बलान नदीमा दुर्घटनाको जोखिम - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 1, 2018

बलान नदीमा दुर्घटनाको जोखिम

पप्पु कन्स्ट्रक्सनसहितको जोइन्ट भेन्चरले ठेक्का लिएको हुलाकी सडकअन्तर्गत सिरहा–सप्तरी जोड्ने बलान नदीको पुलमा पिलर मात्र हालेर छाड्दा दुर्घटनाको जोखिम बढेको छ । यसरी नै छाडिएको पिलरमा ठोक्किएर रौतहटको गौर नगरपालिका– ४ स्थित लालबकैया नदीमा डुंगा पल्टिँदा करिब महिना दिनअघि पाँचजनाको मृत्यु भएको थियो ।


पुल बनेपछि सिरहाको भगवानपुर गाउँपालिका र सप्तरीको बलान बिहुल गाउँपालिका जोडिनेछ । पुल नहुँदा भने स्थानीय नदीमा पसेरै पार हुने गरेका छन् । गाईवस्तु पनि त्यसरी नै तारिन्छ । साइकल र अन्य सामान बोकेर नदीमा पस्दा जोखिम हुने स्थानीयको गुनासो छ ।

रौतहटको लालबकैयामा पर्ने पुल ठेक्का लिने पप्पु कन्स्ट्रक्सनले नै बलानको पनि ठेक्का पाएको हो । पुल ४० महिनामा बनाइसक्ने गरी १५ फागुन ०६८ मा पप्पु एन्ड शर्मा जेभीले ठेक्का लिएको थियो । तर, ६ वर्षमा १३ वटा पिलर मात्र हालिएको छ ।

पप्पु एन्ड शर्मा जेभी बलान पुलका साइट इन्जिनियर जमुना यादवका अनुसार पुल चार सय ६३ मिटर लामो र सात दशमलव २० मिटर चौडाइको हुनेछ । पप्पु एन्ड शर्मा जेभीले पुल २४ करोड ६२ लाखमा ठेक्का पाएको हो । ‘हामीले पुलको पूर्वपट्टिबाट १३ वटा पिलरको फाउन्डेसनदेखि सबस्ट्रक्चरसम्मको निर्माण सकेका छौँ,’ साइट इन्जिनियर यादवले भने ।

धार परिवर्तन हुँदा कटान
बलान पुलको डिजाइन दशकअघि नै भएको हो । सो डिजाइनअनुसार पुल निर्माण थालिएको थियो । तर, समयमा नै निर्माण नसकिँदा नदीको धार सिरहातिर सोझिएको छ ।प्रत्येक वर्ष वर्षामा नदीले सिरहातिरको खेतीयोग्य जमिन कटान गरिरहेको स्थानीय रविलाल पासवानले बताए । ‘नदीको धार परिवर्तन हुँदा सिरहाको सखुवानन्कारकट्टीको इटहर्वा, कल्याणपुर, भगवानपुर गाउँपालिकाको पूर्वी भागमा पर्ने सयौँ बिघा जग्गा कटान भइरहेको छ,’ उनले भने ।

अर्का स्थानीय श्रीप्रसाद पण्डितले नदीमा बाँध बाँध्ने र पुल हाल्ने काम नहुँदा सुकुम्बासी हुने अवस्था आएको बताए । उनले भने, ‘पुल नहुँदा आवतजावत गर्न कठिनाइ झेल्नुपरेको त छ नै, जग्गा कटान भएर सुकुम्बासी नै बन्ने अवस्थामा छौँ ।’

कमला नदीमा पनि  पिलर मात्र
पप्पु कन्स्ट्रक्सनसमेत संलग्न सिरहाको अर्को पुल निर्माण पनि अलपत्र छ । पप्पु एन्ड लुम्बिनी जेभीले ठेक्का लिएको हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीको पुल चार वर्षअघि नै बनिसक्नुपर्ने थियो । तर, यो पुलमा पनि १३ वटा पिलर मात्र हालेर छाडिएको छ । अलपत्र पिलरका कारण यहाँ पनि दुर्घटनाको जोखिम छ । यो पुल साढे तीन वर्षमा बनाइसक्ने गरी ३१ जेठ ०६८ मा ठेक्का सम्झौता भएको थियो ।

 

 

The post बलान नदीमा दुर्घटनाको जोखिम appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2xYm7xG

No comments:

Post a Comment

Post Bottom Ad

Pages