ललितपुर । क्षेत्र १ प्रतिनिधिसभा सांसद नवराज सिलवालले शनिबार आफ्नै गोदावरी टौखेलस्थित निवासमा आयोजना गरेको चियापान कार्यक्रममा नेतादेखि सर्वसाधारणसम्म पुगेका छन् ।
दसैं, तिहार, नेपाल सम्बत् ११३९ नयाँ वर्ष, छठलगायत चाडपर्वको अवसरमा उनले शनिबार चियापान कार्यक्रम गरेका हुन् । जसमा केन्द्रीय नेतादेखि स्थानीय तहका कार्यकर्ता र शुभेच्छुकसमेतको सहभागी भए ।
पूर्वउपप्रधानमन्त्री, मन्त्रीदेखि पूर्वप्रधानसेनापतिसम्म सहभागी रहेको शुभकामनासहितको चियापान उच्चस्तरीय जमघट देखिन्थ्यो । ‘धेरै खुसी लागेको छ, चुनावपछि हामी आफ्ना पार्टीका साथीभाइबीच जमघट हुन पाएका थिएनौं,’ लेलेका रामकाजी पौडेलले भने, ‘आज यो संयोग जुरेको छ ।’
चियापान कार्यक्रममा कुनै समय राजाका निकट मानिएका प्रधानसेनापति रुक्मांगत कटुवाल, राप्रपा नेपालमा राजकै पक्षमा वकालत गरेर हाल नेकपामा रहेका बाबुकाजी प्रधानदेखि गणतन्त्रकै पक्षमा होमिएका पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता नारायणकाजी प्रधान, सांसद पम्फा भुसालको उपस्थिति थियो ।
यसैगरी, नेकपाका नेता एवं पूर्वमन्त्री रघुजी पन्त, प्रदेश सांसद माधव पौडेल, चेतनाथ सञ्जेललगायत उपस्थिति थिए ।
त्यस्तै, जिल्लास्थित सरकारी निकाय, स्थानीय निकाय प्रमुख, उपप्रमुख, अध्यक्ष, वडाअध्यक्ष, वडा सदस्य, कार्यकर्तालगायत सहभागी रहेको सिलवालका निजी सचिव राजेन्द्र न्यौपानेले जानकारी दिए ।
एकता र चाडवाडले दिएको सुखद सन्देश आदान प्रदान गर्न चियापान कार्यक्रम आयोजना गरिएको सांसद सिलवालले जानकारी दिए ।
जेरी, भटौरा, तरकारी र चिया खुवाइएको चियापान कार्यक्रमका आगन्तुकलाई सिलवाल र पत्नी तथा अन्य नेता–कार्यकर्ताले प्रवेशद्वारबाटै स्वागत गरेका थिए ।चियापानका कारण शनिबार गोदावरी सातदोबाटो रुटमा साँझसम्म सवारी जाम भएको थियो ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2qtx5YK
No comments:
Post a Comment