राजधानी समाचारदाता/काठमाडौं ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठले तेस्रोपटक मंगलबार संसदीय समितिको समाचार संकलनमा रोक लगाएकी छन् । नेपाली सेनाको आर्थिक कारोबारसम्बन्धी जानकारी बाहिर आउने भन्दै सभापति श्रेष्ठले पत्रकारलाई समितिको छलफलबाट बहिर निकालेकी हुन् ।
श्रेष्ठ सभापति भएपछि पत्रकारलाई बैठकमा प्रवेश नदिइएको यो तेस्रोपटक हो । यसअघिका बैठकहरूमा पत्रकारलाई निर्बाध प्रवेश दिइन्थ्यो । मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारलाई रोक लगाएको हो । सोमबार गृहसम्बन्धीको छलफलमा पनि सञ्चारकर्मीलाई रोक लगाएको थियो । मंगलबार प्रहरीको मुख्यालयको गतिविधिबारे समितिमा छलफल भएको थियो ।
बैठकमा रक्षा मन्त्रालय र सेनाका आर्थिक गतिविधि र प्रशासनिक कामबारे बुझ्न समितिले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, रक्षा सचिव विष्णु लम्साल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत सेनाका उच्च पदस्थ अधिकारीहरुलाई बोलाएको थियो । समाचार संकलन गर्न गएका पत्रकारलाई बैठक सुरु भएलगत्तै बाहिरिएर सहयोग गर्न राज्य व्यवस्था तथा सुशासन सभापति शशि श्रेष्ठले आग्रह गरेकी थिइन् । ‘संवेदनशील विषयमा छलफल भइरहेकोले तपाईंहरु बाहिर गएर सहयोग गरिदिनुस्,’ उनले भनिन् ।
विगतमा रक्षा र गृह सम्बन्धी कुनै पनि छलफलमा सञ्चारकर्मीलाई रोक लगाएको थिएन । यसअघि सुडान घोटाला, हातहतियार सम्बन्धी छलफलमा समेत पत्रकारलाई निर्बाध रुपमा समाचार संकलन गर्न दिइएको थियो । समितिको जिम्मेवारी श्रेष्ठले सम्हालेयता बैठकमा पत्रकारलाई रोक लगाउँदै आएकी छिन् ।
पत्रकार महासंघद्वारा असन्तुष्टि व्यक्त
प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको समाचार संकलनमा पत्रकारलाई निषेध गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । १५ असोजमा भएको समितिको बैठकमा राज्यको महŒवपूर्ण विषयमा हुने छलफलमा सञ्चार जगत्को प्रवेश राम्रो नहुने भन्दै समितिकी सभापति शशी श्रेष्ठले पत्रकारलाई समाचार संकलनमा निषेध गरेकोप्रति महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘नागरिकलाई सुसूचित गराउने कार्यमा पत्रकारलाई सहयोग गर्नुको साटो समाचार संकलनमा निषेध गरिएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो,’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघ राज्यको जिम्मेवार व्यक्तित्वबाट भएको यस्तो कार्यको कडा भत्र्सना गर्दछ ।’ प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई संवैधानिक स्वतन्त्रताको सुनिश्चितता प्रदान गर्न महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ ।
from Rajdhani Daily https://ift.tt/2y8oP3N
No comments:
Post a Comment