लमजुङ । जिल्लाका विभिन्न ठाउँमा सञ्चालित होमस्टेले गति लिन थालेको छ । बर्खायाम लागेसँगै ती होमस्टे सुस्ताएका थिए । पछिल्लो समयमा पर्यटकको आवागमन बढेसँगै तिनले गति लिन थालेको हो । जिल्लामा घलेगाउँ होमस्टेसहित काउलेपानी, राइनासकोट, सिउरुङलगायत दर्जनौं होमस्टे पर्यटकले भरिभराउ बन्न थालेका छन् ।
यहाँ सबैभन्दा बढी पर्यटक घलेगाउँ होमस्टेमा आउने गरेका छन् । दक्षिण एसियाकै नमुना ग्रामीण पर्यटकीय स्थल घलेगाउँमा २०५७ सालमा सुरु भएको उक्त होमस्टेलाई जिल्लाकै पहिलो मानिन्छ । जिल्लाका अन्य गाउँहरूमा पनि होमस्टे विस्तार भइरहेको छ । दसैंलगत्तै ती होमस्टेमा पर्यटक भरिभराउ हुन थालेको सञ्चालकहरूको भनाइ छ ।
घलेगाउँमा दैनिक २ सयभन्दा बढी पर्यटक आइरहेको ग्रामीण पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष तथा क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए । ‘अब बिस्तारै पर्यटक आउन थालेका छन्,’ उनले भने, ‘लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा अवस्थित सार्क राष्ट्रकै नमुना घलेगाउँ प्राकृतिक छटाले भरिपूर्ण भएकाले पर्यटकको आकर्षण बढ्दो छ ।’ गुरुङ जातिको उद्गमस्थल तथा घले राजाको अन्तिम राज्य भनिएको क्व्होलासोंथर गाउँपालिका–३ स्थित घलेगाउँमा ३२ घरमा होमस्टे सञ्चालनमा रहेको घलेको भनाइ छ ।
मुलुककै दोस्रो होमस्टेका रूपमा परिचित घलेगाउँ होमस्टेमा हरेक पर्यटकले रातिको खाना र भोलिपल्टको नास्ता र खानासहित एक रातको हजार रुपैयाँ व्यवस्था गरे पुग्ने होमस्टे व्यवस्थापनका संयोजक दीर्घराज घलेले बताए । उनका अनुसार पर्यटकको रोजाइअनुसार गुरुङ समुदायको संस्कृतिसँग जोडिएको घाटु, कृष्ण चरित्र, झ्याउरे, सेका, पन्चे, घ्याब्रेलगायत नाच हेर्न पाइन्छ ।
२०६२÷६३ सालको जनआन्दोलनपछि देशमा गणतन्त्रको स्थापना भएलगत्तै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले सरकारकै पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामिण पर्यटन गाउँका रूपमा घोषण गरेको थियो । घलेगाउँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समितिले २०७४ सालको उत्कृष्ट सामुदायिक होमस्टे घोषणा गरी १ लाख १ हजार रुपैयाँ पुरस्कारसमेत प्रदान गरेको थियो । ६ सय वर्ष पुरानो घलेगाउँमा नमुना चिया बगान भ्रमण, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, घलेराजको पार्क, गुरुङ संग्राहलय पनि हेर्न सकिन्छ । यस्तै, सामूहिक भेडापालनको अवलोकन, बोटानिकल गार्डेन र भ्यु टावर पनि घलेगाउँका आकर्षण हुन् ।
घलेगाउँबाट लमजुङ, मनास्लु, माछापुच्छ«े, अन्नपूर्णलगायत हिमाल नजिकबाट नियाल्न सकिन्छ भने मस्र्याङ्दी, खुदी, मादीलगायत नदीको मनोरम दृश्य देख्न सकिन्छ । पाहुनाको न्यानो सत्कार गरिने घलेगाउँ पुग्ने पर्यटकलाई दही चामलको अक्षता र फूलमालाले स्वागत गर्ने चलन छ । सदरमुकाम बेंसीसहरबाट ३२ किलोमिटरको दूरीमा रहेको सो गाउँ पुग्न मोटरमा साढे दुई घण्टाको र पैदल पाँच घण्टाको यात्रा गनर्सपर्छ ।
त्यस्तै, बेंसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको काउलेपानी होमस्टेमा दैनिक ५० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवप्रसाद घलेले बताए । यहाँ सञ्चालित होमस्टेमा दिनको प्रतिव्यक्ति १ हजार ५० रुपैयाँ लाग्छ । यस होमस्टेबाट ऐतिहासिक लमजुङ दरबार, सूर्योदयसँगै अन्नपूर्ण, लमजुङ, माछापुच्छे, गणेश, मनास्लु, बुद्धलगायत १४ हिमाल देख्न सकिने उनको भनाइ छ ।
त्यहाँ हाल १५ घरमा होमस्टे सञ्चालनमा रहेको छ । यहाँ गुरुङ, नेवार, भुजेललगायतका जातजातिको बसोबास रहेको कालेपानी होमस्टे ब्यवस्थापक कवीन्द्र गुरुङले बताए । घलेगाउँ र काउलेपानी होमस्टे २०१८ सालमा नेपाल सरकारले नेपालमा घुम्नुपर्ने सय गन्तव्यमध्येमा राखेको छ ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2qtS9hW
No comments:
Post a Comment