पोखरा महानगरपालिकाका जनप्रतिनिधिले जनताले तिरेको करबाट विदेश भ्रमण नगर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधिले आधा दर्जनभन्दा बढी देश भ्रमण गरे पनि महानगरपालिकाको रकम खर्च गरेका छैनन् ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीसहित विदेश भ्रमणमा जाने जनप्रतिनिधिले आफ्नै वा सम्बन्धित आयोजकको खर्चमा विदेश भ्रमण गर्ने गरेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले विदेश भ्रमणबापत कुनै जनप्रतिनिधिले महानगरबाट रकम नलिएको बताए ।
‘अहिलेसम्म जति पनि विदेश भ्रमण भएका छन्, त्यसमा महानगरको पैसा खर्च भएको छैन,’ उनले भने, ‘मेयरसा’ब आफू विदेश जाँदा आफैँ टिकट खरिद गर्नुपर्ने बताउनुहुन्छ, आफू पनि आफैँ किन्नुहुन्छ ।’
जनताले तिरेको करबाट भ्रमणमा खर्च नगर्ने आफ्नो अठोट रहेको र महानगरका अरू जनप्रतिनिधिलाई पनि खर्च गर्न नदिने मेयर जिसीले बताए । जनताले तिरेको कर जनहित र महानगरको बृहत्तर हितमा खर्चिनुपर्ने उनको भनाइ छ । विदेश भ्रमण सकेसम्म कम गर्ने उनले बताए । ‘हामीलाई अवसर आउँदा घुम भनेर जनताले जिताएका होइनन्,’ उनले भने, ‘नगई नहुने ठाउँमा गएका छौँ र भ्रमणलाई सकेसम्म महानगर र नगरवासीको हितमा उपयोगी बनाउने कोसिस गरेका छौँ ।’
मेयरसँगै को–को गए भ्रमण ?
चीनको गोन्जाओमा मेयरसँग वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, वडा नम्बर ६ का अध्यक्ष जगत पहारी, १९ का अध्यक्ष शोभामोहन पौडेल, महानगरका लेखाप्रमुख वसन्तराज सिग्देल र मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिना भ्रमणमा गएका थिए । चीन भ्रमणमा वडा नम्बर २७ का अध्यक्ष खगराज आचार्य महानगरको प्रतिनिधित्व गर्दै एक्लै पनि भ्रमणमा गएका छन् । जापानको कोमागानेमा मेयरसँग वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा, ११ का मोहन बास्तोला, १५ का प्रकाश पौडेल, १५ का जीवन आचार्य, नगर सदस्यहरू अञ्जु क्षेत्री र किरण गौतम, वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले र महेन्द्र गोदार सहभागी थिए । यसबीचमा महानगरकी उपमेयर मञ्जु गुरुङले दुईवटा विदेश भ्रमण गरेकी छन् । त्यसमा पनि एउटा निजी भ्रमण रहेको छ ।
पोखरासँग सम्बन्ध स्थापित गर्न चाहने धेरै
पोखरा महानगरका प्रमुख कार्यकारी अधिकृत शेषनारायण पौडेलले पोखरासँग विश्वका धेरै सहरले सम्बन्ध स्थापित गर्न खोजिरहेको बताए । यद्यपि, महानगरले आवश्यकता हेरेर र नगई नहुने ठाउँमा मात्र सहभागिता जनाउने गरेको उनको दाबी छ । ‘पोखराजस्तो प्राकृतिक रूपले सुन्दर सहरसँग जोडिन नखोज्ने को होला ?’ उनले भने । धेरैले यहाँ घुम्न पाइने ठानेर पनि सम्बन्ध गाँस्न खोज्ने गरेकाले पोखराले ती स्थानबाट सिक्ने र फाइदा लिने भए मात्र जाने निर्णय लिने गरेको उनले बताए ।
भ्रमणबाट के भयो उपलब्धि ?
मेयर मानबहादुर जिसीले आफू निर्वाचित भएपछि चीन, कोरिया, श्रीलंका, ताइवानको भ्रमण गरेका छन् । यी देशबाट आफूले चाहेमा र इच्छाशक्ति राखेमा गर्न सकिने रहेछ भन्ने प्रेरणा मिलेको बताए । त्यहाँ स्रोत कसरी जुटाइन्छ, उपयोग कसरी हुन्छ र विकास कसरी भएको छ भन्ने विषयमा जानकारी हासिल भएको उनको भनाइ छ । । ‘अन्त नभएको कुरालाई पनि कसरी गर्छन् र हामीले भएकोलाई पनि उपयोग गर्न सकेका छैनौँ भन्ने हो,’ उनले भने, ‘हामीकहाँ त्यसरी गर्न नसकिने पनि होइन, तर समय लाग्छ, म गरेर देखाउँछु भन्ने इच्छाशक्ति छ र गर्छु पनि ।’ जनताको अपेक्षाअनुरूप काम गर्न नसकेको स्वीकार गरेका उनले सबै कुराको परिणाम अहिले नै आइहाल्छ भन्ने नभएको पनि सुनाए । महानगरमा केही राम्रा कामको थालनी गरेको र त्यसको परिणाम राम्रो निस्कने उनको दाबी छ ।
मेयरका ७ भ्रमण
मेयर जिसीले आफ्नो १९ महिनाको अवधिमा सातवटा वैदेशिक भ्रमण गरेका छन् । उनले गत भदौमा कोरिया, कात्तिकमा श्रीलंका, पुसमा चीन, जेठमा पुनः चीन, असोजमा स्विट्जरल्यान्ड (व्यक्तिगत) र ताइवानको भ्रमण गरेका हुन् । ताइवान भ्रमणमा मेयर जिसीसँग तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेल, वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामा, वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोला, वडा नम्बर २४ का ओम सुवेदी र महानगरकै कर्मचारी शर्मिला गौतम सामेल भए ।
The post पोखरा महानगरका जनप्रतिनिधिको प्रतिबद्धता: जनताको करमा विदेश भ्रमण नगर्ने appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2PNaTHm
No comments:
Post a Comment