ठाडोभाका शिरोमणि स्वर्गीय भेडीखर्के साइँला (दीर्घनाथ अधिकारी)को सालिक अनावरण गरिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–६मा रहेको लक्ष्मीनारायण मन्दिरपरिसरमा उनको सालिक अनावरण गरिएको हो । राष्ट्रिय गानका रचायिता प्रदीपकुमार राई ‘व्याकुल माइला’ले आइतबार स्व. साइलाको सालिकको अनावरण गर्दै उनले ठाडोभाका संरक्षणमा साइँलाको उच्च योगदान रहेको बताए ।
साइँलाको योगदानको कदर तथा उनको सम्झनामा सालिक ठड्याइएको भेडीखर्के साइँला स्मृति प्रतिष्ठान लमजुङका अध्यक्ष शमशेरबहादुर लौडारीले बताए । लोपान्मुख मौलिक ठाडोभाका संरक्षणका लागि जनजाति समुदायका साथै नयाँ पुस्ता जुट्नु आवश्यक रहेको भीम दुराले बताए ।
भेडीखर्के साइँला स्मृति प्रतिष्ठान लमजुङ सुन्दरबजारको पहल तथा विभिन्न सहयोगी व्यक्ति तथा संघ–संस्थाको सहयोगमा साइँलाको सालिक निर्माण गरिएको हो । दुई लाख ५० हजारको लागतमा अर्धकदको सालिक र तीन लाख ५० हजारको लागतमा सालिक राख्ने जग्गा गरी कुल ६ लाख लागतमा साइलाको सालिक निर्माण गरिएको भेडीखर्के साइँला स्मृति प्रतिष्ठान लमजुङका सदस्य परमेश्वर अधिकारीले बताए ।
सुन्दरबजार नगरपालिका–११ सिन्दुरे तुर्लुङकोटमा विसं १९९० भदौ २९ गते बुबा बलभद्र अधिकारी र आमा नन्दकुमारी अधिकारीको साइँला छोराका रूपमा स्व. भेडीखर्के साइँला जन्मिएका थिए । ८४ वर्षको उमेरमा २०७४ भदौ २६ गते उनको निधन भएको थियो ।
The post भेडीखर्के साइँलाको सालिक अनावरण appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2xR2Dw0

No comments:
Post a Comment