राजधानी संवाददाता/भोजपुर । जिल्लाका स्थानीय तहमा कर्मचारी नपुग्दा कामकाज प्रभावित भएको छ ।
स्थानीय तह कार्यान्वयन आएसँगै गाउँघरबाटै सहजरुपमा सेवा पाउने आशामा बसेका सर्वसाधरण कार्यालयमा कर्मचारी नहुँदा सास्ती भोग्न बाध्य छन् ।
जिल्लाका नौओटा स्थानीय तहहरुमा कुनैमा पनि तोकिए अनुसारको कर्मचारी नहुँदा सहजरुपमा सेवा दिन नसकेको स्थानीय तहहरुले गुनासो गर्न थालेका छन् ।
जिल्लाभरका स्थानीय तहमा ३६७ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ११६ जना कर्मचारीको भरमा स्थानीय तह सञ्चालनमा रहेका छन् भने २५३ दरबन्दी रिक्त छ ।
षडानन्द नगरपालिकामा ७२ जनाको दरबन्दी रहेकोमा १८ जना र भोजपुर नगरपालिकामा ६६ जनाको दरबन्दी रहेकोमा २८ मात्र कर्मचारी छन् ।
त्यस्तै, टेम्केमैयुङ गाउँपालिकामा २५ जनाको दरबन्दी ७ जना, हतुवागढी गाउँपालिकामा ३५ जनाको दरबन्दीमा ११ जना, अरुण गाउँपालिकामा ३१ जनाको दरबन्दी रहेकोमा १४ जना मात्र कर्मचारी छन् ।
त्यस्तैगरी पौवादुङ्मा गाउँपालिकामा २९ जनाको दरबन्दी रहेकोमा १२ जना, आमचोक गाउँपालिकामा ३७ जनाको दरबन्दीमा १० जना र रामप्रसाद राई गाउँपालिकामा ३३ जनाको दरबन्दीमा ११ जना मात्र कर्मचारी कार्यरत छन् ।
साल्पासिलोछो गाउँपालिकामा सबैभन्दा कम कर्मचारी रहेका छन् । वडा र पालिका कार्यालय गरी २९ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ७ जना कर्मचारीको भरमा गाउँपालिका चलिरहेको गाउँपालिका अध्यक्ष महेश राईले जानकारी दिएका छन् ।
सिँगो गाउँपालिकाको कार्यालय चलाउने मुख्य मातहतका कर्मचारीहरु विभिन्न बाहनामा सरुवा लिएर गएपछि कर्मचारी संकटले गाउँपालिकाको काम ठप्प बनेकोे उनको गुनासो छ ।
स्थानीय सरकार बनेपछि कर्मचारीको चरम अभाव झेल्दै आएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, सह–लेखापाल, प्रशासन हेर्ने खरिदार एकैचोटि सरुवा भएर अन्यत्र गएपछि यतिबेला गाउँपालिका ठप्प बनेको हो ।
त्यस्तै अन्य स्थानीय तहमा पनि कर्मचारी नहुँदा सेवा प्रवाह तथा विकास निर्माणका काममा समस्या भएको छ ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2P2OkuF
No comments:
Post a Comment