काठमाडौं । आगामी सोमबारबाट काठमाडौंमा आयोजना हुने ‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ मा ६ देशका ११ चलचित्र प्रदर्शन गरिने भएको छ ।
कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन (सीजेएमसी) ले उक्त चलचित्र महोत्सव गर्न लागेको हो । कलेजकी प्रिन्सिपल डा. मञ्जु मिश्रले मंगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै महोत्सवबारे जानकारी गराइन् ।
नेपाल र अफ्रिकाको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले सात वर्षबाट महोत्सव गर्दै आएको उनले बताइन् । मिश्रका अनुसार नेपाल–अफ्रिका मन्मेन्टका साथै नर्वे, नेपाल र सुडानको संयुक्त किताब विमोचन पनि सो महोत्सवमा गरिनेछ । यो महोत्सव १० मंसिरबाट कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा तीन दिनसम्म चल्नेछ । महोत्सवमा प्रदर्शन गरिने ११ वटा चलचित्र सामाजिक विषयमा आधारित रहेको पनि डा. मिश्रले बताइन् ।
महोत्सवमा इजिप्टको ‘नासिर ५६’, स्विट्जरल्यान्डको ‘लाइफ इन प्रोगेस’, स्विडेनको ‘नाडिया डाइबर्ग’ र ‘फुटबोल डोक्टर्न’, अमेरिकाको ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाको ‘कल मी थिफ’ र नेपालबाट मनोज पण्डित निर्देशित चलचित्र ‘छाया’ प्रदर्शन गरिनेछ ।
महोत्सवले नेपाल र अफ्रिकी मुलुकसँगको सम्बन्ध विस्तारमा टेवा पुग्ने आयोजकको दाबी छ । कलेजले सन् २०११ देखि नै अफ्रिकन चलचित्र महोत्सव गर्दै आएको छ । विनाशकारी भूकम्प गएको वर्ष भने महोत्सव हुन नसकेको पनि मिश्रले बताइन् ।
महोत्सव निर्देशक मिश्रका अनुसार नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदान गर्नुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गरिँदै आएको हो ।
from Rajdhani Daily https://ift.tt/2R0b3IS
No comments:
Post a Comment