काठमाडौं। विगत तीन वर्षदेखि बन्द अवस्थामा रहेको नयाँ बानेश्वरको पाँचचारे होटल एभरेस्ट पुनः सञ्चालनमा आउने भएको छ । सो होटलको लगानीका विषयमा भएको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेका कारण २०७२ सालको वैशाखमा गएको विनासकारी भूकम्पपछि पूर्ण रूपमा बन्द भएको थियो ।
१२ वैशाख २०७२ मा गएको भूकम्पबाट सो होटलमा सामान्य रूपमा क्षति पुगेको थियो । भूकम्पपछि पनि त्यहाँ भीआईपी पाहुनाहरू बसेका थिए । तर, पुनः २९ वैशाखमा दोस्रोपटक सिन्धुपाल्चोक केन्द्र बनाएर गएको भूकम्पको पराकम्पपछि एभरेस्ट होटलमा बस्दै आएका पाहुनालाई अन्य ठाउँमा सारेर अब बस्न नमिल्ने भन्दै रातो स्टिकर टाँसिएको थियो । त्यसअघि निकै धेरै पाहुनालाई राखेर सेवा दिँदै आएको एभरेस्ट होटल एक्कासी बन्द भएपछि सो होटलमा कार्यरत सयौं कामदारहरूले आफ्नो रोजगारी गुमेको भन्दै आन्दोलन गरेका थिए । आन्तरिक सेयर विवादका कारण बन्द गर्ने मनस्थितिमा पुगेका होटल सञ्चालकले नै भूकम्पपछि आएको अनुगमन टोलीलाई रातो स्टिकर टाँस्न लगाएको आरोप ती कामदारले लगाएको थिए । रातो स्टिकर टाँसिएको करिब तीन वर्षपछि बल्ल पुनर्निर्माण कार्य सुरु गरिएको छ । अहिले धमाधम होटल रिनोभेसन गर्ने र रंगरोगन गर्ने काम जारी रहेको छ । आगामी ६ महिनामा पुनर्निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा ल्याउने लक्ष्य सो होटलले लिएको छ । एभरेस्ट होटल व्यवस्थापनले अहिले आरएस निर्माण सेवालाई पुनर्निर्माणका लागि ठेक्का
दिएको छ ।
तोकिएको समयमा नै निर्माण सम्पन्न भए आगामी नयाँ वर्ष २०७६ साल देखि बन्द अवस्थामा रहेको एभरेस्ट होटल पुनः सञ्चालनमा आउनेछ । त्यसबेला एभरेस्ट होटल बन्द हुनुको भित्री कारण भूकम्प मात्र थिएन । भूकम्पअघि नै भएको सेयर हिस्सा विवादका कारण होटल सञ्चालक बन्द गर्ने मनस्थितिमा पुगिसकेका थिए । त्यतिबेला भूकम्पका कारण रातो स्टिकर टाँसिएपछि होटल बन्द गर्न सञ्चालकलाई सहज रूपमै बाटो खुला भएको थियो । काठमाडौं जिल्ला अदालतबाट सुरु भएको होटलको सेयर विवाद मुद्दा पुनरावेदन हुँदै सर्वोच्चसम्म पुगेर टुंगिएको थियो ।
त्यतिबेला होटलका मुख्य लगानीकर्ता भारतीय नागरिक मकबुल अहमद लारी थिए । उनकै नेतृत्वमा होटल चलिरहेको थियो । थोरै सेयर हिस्सा आफ्ना भतिजा–बुहारीलाई दिएर उनले बिजनेस पार्टनरका रूपमा लिएर होटल चलाउँदै आएका थिए । सोही क्रममा २०६१ सालको ४ जेठमा जब लारीको निधन भयो, त्यसपछि होटलको सेयर हिस्साबारे विवाद सिर्जना भयो । बाबुको निधन भएपछि मकबुलका छोरा मुजब्फर लारी भारतबाट नेपाल आए र बुवाको नाममा भएको सेयर आफ्नो नाममा सारिदिन बुबाका बिजनेस पार्टनरसँग आग्रह गरे । तर, मकबुलले आफ्नो निधन हुनुअघि नै आफ्नो नामको सेयर आफूहरूलाई बेचिसकेको बताएपछि छोरा मुजब्फर दाजुभाउजू (ठूलाबाका छोराबुहारी) को विरुद्धमा अदालत गएका थिए । किर्ते गरेर आफ्नो बुवाको नामको सेयर आफ्नो नाममा पारेको दाबीसहित जिल्ला अदालत पुगेका मुजब्फरको विपक्षमा अदालतले फैसला ग¥यो । त्यसपछि उनी पुनरावेदन गए, त्यहाँ पनि उनको पक्षमा फैसला भएन ।
