साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकीले पोखरामा सुपथ मूल्य पसल सुरु गरेको छ । सरकारले १२ असोजदेखि सञ्चालन गर्ने भने पनि चिनीको मूल्य निर्धारण भएपछि पोखरामा आइतबारदेखि पसल सुरु भएको हो । साल्ट ट्रेडिङको आफ्नै गोदाममा सञ्चालित पसलमा नुन, चिनी र तेल बिक्री गर्न राखिएको छ । दसैँअघि नै सञ्चालन हुनुपर्ने सुपथ पसलमा चिनी नपाएपछि सर्वसाधारण उपभोक्ता निराश हुँदै फर्केका थिए ।
साल्ट ट्रेडिङ पोखराका निमित्त प्रमुख सुरेश राजभण्डारीले सरकारले नै चिनीको मूल्य तोक्न ढिलाइ गर्दा निकै ढिलो गरी चिनी बिक्री गर्नुपरेको बताए । ‘टाढा–टाढाबाट उपभोक्ताहरू आउनुभएको थियो,’ उनले भने, ‘सरकारले नै मूल्य नतोक्दा निराश बनाएर फर्काएकामा बल्ल बिक्री गर्ने बाटो खुल्यो ।’
-सुपथ मूल्य पसलमा चिनी ६८ रुपैयाँ प्रतिकिलोका दरले एक व्यक्तिले ६ किलोसम्म किन्न पाउँछन् । त्यसैगरी नुन प्रतिकिलो १८ रुपैयाँमा ३ किलोसम्म र तेल २ र ५ लिटर लिन पाइने निमित्त प्रमुख सुरेश राजभण्डारीले बताए । उनका अनुसार टर्कीबाट झिकाइएको सनफ्लावर तेल बिक्रीका लागि राखिएको हो ।
-०७१ को चाडपर्वमा मैदा, पिठो र सुजीसहित चिनी र नुन सस्तो मूल्यमा पाइने गरेकोमा ०७२ मा भूकम्प र भारतीय नाकाबन्दीले पसल सञ्चालन भएन ।
-अघिल्ला वर्षहरूमा चिनी सबैभन्दा बढी बिक्री हुने गरेको थियो । ‘यसपालि चिनी बेच्न ढिला भयो, हेरौँ अब पक्कै पनि उपभोक्ताको लाम लाग्नेछ,’ उनले भने ।
-प्रमुख राजभण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले बजारमा चिनीमा हुने कालोबजारी रोक्ने गरेको बताए । ‘बजारमा चिनीको कालोबजारी हुन नदिन सरकारले हामीलाई नै मूल्य नियन्त्रण गर्ने जिम्मा दिएको छ,’ उनले भने ।
The post पोखरामा सुपथ मूल्य पसल सुरु appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2RxyDMX
No comments:
Post a Comment