अब पाँच महिनाभित्रै भेरी–बबई डाइर्भसन ब्रेकथ्रु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

अब पाँच महिनाभित्रै भेरी–बबई डाइर्भसन ब्रेकथ्रु

सुदीप अधिकारी/बर्दिया।

अहिलेकै रफ्तारमा काम भइरहे अबको पाँच महिना अर्थात् आगामी चैत महिनाभित्र भेरी–बबई डाइर्भसनको सुरुङ ब्रेकथ्रु हुनेछ । सुरुङ खन्ने काम सुरु भएको करिब एक वर्षको अवधिमा ८ दशमलव ७४ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । अब करिब ४ किलोमिटर मात्र बाँकी छ । सुरुङको जम्मा लम्बाई १२ किलोमिटर रहेको छ ।

सिँचाइ र विद्युत् उत्पादनका लागि भेरी नदीको पानी बबई नदीमा खसाल्न भेरी र बबई नदीबीचको चुरे पहाडमा आयोजनाले गत कात्तिक महिनादेखि सुर्खेतको हात्तीखालबाट सुरुङ खन्ने काम थालिएको थियो । मानवरहित स्वचालित टनेल बोरिङ मेसिनले सुरुङ खनिरहेको छ । सुरुङ खन्ने क्रममा तोलीखोला आसपासको क्षेत्रमा जोखिम ठानिएको थियो । तोलीखोलादेखि सुरुङसम्मको दुरी (गहिराइ) २१० मिटर मात्र छ । त्यहाँबाट पानी बग्ने र लेदो खालको माटो भए आयोजना असफल हुने अनुमान गरिएको थियो । टीबीएमले सो भाग पार गरेपछि अनुमान गरिएजस्तो जोखिम देखिएन । त्यसपछि सुरुङ निर्माण तीव्र पारिएको आयोजनाका सिनियर डिभिजन हाइड्रोजियोलोजिस्ट कृष्णप्रसाद उपाध्यायले बताए ।

‘जोखिमयुक्त क्षेत्र पार गरेर मेसिन अगाडि गइसकेको छ,’ खनालले भने, ‘अब सुरुङ निर्माणको काम सम्झौता मितिभन्दा अगाडि नै सकिन्छ ।’ तोलीखोला आसपासको क्षेत्र सुरुङको सबैभन्दा जोखिमपूर्ण भूगोल मानिएको थियो । त्यही भएर तोलीखोला क्षेत्रको एक किलोमिटर सुरुङ खन्न करिब तीन महिना लागेको उपाध्यायले बताए ।

मानवरहित मेसिनले दैनिक औसतमा ४० मिटर सुरुङ खन्ने गरेको थियो । तोलीखोलाको जोखिम क्षेत्र पार गरिसकेपछि मेसिनले तीव्र गतिमा काम गरिरहेको आयोजनाले जनाएको छ । अबको करिब पाँच महिनाभित्रमा सुरुङ खन्ने काम पूरा हुने बताइएको छ । हालसम्म ७५ प्रतिशतभन्दा बढी सुरुङ खन्ने काम सकिएको आयोजनाले जनाएको छ । तीव्र गतिमा काम भइरहेकाले तोकिएको अवधिअगावै काम सम्पन्न हुने आशा गरिएको छ । सुरुङको काम सकिनै लाग्दा भेरी नदीको चिप्लेमा बाँध निर्माणको काम भने सुरु हुन सकेको छैन । चिप्लेमा बाँध निर्माण सम्पन्न भएपछि मात्र भेरीको पानी बबई नदीमा आउने छ ।

 भेरी–बबई डाइर्भसनका लागि चुरे पहाडमा सुरुङ खन्न नेपालमा पहिलोपटक मानवरहित टनेल बोरिङ मेसिन(टीबीएम) प्रयोग गरिएको छ । यो मेसिन चीनबाट ल्याइएको हो । टीबीएम मेसिन राख्ने ठाउँ बनाउन आयोजनालाई करिब २ वर्ष लागेको थियो । सुरुङ खन्न सुरु गरेपछि यो मेसिनलाई सुरुङ पूरा नगरी बाहिर निकाल्न मिल्दैन । २०७४ कात्तिक महिनादेखि मेसिनले सुरुङ खन्न थालेको हो । काम सुरु गरेको ११ महिनाको अवधिमा ८ दशमलव ७४ किलोमिटरभन्दा बढी सुरुङ खनिसकिएकाले लक्ष्यभन्दा अघि नै सुरुङको काम सकिने आयोजनाको भनाइ छ । अब करिब ४ किलोमिटर मात्र खन्न बाँकी छ ।

भेरी–बबई डाइभर्सन निमार्णको जिम्मा चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले लिएको छ । मेसिनले सफलतापूर्वक काम गरिरहेकाले प्राविधिकहरु निकै उत्साहित भएका छन् । लक्ष्यअनुसार काम भइरहेको आयोजनाले जनाएको छ । ‘ अवरोध नआए लक्ष्यभन्दा अघि नै काम पूरा हुनेछ,’ सिनियर डिभिजन हाइड्रोजियोलोजिस्ट कृष्णप्रसाद उपाध्यायले भने ।

सन् २०२० मार्चसम्म निर्माण सक्ने गरी चाइना कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले ठेक्का पाएको हो । आयोजनाको लागत १० अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

 सुरुङको काम अन्तिम चरणमा आएपछि चिप्लेमा ड्याम र बर्दियामा पावर हाउस निर्माणको बाटो पनि खुलेको छ । सुर्खेतको चिप्लेमा ड्याम र बर्दियाको चेपाङमा पावर हाउस निर्माण हुनेछ । चिप्ले १५ मिटर अग्लो ड्याम निर्माण गरी सुरुङमार्फत भेरी नदीको पानी प्रतिसकेन्ड ४० घनमिटरका दरले बबई नदीमा खसालिनेछ । सिँचाइका लागि बबई नदीमा भेरीको पानी ल्याउन लागिएको हो । बबईमा पानी पर्याप्त भएपछि बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याइने सरकारी लक्ष्य छ  । सिँचाइका साथै यो बहुउद्देश्यीय आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने गरी बर्दियामा विद्युत् गृह निर्माण गर्ने सरकारी योजना रहेको छ ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2P3JywU

No comments:

Post a Comment

Post Bottom Ad

Pages