काठमाडौं । रेलिगेसनबिनाको लिगको तेस्रो चरणका खेल बिहीबारबाट सुरु हुँदै छ । दोस्रो चरणको खेल सकिँदा उपाधिको मुख्य दाबेदार रुस्लान थ्री स्टार क्लब र सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबसँगै सीएमजी क्लब संकटा शतप्रतिशत जितसहित शीर्ष तीनमा रहेका छन् ।
यस्तोमा बिहीबार लिगको बहुप्रतिक्षित खेलमा घरेलु फुटबलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी रुस्लान थ्री स्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब आमनेसामने हुँदै छन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो २ः३० बजेपछि सुरु हुँदै छ । मनाङ र थ्री स्टारको खेल क्लबका लागि मात्रै नभई समर्थकका लागि पनि उत्तिकै चासोको विषय हुने गर्दछ । दुबै क्लब नेपालमा बढी समर्थक भएका क्लब हुन् ।
शतप्रतिशत जितसहित लिगमा राम्रो सुरुवात गरे पनि मनाङलाई चोटले सताएको छ । टिमका उपकप्तान सुजल श्रेष्ठ प्रशिक्षणका क्रममा हात
भाँचिएपछि ६ साता मैदान बाहिर रहँदा नयाँ अनुबन्धित खेलाडी प्रकाश बुढाथोकी पनि एनआरटीविरुद्धको पहिलो खेलमै घाइते भएपछि दुई महिनाभन्दा मैदान बाहिर रहनेछन् ।
चोटकै कारण स्ट्राइकर विमल रानाले खेल्ने या नखेल्ने अनिश्चित हुँदा टिमको मुख्य फरवार्ड ओलावाले अफिज दोहोरो पहेंलो कार्डका कारण प्रतिबिन्धित भए । सुरुवाती खेलमा ब्रिगेड ब्वाइजसँगको खेलमा पहेंलो कार्ड खाएका उनले एनआरटीविरुद्धको खेलमा समेत कार्ड पाएका थिए ।
लगातार दुई वटा पहेंलो कार्डका पाएका कारण उनी एक खेलको निलम्बनमा परेका हुन् । पछिल्ला दुई खेलमा तीन गोल गरेका उनी लिगकै उत्कृष्ट स्ट्राइकर हुन् । टिमका नियमित सदस्य डिफेन्डर विमल बस्नेतलाई पनि मनाङले गुमाएको छ । उनी हाल अस्ट्रेलियामा रहेका छन् । मुख्य चार खेलाडी नभए पनि मनाङका प्रशिक्षक सुमन श्रेष्ठले बेन्च बलियो रहेको बताउँदै खेल प्रतिस्पर्धात्मक नै हुने बताएका छन् । ‘थ्री स्टार जस्तो बलियो टोलीविरुद्ध हाम्रा मुख्य चार खेलाडी उपलब्ध हुने छैनन् । हामीलाई समस्या त पक्कै हुनेछ । तर, हामीसँग बलियो बेन्च रहेको छ । थ्री स्टारविरुद्धको खेल प्रतिस्पर्धात्मक नै हुनेछ,’ प्री–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक श्रेष्ठले भने, ‘थ्री स्टार राम्रो टिम हो । हामी बराबरीजस्तै छौं । हामी ३ अंकका लागि खेल्नेछांै । नत्र १ अंक भए पनि पाउनेछ । उनीहरू पनि निकै राम्रो छन् । तर, हामी जित्छौं जस्तो लाग्छ ।’
प्रशिक्षक श्रेष्ठले थ्री स्टारविरुद्ध खेल्ने रणनीतिमा परिवर्तन गर्नेसमेत बताए । उनले सेटका तीन खेलाडी नभए पनि उनीहरूको स्थान लिन सक्ने खेलाडी रहेको र उनीहरूलाई मोटिभेसन दिइरहेको बताए । हामीसँग डोना थापा, पुजन उपरकोटी र दीपक राईजस्ता खेलाडी बेन्चमा छन् । उनीहरूले कुनै पनि बेला नतिजा उल्ट्याउन सक्छन् । विपक्षीको रणनीति हेरेरै हामी हाम्रो रणनीति बनाउनेछौं ।’ टिमसँग अञ्जन विष्ट, विराज महर्जन, हेमन गुरुङ, विशाल राई, एडिलाजा सोमिडे र विशाल श्रेष्ठ जस्ता स्तरीय खेलाडी छन् ।
