काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) बीचको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
दुई अध्यक्षबीच महाराजगंजस्थित होटल ला शेर्पामा मंगलबार पार्टी एकताका विषयमा छलफल भएको थियो । सो छलफल सकारात्मक भएको र एकीकरणका विषय लगभग अन्तिम अवस्थामा रहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कुन मोडालिटीबाट एकता गर्ने भन्ने विषयमा नेताहरूबीच छलफल जारी छ ।
सोबारे टुंगो लागेको छैन । तर, महाधिवेशनमार्फत दुई अध्यक्षले पार्टी एकता भएको घोषणा गर्ने गरी तयारी अघि बढिरहेको राप्रपा स्रोतले बतायो । केही प्राविधिक विषयलाई समेत टुंग्याएर महाधिवेशनमार्फत एकता घोषणा गर्ने तयारी भइरहेको हो ।
यस्तै, समान विचार बोकेका अन्य दलहरूसँग पनि एकताका विषयमा छलफल गर्ने दुई नेताबीच सहमति भएको श्रेष्ठले जानकारी दिए । राप्रपा प्रजातान्त्रिकका प्रवक्ता मोहन गुरुङले दुई पक्षबीचको एकता वार्ता सौहार्दपूर्ण भएको जनाए ।
२०७३ मंसिरमा पार्टी एकीकरण गरेको राप्रपाले २०७३ फागुनमा एकता महाधिवेशन गरेको थियो । एकीकरणको एक वर्ष नपुग्दै २२ भदौ २०७४ मा राप्रपा पुनः विभाजित भएको थियो । प्रतिनिधिसभा निर्वाचनअघि विभाजित भएपछि राप्रपाले संघीय संसदमा राष्ट्रिय दलको मान्यतासमेत पाएको छैन । हाल राप्रपा, राप्रपा प्रजातान्त्रिक र एराप्रपा राष्ट्रवादीमा रहेका असन्तुष्ट पक्षले भने छुट्टै भेला गर्दै आएका छन् ।
from Rajdhani Daily https://ift.tt/2zA5LfP
No comments:
Post a Comment