दक्षिण एसियामै लामो केबलकार आश्रमदेखि प्रेमपार्क बन्दै
८० वटा टावर, दैनिक १० हजार क्षमता
पोखराको घाँटीछिनादेखि पर्वतको पञ्चासेसम्मको केबलकार निर्माणकार्य ६ वर्षमा पूरा हुने भएको छ । अहिले विस्तृत वातावरणीय प्रभाव मूल्यांकन (इआइए) भइरहेको र इआइए रिपोर्ट प्राप्त भएपछि योजनाको डिपिआर तयार गरी निर्माणकार्य अघि बढ्ने भएको छ ।
पञ्चासेसम्मको केबलकार निर्माणमा झन्डै १० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । निर्माण कम्पनी आरकेडी रियलस्टेट एन्ड कन्स्ट्रक्सनका अध्यक्ष रामप्रसाद शर्माले शिलान्यास भएको ६ वर्षभित्रमा सम्पूर्ण पूर्वाधारसहितको योजना सम्पन्न हुने बताए । अबको झन्डै ६ महिनामा इआइए रिपोर्ट प्राप्त हुने र त्यसपछि योजनाको डिपिआर तयार गरेर शिलान्यास प्रक्रियामा जाने अध्यक्ष शर्माले बताए ।
दक्षिण एसियामै लामो केबलकार
पञ्चासे केबलकार दक्षिण एसियाकै सबैभन्दा लामो केबलकार बन्ने दाबी छ । भियतनाममा ८ किलोमिटर लामो केबलकार रहेको र यहाँ ८.५ किलोमिटर लामो केबलकार निर्माण हुने निर्माण कम्पनीका अध्यक्ष शर्माले बताए । पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ र मोदी गाउँपालिका–८ मा पर्ने पञ्चासे तालसम्म केबलकार निर्माण हुनेछ । केबलकार निर्माणका लागि करिब ३ हजार रोपनी जग्गा लिजमा लिने प्रक्रिया अघि बढेको शर्माले बताए ।
आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेडको सहायक कम्पनीको रूपमा पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेड नामको कम्पनी स्थापना गरेर केबलकार निर्माण परियोजना सुरु गर्न लागिएको छ । केबलकार परियोजनाको तल्लो स्टेसनको घाँटीछिनामा करिब ५८ रोपनी जग्गासमेत खरिद गर्ने काम सम्पन्न भएको छ ।
आश्रमदेखि प्रेमपार्क बन्दै
केबलकारको माथिल्लो स्टेसनमा पर्यटकीय पूर्वाधार बन्नेछन् । ती पूर्वाधारले पर्यटकको बसाइअवधि लम्बिने विश्वास छ । श्रवणकुमार वृद्धाश्रमदेखि अत्याधुनिक वाटर लाइटिङ डान्सका लागि फाउन्टेन, सहिदको सामूहिक पहिचान गराउन र अध्ययन गर्न मिल्ने गरी प्राकृतिक सहिद पार्क, २ हजारभन्दा धेरै पर्यटक अट्ने गरी ‘अल्कोहोल जोन’, प्रेमपार्क, पञ्चासे तालदेखि चित्रेगाउँसम्म जिप फ्लायर, होमस्टे, पदमार्ग र साइकल मार्गलगायतका पूर्वाधार निर्माण गरिनेछ ।
यसरी जुटाइनेछ पुँजी
केबलकार निर्माणका लागि पुँजी जुटाउन कम्पनीले आफ्नो चुक्ता पुँजी चार अर्ब २५ करोड पु¥याउने कम्पनीका आर्थिक व्यवस्थापक धनप्रसाद उपाध्यायले बताए । उनका अनुसार सो परियोजनालाई राष्ट्रिय पुँजी निर्माणको नमुना योजना बनाउने गरी औद्योगिक विकासमा फरक सन्देश प्रवाह गर्ने गरी प्रवद्र्धक सेयरको विभाजन गरिनेछ ।
पुँजीको व्यवस्थापनमा प्रवद्र्धक सेयर तीन अर्ब रुपैयाँ रहनेछ । कर्पोरेट सेयर ५१ प्रतिशत रहनेछ । त्यसमा कास्की, स्याङ्जा र पर्वतमा प्रभावित क्षेत्रका जनताका लागि ७ प्रतिशतका दरले २१ प्रतिशत सेयर उपलब्ध गराइनेछ । त्यस्तै वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई ७ प्रतिशत, कास्की, पर्वत, स्याङ्जामा रहेका सहकारीलाई ६ प्रतिशत, राष्ट्रसेवक कर्मचारीका लागि ५ प्रतिशत, पत्रकारका लागि ३ प्रतिशत, नेपाली सेनाका लागि २ प्रतिशत, नेपाल प्रहरीका लागि २ प्रतिशत, शिक्षकका लागि २ प्रतिशत र श्रमिक तथा अन्यका लागि २ प्रतिशत सेयर छुट्याइने उपाध्यायले बताए ।
प्रवद्र्धक सेयर ३ अर्ब रुपैयाँ र सर्वसाधारणका लागि आइपिओमार्फत १ अर्ब २५ करोड रुपैयाँ जारी गरी ४ अर्ब २५ करोड रुपैयाँको पुँजीको संरचना निर्माण गर्ने कम्पनीको योजना रहेको उपाध्यायले जानकारी दिए । बाँकी रकम स्वदेशी एवंं विदेशी वित्तीय संस्थामार्फत सफ्ट लोनको रूपमा लिइने उनले बताए ।
८० वटा टावर, दैनिक १० हजार क्षमता
पञ्चासे केबलकारको साढे ८ किलोमिटरको लम्बाइमा ८० वटा टावर रहनेछन् । केबलमा दैनिक १० हजार यात्रु आवतजावत गर्ने क्षमता हुनेछ । एकैपटकमा २४ सय यात्रु बोक्न सक्ने क्षमता रहने अध्यक्ष शर्माले बताए । केबलकार निर्माण भएपछि प्रत्यक्ष वा अप्रत्यक्ष गरी १० हजारले त्यसमा रोजगारी प्राप्त गर्ने निर्माण कम्पनीको दाबी छ । धेरैखालका पूर्वाधार बन्ने र ती पूर्वाधारमा जनशक्ति पनि त्यही मात्रामा खपत हुने अध्यक्ष शर्माले बताए ।
फेवाताल जलाधार क्षेत्र प्रभावित नहुने दाबी
फेवातालको जलाधार क्षेत्रमा केबलकार निर्माण हुँदै छ । सो केबलकार निर्माण गर्दा जलाधार क्षेत्र नासिने वा क्षति हुने धेरैको आशंका छ । तर, निर्माण कम्पनीले जलाधार क्षेत्र प्रभावित नहुने दाबी गरेको छ । फेवाताल जलाधार क्षेत्रभन्दा पछाडिको पाखोमा धेरै पूर्वाधार बन्ने र त्यो धेरै पर्वततर्फ पर्ने हुँदा फेवाताल जलाधार क्षेत्र नासिने या प्रभावित नहुने अध्यक्ष शर्माले दाबी गरे । टावर निर्माणलगायतका पूर्वाधार बनाउँदा केही क्षति हुन सक्ने, तर अन्य पूर्वाधारलगायतका संरचना धेरै पर्वततर्फ पर्ने भएकाले फेवातालको जलाधार क्षेत्र प्रभावित नहुने बताए ।
The post पोखरा–पञ्चासे केबलकार निर्माण ६ वर्षमा पूरा हुने appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2Q9o6u8
No comments:
Post a Comment