पुनरावेदन अदालतले पनि आफ्नो विपक्षमा फैसला सुनाएपछि उनी सर्वोच्च अदालत गए । त्यहाँ पनि उनको विपक्षमा नै फैसला आयो । मुद्दा मुजब्फरको विपक्षमा आएको केही समयमा नै उनका दाजु, जसको पक्षमा फैसला आयो, उनी (मस्कुर अहमद) भने लागूऔषध अपराधसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको थियो । सन् १९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २५० किलो चरेस मसकुरले पठाएको निष्कर्ष निकाल्दै जर्मन प्रहरीले कारबाहीको अनुरोध गर्दै पत्र पठाएको थियो । लामो समय फरार रहेका उनलाई गत वर्ष मात्रै प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको थियो । आन्तरिक सेयर विवादमा रुमलिएको एभरेस्ट होटल पुनः सञ्चालनका लागि विगत ६ महिनाअघि मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागबाट सिफारिस प्राप्त भएको थियो । २०७२ सालको १२ वैशाखमा गएको भूकम्पपछि अनुगमनका लागि पुगेको पर्यटन मन्त्रालयको एक टोलीले सो होटलमा हरियो स्टिकर लगाएको थियो । सामान्य क्षति भएको भन्दै मन्त्रालयले हरियो स्टिकर लगाएका कारण भूकम्पका बेला आएका विभिन्न देशका पर्यटक एभरेस्ट होटलमै बसेका थिए । तर, २९ वैशाखमा फेरि गएको पराकम्पपछि विभागको सोही अनुगमन टोलीले अब विदेशी पर्यटकलाई राख्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको थियो ।
त्यसपछि लामो समयसम्म होटल व्यवस्थापन समूह सम्पर्कमा नआएको पर्यटन विभागका निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए । लामो समयपछि बल्ल विगत ६ महिनाअघि मात्रै होटल व्यवस्थापन पुनर्निर्माण गर्न इच्छुक रहेको जानकारी गराउन पर्यटन विभाग पुगेको थियो । पुनर्निर्माण गर्नका लागि अनुमति दिने सम्बन्धमा आवश्यक निर्णय गर्न भन्दै ६ महिनाअघि विभागले भवन विभागमा सिफारिस गरेको निर्देशक अधिकारीले बताए । रातो स्टिकरपछि पुनर्निर्माण गर्न मिल्ने÷नमिल्ने निर्णय गर्ने भवन विभागले हो, त्यसबेला पनि भवन विभागले तोक दिएकै कारण आफूहरूले रातो स्टिकर लगाएको विभागले जनाएको छ । भवन विभागले हरियो स्टिकरबाहेकका भवन पुनर्निर्माण गर्छु भनी आएमा आफूलाई पठाइदिने भनेर पत्रचार ग¥यो, पछि होटलबाट पेस भएको कागजातसहित आफूहरूले निर्णयका लागि भवन विभाग नै पठाएको विभागको दाबी छ ।
from Rajdhani Daily https://ift.tt/2ALc41Q
No comments:
Post a Comment