इलाम। तिहारको समयमा सयपत्री र मखमली फूलको व्यावसायिक खेति नहुँदा इलामका बजारमा कृत्रिम फूलमा भर पर्नुपर्ने भएको छ । फाट्टफुट्ट फूल खेती भए पनि व्यावसायिक रूपले नभएको कारण सहर बजारमा फूलको अभावले कृत्रिम फूलमा भर पर्नुपर्ने भएको हो ।
तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्रीको माला लगाएर सु–स्वास्थ्य, आरोग्य दीर्घायुको कामना गर्ने चलन भए पनि प्राकृतिक फूलको अभाव हुने भएपछि इलाम बजारमा कृत्रिम फूलको मालामा भर पर्नुपरेको छ । तिहारको समयमा फूलको अभाव हुने भएपछि पूर्वी पहाडी जिल्ला इलाम सदरमुकामलगायत ग्रामीण भेगका बजारमा समेत कृत्रिम फूलमा भर पर्नुपरेको स्थानीय बताउँछन् ।
तिहारलाई दिदीबहिनी र दाजुभाइबीच एक आपसमा माया, प्रेम, खुसी साटासाट गर्ने तथा फूलैफूलको पर्वका रूपमा लिइन्छ । तिहारमा सयपत्री र मखमली फूलको मालाको निकै महŒव हुन्छ । गाउँघरमा फूलको उत्पादन कम हुन थालेपछि तिहारमा फूलको अभाव भएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि चिरायूको कामना गर्दै गलामा सयपत्री र मखमली फूलको माला लगाइदिने चलन छ । तिहारमा घर सजाउनका लागि पनि फूल प्रयोग हुने गर्दछ । जिल्लामा व्यावसायिक रूपमा फूलको खेती नहुने र सहर बजारमा फूलको अभाव भएका कारण कृत्रिम फूलको व्यापार बढेको व्यवसायी कोपिल परियार बताउँछन् ।
बजारमा बिनाझन्झट तयारी अवस्थामा विभिन्न खालका माला उपलब्ध हुनु, व्यावसायिक तवरले पुष्पखेतीमा कृषककोे चासो नहुँदा पछिल्लो समय इलाममा फूलको अभाव हुँदै आएको छ । यहाँ पुष्पखेतीका लागि उपयुक्त भू–बनोट छ । ठाउँ भए पनि पुष्प खेतीका लागि कसैले चासो नदिँदा सहरमा फूलको मालाको अभाव हुने गरेको छ ।
from Rajdhani Daily https://ift.tt/2AMzdAQ
No comments:
Post a Comment