काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका एक तिहाइ मानिस आफ्नो दैनिक जीवनयापनका लागि चाहिने ऊर्जाका निम्ति कोइला, दाउरा तथा गुइँठा जस्ता जैविक वस्तुमा निर्भर छन् । घरभित्रको प्रदूषण सबैभन्दा बढी मानव स्वास्थ्यका लागि जोखिमयुक्त छ ।
विकासशील देशमा तीन अर्ब मानिसले खान पकाउन दाउरा प्रयोग गर्ने गरेका छन् । दाउरा तथा गुइँठा प्रयोग गरी चुलोमा आगो बालेर खाना पकाउनेलगायतका काम गर्दा धुँवा बढी निस्कने र घरभित्रको वातावरणमा धुँवा निष्कासन (भेन्टिलेसन) व्यवस्था नहुँदा मानव स्वास्थ्यमा बढी असर पुग्ने डा. खेम कार्की बताउँछन् । घरभित्रको प्रदूषणका कारण विशेषगरी महिलाहरू बढी जोखिममा पर्ने गरेको अध्ययनले देखाएको छ ।
‘गृहिणी महिला तथा घरभित्रै धेरै समय बिताउने बालबालिकाले श्वासप्रश्वाससँगै हानिकारक धुँवा लिन बाध्य छन्,’ डा. कार्कीले भने, ‘जसका कारण उनीहरू गम्भीर स्वास्थ्य समस्याको जोखिममा परिरहेका छन् ।’ विश्व स्वास्थ्य संगठनकै एक रिपोर्टअनुसार अफ्रिका र एसियाका महिलाले औसतमा दिनमा ३ देखि ५ घण्टा खाना पकाउने चुलोकै अगाडि भान्सामा बिताउँछन् । चुलोमा बालिने दाउरा, कोइला तथा गुइँठालगायतका वस्तुबाट निस्कने हानिकारक धुँवामा विषाक्त कण तथा कार्बन मोनोअक्साइड, बेन्जित था फर्माल्डिहाइड जस्ता मानव स्वास्थ्यमा निकै खराब असर पु¥याउने हानिकारक कण हुने गर्दछन् ।
‘दाउरा, गुइँठा मात्र होइन, घरभित्रको प्रदूषणका लागि तेल, मट्टीतेल, ग्याँस, तमाखु, चुरोटजस्ता जलाउने वस्तुदेखि काठ, कार्पेट जस्ता निर्माण सामग्री र विभिन्न खाले घरायसी वस्तु तथा रसायनसमेत जिम्मेवार हुन्छन्,’ वायु प्रदूषणको अध्ययन गरिरहेका डा. केयुर गौतमले भने, ‘घरभित्रका यस्ता प्रदूषणका कारक तŒवले निमोनिया, फोक्सोको क्यान्सर तथा विभिन्न खाले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउन भूमिका निर्वाह गर्छन् ।’ घरभित्रको वातावरण प्रदूषकका कारण दम, ब्रोंकाइटिस, क्षयरोग, रतन्धो, हृदयरोग तथा महिलामा कम तौलको बच्चा जन्मिने जस्ता समस्यासमेत देखिने उनले बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार घरभित्र दाउरा, गुइँठालगायतका जीवांश इन्धन बाल्दा निस्कने धुँवाकै कारण उत्पन्न हुने रोगबाट विश्वमा हरेक वर्ष २० लाख मानिसले ज्यान गुमाउने गरेका छन् । यस्तो मृत्युमध्ये ४४ प्रतिशत निमोनियाका कारण, ५४ प्रतिशत क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी रोगका कारण तथा २ प्रतिशत फोक्सोको क्यान्सरबाट हुने गरेको तथ्यांकले देखाउँछ । श्वासप्रश्वाससम्बन्धी रोगबाट बर्सेनि ज्यान गुमाउने पाँच वर्षमुनिका बालबालिकामध्ये आधाजसोको मृत्युको कारण घरभित्रको वायु प्रदूषण नै हुने गरेको पाइएको छ ।
विश्वमा हरेक वर्ष फोक्सोको क्यान्सरबाट ज्यान गुमाउनेमध्ये साढे १ प्रतिशत रोगीको मृत्यु घरभित्रको धुँवामा हुने कार्सिनोजेनकै कारण भएको हुन्छ । विज्ञका अनुसार परम्परागत इन्धनमा खाना पकाउने महिलामा फोक्सोसम्बन्धी रोगको जोखिम सफा ऊर्जा प्रयोग गर्ने महिलामा भन्दा तीन गुणा बढी हुन्छ । यद्यपि, घरभित्रको प्रदूषणको जोखिम पुरुषमा पनि उत्तिकै रहन्छ । फोक्सोका रोगको जोखिममा परेका पुरुषमा घरभित्रको धुँवाजन्य प्रदूषणले भूमिका खेल्ने विज्ञको भनाइ छ ।
नेपालको सन्दर्भमा ८६ प्रतिशत जनताले खाना पकाउन दाउरा, गुइँठा जस्ता इन्धन प्रयोग गर्ने गरेका छन् । पछिल्लो आर्थिक सर्वेक्षणले नेपालमा कुल ऊर्जा खपतमा परम्परागत ऊर्जाको मात्रा ८६ दशमलव १ प्रतिशत रहेको देखाएको छ । ऊर्जा खपतमध्ये केवल शून्य दशमलव ७७ प्रतिशत मात्र स्वच्छ नवीकरणीय ऊर्जा छ । कुल ऊर्जा खपतमध्ये दाउराबाट ७६ दशमलव ९१, कृषिजन्य अवशेषबाट ३ दशमलव ५ र पशुजन्य अवशेषबाट ५ दशमलव ६९ प्रतिशत रहेको देखिएको छ ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2Bhn7QJ
No comments:
Post a Comment