तिहारलाई फूलको पर्वका रूपमा लिइन्छ । घर, आँगन सजाउन, मानिस तथा जनावरलाई माला लगाउन, विभिन्न पूजापाठ गर्न यो वेला फूलको उपयोग सबैभन्दा बढी हुने गरेको छ । सयपत्री र मखमली फूलको खेती त तिहारका लागि भनेर नै गरिन्छ । नेपालमा अरू वेला विदेशबाट सयपत्री फूलको गुच्छा र माला आयात उच्च हुने भए पनि तिहारमा बढीमा ३० प्रतिशत मात्र आयात हुने व्यवसायीको भनाइ छ ।
तिहारको पाँच दिनमा घर, कार्यालय सजावटदेखि पूजाका लागि फूलको थुँगा र मालाको खपत उच्च छ । व्यवसायीका अनुसार पाँच दिनमा करिब २२ लाखवटा माला खपत हुने अनुमान छ । त्यसमध्ये ३ लाख भारतबाट आयात हुनेछ । भारतबाट आउने सबै माला सयपत्रीको हो । मखमली र गोदावरी फूलमा भने नेपाल आत्मनिर्भर भइसकेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजूले बताए । गत आर्थिक वर्ष ०७४/७५ मा भने करिब १७ लाख माला खपत भएको उनले जानकारी दिए ।
तिहारमा व्यापार हुनेमध्ये ६० प्रतिशत काठमाडौंको हिस्सा छ । यहाँको रामकोट, टोखा, दधिकोट, चाँगुनारायण, चन्द्रागिरि, इचंगुलगायतका स्थानमा व्यावसायिक सयपत्रीखेती भइरहेको छ । । स्थानीय किसानले आफ्नै खेतबारीमा तथा व्यवसायीले जग्गा लिजमा लिएर काठमाडौंको काँठ क्षेत्रमा सयपत्रीको खेती गरेका छन् । छिमेकी जिल्ला नुवाकोट, काभ्रे र मकवानपुरले पनि काठमाडौंको फूल बजारलाई भरथेग गर्दै आएका छन् ।
तिहारमा हुने सयपत्रीको उच्च खपतलाई ध्यान दिएर स्वदेशमा उत्पादन वृद्धि गर्न थालिएको छ । २०६९ देखि पुष्प प्रवद्र्धन नीति लागू भएपछि सयपत्रीमा आत्मनिर्भर कार्यक्रम लागू गरिएको थियो । त्यसले उत्पादन वृद्धि र आयात प्रतिस्थापनमा राम्रो भूमिका खेलिरहेको एसोसिएसनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिलीप बादेले बताए ।
यो वर्ष तिहार कात्तिकको तेस्रो सातामा धकेलिँदा किसानले खेतबारीमा लगाएको सयपत्रीसमेत फूलेर स्वदेशी उत्पादन वृद्धिमा सहयोग मिलेको व्यवसायीको भनाइ छ । फूल उत्पादन बढेका कारण मूल्यसमेत घट्न सक्ने अपेक्षा छ । अहिले ४० थुँगा रहेको सयपत्री मालाको थोक मूल्य ४० देखि ५० रुपैयाँ रहेको छ । तर, खुद्रामा सय रुपैयाँभन्दा बढी पर्ने गरेको छ ।
बजारमा भारतीय माला छ्याप्पछ्याप्ती छन् । उपभोक्ता सचेत हुने हो भने स्वदेशी माला नै खपत गर्न सक्ने बादेको भनाइ छ । भारतबाट औसतमा ४० थुँगा फूलको तयारी माला आयात हुने गरेको छ । यस्तो माला चिसोमा राखेर ढुवानी गरिन्छ । ‘बजारमा उपलब्धमध्ये हेर्दा नओइलाएको तर छाम्दा चिसो हुने अधिकांश माला भारतबाट आयात हुने हुन्,’ बादेले भने, त्यसैले ताजा फूलको माला रोज्ने प्रवृत्ति बढाउने हो भने आयात प्रतिस्थापन गर्न समस्या हुँदैन ।’
मखमलीको उपयोग बढ्दै
मखमली फूल सेतो, गाढा कलेजी र हल्का रातो रङमा पाइन्छ । यो फूल ओइलिँदैन, त्यसैले यसलाई दीर्घायू र स्वास्थ्य जीवनको प्रतीक मानिन्छ । जसका कारण पछिल्लो समय भाइटीकाको दिन दाजुभाइ र दिदी–बहिनीले सयपत्रीसँगै मखमली फूलको माला लगाइदिने प्रचलन बढ्दै गएको छ ।
वार्षिक रूपमा करिब तीन करोड रुपैयाँको मखमली उत्पादन हुने गर्छ । यसबाट करिब सात लाख माला बन्छन् । मखमली फूल नओइलाउने भएकै कारण विदेशमा रहेका नेपालीमाझ पनि लोकप्रिय छ । विदेशमा रहेर तिहारको भाइटीका लगाउनेहरूले नेपालबाट मखमलीको माला मगाउने गरेका छन् । यसलाई व्यवसायीले सानो संख्यामा भए पनि निर्यात भएको मान्ने गरेका छन् । नेपालीहरूको धेरै बसोवास रहेको जापान, अस्ट्रेलिया, क्यानाडालगायतका देशमा मखमली धेरै निर्यात हुन्छ ।
फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङले विदेशमा रहेका नेपालीले आफन्तसँग सम्पर्क गरी मखमलीको माला मगाउने गरेको बताउँछन् । ‘यसलाई सानो संख्यामा भए पनि निर्यात भएको मान्न सकिन्छ,’ उनी भन्छन्, ‘मखमलीमा मुलुक पूर्णरूपले आत्मनिर्भर छ ।’ ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा यसको माला बढी खपत हुने गरेको छ । सयपत्रीको तुलनामा मखमली मालाको मूल्य पनि निक्कै सस्तो छ ।
कागतिहार सुरु हुनु एकदिनअघि आइतबार ललितपुरको लगनखेलमा मखमली मालाको खुद्रा बजारमा २० रुपैयाँ प्रतिगोटासम्म उपलब्ध थियो । भैँसेपाटीकी उर्मिला श्रेष्ठले भाइटीकामा ओखलढुंगा जान लागेकाले आइतबार नै मखमली माला लगनखेलबाट खरिद गरेको बताइन् । ‘प्रतिगोटा २० रुपैयाँमा पाएपछि सातवटा किनेर ल्याएको छु, नओइलाउने भएका कारण ४ दिनअघि किने पनि केही फरक पर्दैन,’ उनले भनिन् । भाइटीकाको अघिल्लो दिनसम्म माग बढ्ने भएका कारण मखमली माला प्रतिगोटा ५०–६० रुपैयाँसम्म पुग्ने व्यवसायीको अनुमान छ । मखमली मालामा अन्य फूल जोड्ने तथा आकर्षक डिजाइन दिइएको माला बढी मूल्यमा उपलब्ध हुन सक्ने व्यवसायीको भनाइ छ ।
महँगो गोदावरी
घर सजावटमा बढी खपत हुने गोदावरी फूल सबैभन्दा महँगो मानिन्छ । प्रायः जाडो मौसममा मात्र फूल्ने गोदावरीमा पनि मुलुक आत्मनिर्भर छ । घरको भित्रि भाग (रेलिङ, वेटिङ रुम, लिभिङ रुमलगायतमा सजाउन गमलामा फूल फुलाएर गोदावरीको प्रयोग हुने गरेको छ । त्यस्तै घरअगाडिको बगैँचामा रोपेर वा गमलामै राखेर गोदावरी फुलाउने प्रचलन सहरी क्षेत्रमा बढ्दै गएको छ । यसको प्रयोग निश्चित समुदायले गर्ने भएकाले ठूलो माग छैन ।
गोदावरीको नेपालमा व्यावसायिक खेती भइरहेको छ । खासगरी नर्सरीमा यसको खेती हुने गरेको फ्यानका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिलीप बादेले जानकारी दिए । ‘गोदावरीको उत्पादन लागत महँगो छ, त्यसैले मूल्य पनि महँगो पर्छ,’ उनले भने । गोदावरी फूलको एउटै मालाको मूल्य ४–५ सय रुपैयाँ पर्छ । गमलामा राखेर फूलाइएको बिरुवा १ हजार रुपैयाँभन्दा बढी पर्न आउँछ । गोदावरीको मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स र कट फ्लावरको खेती बढी हुने गरेको छ ।
तथ्यांकमा फूलखेती
नेपालमा २०११ सालबाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै काठमाडौं उपत्यकाभित्र मात्र सीमित नरही पोखरा, नारायणघाट, हेटौँडा, विराटनगर, धरान, बुटवल, धनगढीलगायतका सहरमा पनि फैलँदो स्थितिमा रहेको छ । आर्थिक वर्ष ०७४/७५ सम्म आइपुग्दा करिब ६ सय ९७ पुष्प व्यवसायीहरू यस व्यवसायमा संलग्न छन् र देशका ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।
हाल लगभग १ सय ५५ हेक्टर क्षेत्रफलमा पुष्पखेती भइरहेको छ । यस क्षेत्रबाट ४३ हजार ५ सयभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पुष्प व्यवसायमा आश्रित व्यक्तिहरूले रोजगारी पाइरहेका छन् । यस व्यवसायले आव ०७४/७५ मा जम्मा १ अर्ब ८६ करोडभन्दा बढीको कारोबार गरेको छ ।
आव ०७४/७५ मा ११ करोडबराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएकोे छ भने २ करोड ३७ लाख रुपैयाँको निर्यात भएको छ । समग्रमा पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको छ ।
फ्यानका अध्यक्ष कुमार कसजू श्रेष्ठ भन्छन्, ‘कृषिमा आधारित हाम्रो देश वातावरणीय विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पुष्प व्यवसायको विकास तथा प्रवर्द्धनको सम्भावना अझ बढी छ ।’ हाल उद्योगका रूपमा अगाडि बढिरहेको पुष्प व्यावसायको दिगो संस्थागत विकास, गुणस्तरीय उत्पादन आन्तरिक बजार व्यवस्थापन आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन आदिमा सम्बन्धित संघ–संस्थाहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको छ ।’
The post फूलको पर्व तिहार appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2Qmdk0I

No comments:
Post a Comment