विस्थापितले घर बनाउने जग्गामा प्रसारण लाइन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 7, 2018

विस्थापितले घर बनाउने जग्गामा प्रसारण लाइन

 

 

बेत्रावती।  विनाशकारी भूकम्पका कारण आवासमा क्षति पुग्नुका साथै बस्तीसमेत बगाएपछि विस्थापित रसुवा डाँडागाउँका २४ परिवारका लागि घर बनाउन खरिद गरिएको जग्गामा विद्युतीय प्रसारण लाइन परेपछि पुनर्निर्माण अन्योल भएको छ ।

रसुवाको साबिक डाँडागाउँ गाविस वडा नं ८ र ९ बाट विस्थापित भएकामध्ये २४ परिवारलाई घर बनाउन नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा खरिद गरिएको जग्गा प्रसारण लाइनको क्षेत्रमा परेको हो । माथिल्लो त्रिशूली थ्री ‘ए’बाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जडानका लागि लैजाने १३२ केभी डबल सर्किट प्रसारण लाइनको तारमुनि उक्त जग्गा परेपछि पीडित परिवार घर बनाउनबाट बञ्चित भएका हुन् ।

गत २७ मंसिरमा स्थानीय मैयाकुमारी भट्टसँग खरिद गरिएको चार रोपनी १० आना जग्गा प्रसारण लाइनको दायाँबायाँको नौ÷नौ मिटरको प्रभावित क्षेत्रमा परेकाले घर बनाउन नपाएको विस्थापित भीमबहादुर तामाङको गुनासो गरे । उनका अनुसार उक्त जग्गा स्थानीय प्रभावित बासिन्दाले छनोट गरेकाले प्राधिकरणका प्रमुख नापी अधिकृत कमल घिमिरे र नापी अधिकृत कृष्ण थापाले अनुगमन गरी ‘उपयुुक्त’ रहेको भन्दै खरिदका लागि स्वीकृत दिएका थिए । ‘आवास निर्माणका लागि विस्थापित बासिन्दाले जग हाल्न थालेपछि थ्री ‘ए’ले सो स्थानमा प्रसारण लाइन पर्ने भएकाले काम रोक्न निर्देशन दिएकाले घर बनाउन नपाएका हौँ,’ तामाङले भने, ‘अब के गर्ने भनेर प्रशासन कार्यालय (रसुवा) मा निवेदन दिएका छौं ।’

१२ वैशाख २०७२ को भूकम्पले घरमा क्षति पु¥याएको र उनीहरूको नाममा रहेको जग्गा पहिरोले बगाएपछि सो स्थानमा जग्गा खरिद गरेका २४ सहित ३ सयभन्दा बढी विस्थापित परिवार हाल रसुवाको खाल्टे बगरमा अस्थायी टहरामा बसोबास गर्दै आएका छन् ।

विस्थापित परिवारका लागि खरिद गरिएकोे जग्गा प्रसारण लाइनमा परेपछि अन्योल भएकाले समस्या समाधानका लागि छलफल भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार पुनर्निर्माणका प्राविधिकले स्थलगत अनुगमनका क्रममा प्रभावकारी भूमिका निर्वाह नगरेको र जग्गादाताले समेत झुक्याएकाले उत्पन्न समस्या समाधानका लागि प्रयास भइरहेको छ ।

प्रसारण लाइनमा पर्ने जग्गाका लागि थ्री ‘ए’ले गत वर्ष भदौमा राजपत्रमा सूचना जारी गरिसकेको जनाएको छ । जग्गा बिक्री गर्ने भट्टले प्रसारण लाइनका लागि जारी भएको सूचना आफूलाई थाहा नभएको बताए । उक्त स्थानमा प्रसारण लाइन निर्माणका लागि खम्बा ठड्याउने काम सुरु हुन बाँकी छ । प्रसारण लाइनमा पर्ने जग्गाको प्राधिकरणले केही रकम क्षतिपूर्ति दिने भए पनि मालपोतमा लगत कट्टा तथा कैफियत नहुने हुँदा सहजै जग्गापास भएको थियोे ।

गत २७ मंसिरमा नुवाकोट जिल्ला मालपोत कार्यालयबाट जग्गाको स्वामित्व हस्तान्तरण गरी लालपुर्जा वितरण र जग्गाधनीलाई चेक प्रदान गर्न आयोजित कार्यक्रम रसुवाको सदरमुकाम धुञ्चेमा राखिएकाले लालपुर्जा लिन पनि पीडित धुञ्चे नै जान बाध्य भएका थिए ।

रसुवाका जिल्ला आयोजना कार्यान्वय एकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय प्रमुख कृष्णकान्त उपाध्यायका अनुसार प्रभावितले छनोट गरेको जग्गामा प्रतिपरिवार २ लाख रुपैयाँका दरले ४८ लाख रुपैयाँ उपलब्ध गराइएको थियो । ‘केन्द्रबाट आएको टोलीले सो जग्गा अनुगमन गरी स्वीकृत दिएको हो,’ उनले भने, ‘जिल्लाको सदरमुकाममा लालपुर्जा हस्तान्तरण कार्यक्रम आयोजना गरिएकाले जग्गाको प्रकृतिको सम्बन्धमा जिल्ला कार्यालयको भूमिका नै भएन ।’



from Rajdhani Daily https://ift.tt/2APb7We

No comments:

Post a Comment

Post Bottom Ad

Pages