनले बताए । यस्ता विषय समाधान भएमा प्रदेशमा बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कानुन बनाउन सहज हुने विकेले बताए । राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले प्रदेश सरकारलाई सहयोग गर्न राष्ट्र बैंक तयार रहेको स्पष्ट पारे ।

वित्तीय संघीयतामा मुलुक प्रवेश नगरेको मुख्यमन्त्रीको गुनासो
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुक संघीयता कार्यान्वयनको चरणमा भए पनि वित्तीय संघीयताअनुरूप अगाडि बढ्न नसकेको बताए । वित्त आयोग गठनसँगै वित्तीय रूपमा संघीयताको कार्यान्वयन हुने उनको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले मुलुकको मौद्रिक नीति बनाउँदा प्रदेशका विशेषतालाई पनि ख्याल राख्नुपर्ने विचार राखे । तीन तहका सरकार र तीन तहको प्रशासनको परिकल्पना गरिए पनि अहिलेसम्म राजनीतिक सरकार मात्र बनेको, तर प्रशासनिक सरकार बन्न नसकेको उनले स्पष्ट पारे ।

प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले तथ्यांकले समग्र क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै योजना निर्माणका लागि सही तथ्यांकको आवश्यकता पर्ने बताए ।

 

The post राष्ट्र बैंकद्वारा प्रदेश तहमा आर्थिक गतिविधि अध्ययन सुरु appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2y3PbEg

No comments:

Post a Comment

Post Bottom Ad

Pages