मनाङका मुख्य तीन खेलाडी नहुँदा थ्री स्टारलाई भने केही फाइदा हुनेछ । तर, थ्री स्टारले मनाङलाई कमजोर टिमका रूपमा लिनेछैन । तर, यसको फाइदा थ्री स्टारले उठाउन सक्नेछ । थ्री स्टारले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ ले र दोस्रो खेलमा ब्रिगेड ब्वाइजलाई ५–१ को
फराकिलो अन्तरले पराजित गरेको थियो । यही प्रदर्शनलाई थ्री स्टार मनाङविरुद्धको खेलमा पनि निरन्तरता दिने योजनामा हुनेछ । करिब १० महिनापछि चोटबाट फर्किएका कप्तान विक्रम लामाको आगमनले पनि थ्री स्टार उत्साहित छ । यसै सिजन थ्री स्टारमा अनुबन्धित भएका अनिल गुरुङ १३ वर्षपछि आफ्नै पूर्वक्लबविरुद्ध उत्रने सम्भावना छ । थ्री स्टारसँग विक्रम लामासँगै राष्ट्रिय टिमका निराजन खड्का, सुनिल बल, एलेन न्यौपाने, पिटर सेगुन र यसै सिजन एपीएफबाट थ्री स्टार आएका रञ्जन विष्टको उपस्थितिले पनि मजबुत देखिएको छ ।
थ्री स्टार राम्रो टिम हो । हामी बराबरीजस्तै छौं । हामी तीन अंकका लागि खेल्नेछांै । नत्र १ अंक भए पनि पाउनेछौं । उनीहरू पनि निकै राम्रा छन् । तर, हामीले नै जित्छौं जस्तो लाग्छ
‘मनाङका केही खेलाडी छैन भनेर हामी सहज लिदैनांै । मनाङ एक कठिन टिम हो,’ थ्री स्टारका प्रशिक्षक मेघराज केसीले प्री–म्याच कन्फरेन्समा भने, ‘हाम्रो टिम हार रुचाउँदैन । हामी जित्नका लागि नै खेल्छांै । उनीहरूभन्दा बढी मिहिनेत गरेर ३ अंक लिनेछौं ।’ प्रशिक्षक केसीले हरेक खेलमा ३ अंकका लागि मिहिनेत गर्ने बताए । ‘लिग खेल्ने १३ नै बलियो छ । १३ वटै म्याचलाई फोकस गर्नेछौं । राम्रो नतिजा ल्याउनु छ भने ऊभन्दा राम्रो खेल्नुपर्छ । हामी विपक्षीभन्दा राम्रो खेल्नेछांै,’ प्रशिक्षक केसीले भने ।
यी दुई टोली राष्ट्रिय लिगमा अहिलेसम्म १८ पटक आमनेसामने भएका छन् । जसमा दुबै टोलीले समान ६–६ जित र ६ बराबरी खेलेका छन् । लिग नहुँदा गत वर्ष मोफसलका विभिन्न गोल्डकपमा भने मनाङले थ्री स्टारलाई पराजित गर्न सकेको छैन । त्यसैले बिहीबारको खेल दुवै क्लबका लागि निकै प्रतिष्ठाको खेल बनेको छ ।
बिहीबारै बिहान ११ बजे च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । च्यासल पहिलो खेलमा मच्छिन्द्रसँग गोलरहित बराबरीमा रोकिँदा त्रिभुवन आर्मी क्लबसँग १–० ले पराजित भएको थियो । यता, एनआरटीलेपहिलो खेलमा आर्मीसँग २–२ गोलको बराबरी खेल्दा मनाङसँग २–० ले परजित भएको थियो ।
from Rajdhani Daily https://ift.tt/2FDjPv7
No comments:
Post a Comment