झापाको दमक र इलामको दक्षिणी भाग चुलाचुली सीमा भएर बग्ने रतुवामाथि पुल बनाउने मुद्दा प्रत्येक निर्वाचनमा उठ्छ । तर, निर्वाचनपछि कतै चर्चा हुँदैन । जब कि दमक प्रधानमन्त्री केपी ओली र इलामको चुलाचुली नेकपा नेता सुवास नेम्वाङको निर्वाचन क्षेत्र हुन् ।
चुलाचलीका बासिन्दाको दैनिकी दमकसँग जोडिएको छ । चुलाचुलीका स्थानीयको बजार मात्र होइन दैनिक व्यवसायका लागि पनि खोला तरेर दमक आउनुपर्छ । तर, वर्षामा गाउँमै थुनिने गरेका छन् ।
‘हाम्रो दुःखलाई न इलामले देख्यो, न त झापाले नै,’ चुलाचुली– ५ का सञ्जय बस्नेतले भने, ‘एउटा झोलुंगे पुल मात्र भइदिए पनि धेरै सहज हुने थियो ।’ बस्नेत दिनभर दमक आएर अटोरिक्सा चलाउँछन् । खोलामा पुल नभएकाले उनले अटोरिक्सा घर लैजान सक्दैनन् ।
इलामको यो क्षेत्रबाट सुवास नेम्वाङ पटकपटक निर्वाचित भए पनि पुल बनाउन कहिल्यै पहल नगरेको चुलाचुलीवासीको गुनासो छ । उता दमकबाट निर्वाचनमा उम्मेदवार बनेका केपी ओलीले भने निर्वाचनका वेला रतुवामा पुल बनाएर चुलाचुली र दमकलाई जोड्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रधानमन्त्री भएपछि पुलको कुरा नै बिर्सिएको दमक– २ का मनोज लकान्द्रीले बताए ।
लकान्द्रीको ससुराली चुलाचुली हो । ‘खोलामा पुल नै नभएपछि समस्या छ,’ रतुवा तर्नै लाग्दा भेटिएका उनले भने, ‘अस्ति पनि ससुरालीबाट फर्किंदा बगायो एकछिन त !’ खोलावारि नै गाडी राखेर उनी ससुराली पुगेर फर्किन्छन् ।
खोलाको डिलैमा चटपटे खाँदै गरेका कलेजका विद्यार्थी रेस्मा राई, अञ्जली लिम्बू, तुलसा खनाल, भीमकुमारी राई र सुनिता राईको पीडा उस्तै छ । उनीहरू क्याम्पस पढ्नका लागि चुलाचुलीबाट पैदल हिँडेरै दमक आउँछन् । भानु मावि चुलाचुलीमा १० कक्षासम्म पढेका उनीहरूले ११ पढ्न दमकको हिमालय उमाविमा भर्ना भए । तर, खोलाले कैयौँपटक उनीहरूलाई पढ्न जान दिएन ।
‘कहिलेकाहीँ बुबाआमा आएर खोलो तार्दिनुहुन्छ,’ तुलसाले भनिन्, ‘खोलो बढेका वेला धेरैपटक घरै फर्किएका छौँ ।’ चुलाचुलीका १४ विद्यार्थी दमकसम्म आएर क्याम्पस पढ्ने गरेको उनले बताइन् । तर, खोला बढेको वेला साइकल बोकेर पारि तर्न सम्भव छैन ।
चुलाचुली– ५ का विशाल राईका अनुसार स्कुल र कलेज पढ्नका लागि दक्षिणी इलामका झन्डै सयजना विद्यार्थी दिनहुँ जोखिम मोलेरै दमकसम्म धाउँछन् । ‘लाठे मान्छे त जसोतसो तर्छन्, बरु बुढाबुढी र केटाकेटीलाई साह्रै गाह्रो पर्छ, पुल नहुँदा बर्खामा सबैभन्दा बढी सास्ती झेल्नुपर्छ,’ राईले भने, ‘मैले पुल बन्ने हल्ला सुनेकै १२ वर्ष पुग्यो, बर्खामा साइकल, मोटरसाइकल दिनहुँ बगाउँछ, खोलो तारेर अस्पतालसम्म पु-याउन नसक्दा इलामतिरका बिरामी बर्सेनि मर्छन्, सरकारलाई यो कुरा थाहै छैन ।’
‘बिरामी भए भगवान् जप्ने’
सर्पले डस्दा चुलाचुलीका बासिन्दालाई उपचार गर्न दमक नै ल्याउनुपर्छ । तर, वर्षामा रतुवा तर्न मुस्किल पर्छ । औषधि लिन आएका स्थानीय खोला तर्न नसकेपछि दमकै बस्नुपरेको उदाहरण पनि सुनाइन् चुलाचुली– ५ की ६९ वर्षीया पूर्णिमा राईले । ‘बिरामी भए भगवान् जप्ने हो,’ उनले भनिन् ।
The post रतुवामा पुल : ओली र नेम्वाङ दुवैले बिर्सिए appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2OqVmMJ
No comments:
Post a Comment