पोखरामा पुसमा सातौं लिटरेचर फेस्टिभल - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 20, 2018

पोखरामा पुसमा सातौं लिटरेचर फेस्टिभल

 

काठमाडौं। सातौं नेपाल लिटरेचर फेस्टिभल (साहित्य सम्मेलन)–२०१८ को मिति तय गरिएको छ । यो ७ पुसदेखि १० पससम्म चार दिन पोखरामा आयोजना हुने भएको छ । आयोजक संस्था बुकवर्म फाउन्डेसनले सामेबार काठमाडौंमा पत्रकार भेटघाटको आयोजना गर्दै फेस्टिभलबारे जानकारी गराएको हो । फेस्टिभलमा विभिन्न देशका चर्चित लेखक साहित्यकार आउने भएका छन् ।

अग्रज साहित्यकार खगेन्द्र संग्रौलाले कार्यक्रममा बोल्दै यो फेस्टिभल लेखकको उत्सवका रूपमा रहेको बताए । उनले भने, ‘यो भेटघाट, मनोरञ्जन र विचारको उत्सवको थलो बनेको छ । लेखकले पाठक भेट्ने र पाठकले आफ्नो मनपर्ने लेखक भेट्ने अवसर पनि सम्मेलनले जुटाउँदै आएको छ ।’ उनले भने, ‘यस किसिमको सम्मेलनले सबैलाई विवेकशील बनाउन सघाउनेछ । सामाजिक सञ्जालले पुस्तक पढ्ने बानी कम गराइदिएको र यस्तो प्रवृत्तिबाट जोगाउने माध्यम भनेकै पुस्तक रहेकाले फेस्टिभलले पुस्तक पढ्नमा पाठकलाई फेरि झक्झक्याउनेछ ।’

फेस्टिभलका निर्देशक अजित बरालले पत्रकार भेटघाटमा बोल्दै फेस्टिभलले नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारहरूलाई उत्तिकै सम्मानका साथ स्थान दिने गरेको बताए । पहिलोदेखि सातौं सम्मेलनसम्मको आकर्षकण भनेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा चर्चित लेखक, साहित्यकारको एकै थलोमा जमघट रहेको उनले बताए ।

‘शक्ति र सत्ताका आडमा फैलाइएका भय, घृणा र असहिष्णुताले स्वतन्त्र र कल्पनाशील सिर्जना सम्भव नहुने र त्यस्तो अवस्थामा शब्दले जीवन पनि नपाउने हुँदा यसखाले सबैको मञ्चको महŒव अझ बढेको छ,’ निर्देशक बरालले भने ।

आईएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले सम्मेलनमा आईएमई गु्रुप सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै सम्मेलनले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सघाउने आईएमईको अपेक्षा छ रहेको बताए । आफ्नो समूहले नयाँनयाँ सिर्जना गर्ने प्रयत्नमा सहयोग गर्दै आएको र सोही उद्देश्यबाट अभिप्रेरित साहित्य सम्मेलन भएकाले यसमा आफूहरूले सहकार्य गरेको पनि उनले बताए ।

आईएमई लिमिटेडका कार्यकारी प्रमुख सुमन पोखरेलले पनि यो फेस्टिभलका माध्यमबाट नेपालको सिर्जनात्मकतामा अझ व्यापकता आओस् भन्ने चाहना आफूहरूको रहेको बताए ।

पोखरामा फेस्टिभल गर्नुका कारणबारे सञ्चारर्मीको जिज्ञासामा फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पोखराको पर्यटन क्षेत्रमा सहयोग गर्न पनि सम्मेलन पोखरामा आयोजना गर्न लागिएको बताए । पोखरालाई पर्यटनको हबका रूपमा विकास गर्न पनि सम्मेलनले सघाउने उनले बताए । आफूहरू राष्टिय एवं अन्तर्राष्टिय क्षेत्रमा आयोजना हुने साहित्य सम्मेलनमा जोडिने चाहना उनले कार्यक्रममा व्यक्त गरे ।

सम्मेलनका संयोजक रबिन गिरीले सम्मेलनबारे जानकारी दिन ८ मंसिरमा काठमाडौंमा कर्टेन रेजर हुने बताए । उनका अनुसार पछिल्ला दुई संस्करण पोखराको पार्दीस्थित नेपाल पर्यटन बोर्ड परिसरमा भएको फेस्टिभल दर्शकको लगातारको वृद्धिसँगै यस वर्षदेखि फेवाताल किनारमा अवस्थित रत्न मन्दिरअगाडिको चौरमा हुने जानकारी गराए ।

फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि सयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र अन्य थप रोचक सामग्री समावेश गरिने पनि उनले जनाए । फेस्टिभलमा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटनसँग मास्टर वर्कसप हुने पनि उनले जानकारी गराए ।

यो फेस्टिभलमा बेलायतबाट डा. निकोला स्ट्रिटेनसँगै पाकिस्तानबाट मोहम्मद हनिफ, भारतबाट नमिता गोखले, हरिश नाम्बियर, प्रज्ज्वल पराजुली र क्यानडाबाट नेपाली लेखिका मञ्जुश्री थापा सहभागी हुँदै छन् । यीसँगै नेपालका चर्चित लेखकहरूको जमघट रहने पनि आयोकज पक्षले पत्रकार भेटघाटका क्रममा जानकारी गरायो । उनका अनुसार फेस्टिभलमा सहभागिताका लागि अहिलेसम्म यी ख्यातिप्राप्त लेखकले निमन्त्रणा स्वीकार गरिसकेका छन् भने अन्य चर्चित लेखकहरूसँग अनौपचारिक कुराकानी भइरहेको छ ।

 



from Rajdhani Daily https://ift.tt/2R2qxw8

No comments:

Post a Comment

Post Bottom Ad

Pages