विश्व टी–२० छनोट : नेपाल म्यानमारसँग भिड्दै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

विश्व टी–२० छनोट : नेपाल म्यानमारसँग भिड्दै

काठमाडौँ, १७ असोज । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि नेपालले आज म्यानमारसँग भिड्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न १२ बजे हुने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो ।

नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । यही असोज २६ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्ड सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने सो प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि छनोट हुनेछन् ।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शिर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनील धमला, साहब अलाम, दीपेश श्रेष्ठ र सागर पुन छन् । मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट र व्यवस्थापकमा रमन शिवाकोटी हुनुहुन्छ । छनोट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल यही असोज २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भूटान, २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली यही असोज १५ गते मलेसिया गएको हो ।



from Rajdhani Daily https://ift.tt/2y5PC0K

No comments:

Post a Comment

Post Bottom Ad

Pages