काठमाडौं। सातौं राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न क्षेत्रबाट धेरै कर तिर्ने १५ संस्था र व्यक्तिलाई सम्मान गरेको छ । साताव्यापी रूपमा मनाइने राष्ट्रिय कर दिवसको पहिलो दिन शनिबार आन्तरिक राजस्व विभागले राजधानीमा आयोजना गरेको कार्यक्रममा क्षेत्रगत आधारमा गरिएको वर्गीकरणअनुसार सबैभन्दा धेरै कर तिर्ने एक÷एक जनालाई सम्मान गरिएको हो ।
सरकारले यस वर्ष सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने व्यवसायी सिद्धार्थ शमशेर जबरालाई विशेष सम्मान गरेको छ । व्यवसायी सिद्धार्थ शमशेर जबरा पाँचौंपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बनेका हुन् । राष्ट्रिय कर दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित विशेष समारोहमा व्यवसायी जबरालाई सरकारले धेरै आय कर तिर्ने व्यक्तिका रूपमा सम्मान गरेको हो । यसअघि पनि उनले लगातार चारपटक व्यक्तिगत रूपमा सबैभन्दा बढी आयकर तिरेर उत्कृष्ट करदाता घोषित भएका थिए । त्यसअघि पनि उनले एकपटक धेरै आयकर तिर्ने करदाताका रूपमा सम्मान पाएका थिए । सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष जबरा सफल व्यवसायीका रूपमा स्थापित छन् । सोही कम्पनीले यो वर्ष पनि व्यापार÷व्यवसायतर्फ सबैभन्दा बढी कर तिरेर सम्मान पाएको विभागले जनाएको छ ।
आन्तरिक राजस्व विभागले तयार गरेको सूचीअनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बिमा, व्यापारलगायतका क्षेत्रमा धेरै कर तिर्ने संस्थालाई सम्मान गरिएको हो । राष्ट्रिय कर दिवसको अवसरमा विभागले हरेक वर्ष धेरै कर तिर्ने करदातालाई सम्मान गर्दै आएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उत्कृष्ट करतादालाई सम्मानपत्र प्रदान गरेका हुन् ।
यसैगरी, विभागले उत्कृष्ट काम गर्ने कर्मचारी तथा विभिन्न प्रतिस्पर्धामा अब्बल ठहरिएकालाई पनि सम्मान गरेको थियो ।
विभागका अनुसार यस वर्ष सबैभन्दा बढी आयकर तिर्ने सूर्य नेपाल सम्मानित भएको छ । सो कम्पनीका उपाध्यक्ष रवि केसीले सम्मान ग्रहण गरेका थिए । यसैगरी, निर्यात उद्योगतर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाललाई सम्मान गरिएको छ । सो कम्पनीका वित्त नियन्त्रक आदित्य भार्गवले सम्मानपत्र ग्रहण गरे । त्यसैगरी, उद्योगतर्फ हिमाल पावर कम्पनीले धेरै कर तिरेको छ । कम्पनीका वित्त नियन्त्रक उमेश शर्मालाई उत्कृष्ट करदाता सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी, कृषि तथा व्यापार क्षेत्रमा प्रो बायोटेक प्रालि निम्बस सम्मानित भएको छ । सो कम्पनीका कार्यकारी निर्देशक डा. दिनेश गौतम सम्मानित भएका हुन् । सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त सम्मानित भएको छ । सो संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले सम्मान ग्रहण गरेका थिए । बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै कर नबिल बैंकले तिरेको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सो सम्मानपत्र ग्रहण गरेका हुन् । यस वर्ष बिमा व्यवसायतर्फ नेपाल पुनर्बिमा कम्पनीले सबैभन्दा धेरै कर तिरेको छ । सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले सम्मानपत्र ग्रहण गरेका हुन् ।
स्वास्थ्य तथा शिक्षातर्फ विराटनगरको नोबेल मेडिकल कलेजले धेरै कर तिरेको छ । सो कम्पनीकी उपाध्यक्ष इन्दिरा शर्मा बराल सम्मानित भएकी छन् । सूचना प्रविधितर्फ एफवान सफ्ट इन्टरनेसनल सम्मानित भएको छ । सो कम्पनीका अध्यक्ष विश्वास ढकाल सम्मानित भएका हुन् । यसैगरी, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल सम्मानित भएको छ । तारागाउँका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले सो सम्मानपत्र ग्रहण गरेका हुन् । त्यसैगरी, व्यापारमा सिप्रदी ट्रेडिङ सम्मानित भएको छ । सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सम्मान ग्रहण गरेका हुन् ।
४० करोड रुपैयाँसम्म व्यवसाय गर्ने मध्यमस्तरीय करदाताबाट यस वर्ष नेपाल इन्भेस्टमेन्ट लिमिटेड सम्मानित भएको छ । ४० देखि ८० करोड रुपैयाँ कारोबार गर्नेमध्येबाट नेपाल स्टक एक्सचेन्ज सम्मानित भएको छ । नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले सम्मानपत्र ग्रहण गरेका थिए ।
यस्तै, पछिल्लो १० वर्षमा मूल्य अभिवृद्धि कर विवरण समयमा पेस गर्ने र समयमै कर चुक्ता गर्ने कम्पनीहरूमध्येबाट घोराही सिमेन्ट उद्योग सम्मानित भएको थियो । सो कम्पनीका वित्त प्रमुख उद्धव तिमल्सिना सम्मानित भएका हुन् ।
from Rajdhani Daily https://ift.tt/2TnQk39
No comments:
Post a Comment