काठमाडौ । सरकार र सरोकारवाला निकायले काम गर्ने स्थल कामदारमैत्री बनाउने साझा प्रतिबद्धता जनाएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा सरकार र व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले कार्यक्षेत्र स्वस्थ र सुरक्षित बनाउन विशेष कार्ययोजना ल्याएर अघि बढ्ने साझा प्रतिबद्धता जनाएका हुन् ।
श्रम, तथा रोजगार समाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले श्रमिकले उचित वातावरण पाए मात्र उत्पादन बढ्ने भएकाले यसतर्फ सरकार सचेतक रहेको बताए । उनले रोजगारदाता, उद्योगी, व्यवसायी सबै कार्यक्षेत्र स्वस्थ र सुरक्षित बनाउन प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । सामुदायिक रेडियो प्रसारक संघ अकोरावले आइतबार काठमाडौंमा आयोजना गरेको ‘कार्य क्षेत्रमा कामको सुधारात्मक अवस्था’ विषयक नीतिगत छलफलमा महाशाखा प्रमुख घिमिरेले यस्तो बताएका हुन् । उनले श्रमिक पनि पुँजी भएकाले खुसी श्रमिकले मात्रै उत्पादन बढाउन सक्छन् भन्नेमा उद्योगी व्यवसायीले ध्यान दिनुपर्ने बताए ।
यसैगरी, उनले कार्यक्षेत्रमा कामको वातावरण, स्वास्थ्य सुरक्षाको अवस्था बुझ्न सरकारले अनुगमन सुरु गरेको पनि जानकारी दिए । उनले सरकारले चालू आर्थिक वर्षको असोज मसान्तसम्म सरकारले कुल २३३ वटा प्रतिष्ठानमा गरेको अनुगमनका क्रममा मुलुक भरका १० वटा प्रतिष्ठानमा औद्योगिक दुर्घटना भएको पाइएको पनि जानकारी गराए ।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं महासंघको रोजगारदाता परिषद्का उपाध्यक्ष भरतराज आचार्यले श्रम ऐन र सामाजिक सुरक्षा ऐन सबै निकायको सहमतिमा आएकाले यसलाई सबै उद्योगले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले कार्यक्षेत्रमा कामदारमैत्री वातावरण बन्दै गएको र उद्योगले श्रमिकलाई पुँजीका रूपमा हेर्न थालेको बताए ।
उनले कार्य क्षेत्रलाई स्वस्थ र सुरक्षित बनाउन आफूहरू प्रतिबद्ध रहेको पनि बताए । नेपाल ट्रेड युनियन महासंघ जिफन्टका उपाध्यक्ष एवं श्रम सम्बन्ध परिषद्का संयोजक दीपक पौडेलले श्रम ऐन र सामाजिक सुरक्षा ऐन आइसकेपछि कार्यक्षेत्रमा अहिले सुधार हुँदै गएको बताए । यसलाई पूर्ण कार्यान्वयमा ल्याउनका लागि सरकार, व्यवसायी र ट्रेड युनियन मिलेर अघि बढ्नुपर्ने बताउँदै उनले फरकफरक धारका ट्रेड युनियन पनि यस विषयमा एउटै धारमा आएर काम गरिरहेको जानकारी दिए ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2KfKKM2
No comments:
Post a Comment