निर्धारित समयमै सक्ने आयोजनाको लक्ष्य, मुआब्जा पुनर्मूल्यांकन गर्न स्थानीयको माग
कालीगण्डकी कोरडोर प्रसारण लाइन विस्तारले गति लिएको छ । म्याग्दी र मुस्ताङका विभिन्न आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा यसै वर्ष जोड्ने गरी कोरडोर विस्तारलाई तीव्रता दिएको हो ।
करिडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रसारण लाइन र सब–स्टेसन निर्माण ६० प्रतिशत सकिएको छ । यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुस्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सब–स्टेसन निर्माण भइरहेको छ ।
दानामा ७० र खुर्कोटमा ६० प्रतिशत निर्माण सकिनुका साथै टावर निर्माण र तार तान्ने काम भइरहेको आयोजनाका सहायक निर्देशक रमेश खड्काले जानकारी दिए । ‘दाना–खुर्कोटसम्म ११४ टावर निर्माण गर्नुपर्नेमा ६५ वटा निर्माण भइसकेको छ, २० भन्दा बढी स्थानमा फाउन्डेसन तयार भएका छन्, तिप्ल्याङ, महभिर र धाइरिङबाट तार तान्ने थालिएको छ,’ सहायक निर्देशक खड्काले भने ।
करिडोर विस्तारको जिम्मा जेभी टाटा एन्ड चिन्ट इलेक्ट्रिक कम्प्नीले सन् ०१६ मा लिएसँगै काम सुरु गरेको थियो । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहे पनि सरकारी प्रक्रिया, मुआब्जालगायत विवाद भएपछि निर्धारित मितिमा सम्पन्न भएको थिएन । त्यसपछि ६ महिना समय थप भएको थियो ।
थपिएको समयभित्र काम सक्छौँ : आयोजना
करिडोर विस्तारमा एसियाली विकास बैंकले २ अर्ब ७५ करोड ऋण सहयोग गरेको थियो । ‘अहिलेसम्म करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ, केही ठाउँमा स्थानीयको विवादका कारण काम हुन नसके पनि करिडोर निर्माणले गति लिएको छ, थप भएको समयभित्रै सम्पन्न गर्नेतर्फ हाम्रो जोड छ,’ आयोजनाका प्रमुख चन्दनकुमार घोषले भने ।
कालीगण्डकी र यसका सहायक खोलानालाबाट विद्युत् उत्पादनको लाइसेन्स लिएर बसेका प्रसारण लाइन निर्माणले गति लिएसँगै पूर्वाधार निर्माणमा जुटेका छन् । दाना–खुर्कोट प्रसारण लाइनबाट प्रभावित अन्नपूर्ण गाउँपालिका–६ पोखेरेबगरका स्थानीयले घर र खेतीयोग्य जमिन प्रभावित हुने गरी प्रसारण लाइन निर्माण गर्न लागिएको भन्दै प्रसारण लाइनको टावर सार्न माग गरेका छन् । केही व्यक्तिको घर र सम्भावित बस्ती विकासको सम्भावना रहेको ठाउँमा टावर निर्माण र लाइन विस्तार गर्न लागेको स्थानीयको आरोप छ । उनीहरूले पोखरेबगरको बस्ती छलेर टावर निर्माण गर्न माग गरेका छन् ।
जग्गा अधिकरण अन्तिम चरणमा
आयोजनाले प्रसारण लाइनको टावर रहने जग्गा अधिग्रहणका लागि साढे सात करोड रुपैयाँभन्दा बढी मुआब्जा वितरण गरिसकेको छ । टावर निर्माणका लागि ९३ रोपनी जग्गा अधिग्रहण गर्दा मुआब्जा मूल्यांकन समितिको निर्णयअुनसार, म्याग्दीमा ९० जनालाई ४ करोड २० लाख र पर्वतमा ८८ जनालाई ३ करोड ७० लाख मुआब्जा दिनुपर्छ । तर, अहिलेसम्म म्याग्दीका ७० जनाले कुल साढे ३ करोड र पर्वतका ७५ जनाले ३ करोड मुआब्जा बुझेको आयोजनाका लेखापाल गोविन्दप्रसाद शर्माले जानकारी दिए ।
चार हजारभन्दा बढी रूख काटिँदै
आयोजनाअन्तर्गत म्याग्दी र खुर्कोटका ४ हजार २ सय ८ वटा रूख काटिने भएको छ । रूख काटेबापत आयोजनाले प्रतिरूख २५ वटा बिरुवा रोपण गर्ने जनाइएको छ । २ दशमलव ५८ हेक्टर वन सट्टा भर्ना स्वरूप वृक्षरोपणका लागि आवश्यक पर्ने भए पनि अहिलेसम्म उपयुक्त जग्गा प्राप्त हुन नसकेको आयोजनाका सहायक प्रशासकीय अधिकृत जगदीश लामिछानेले बताए ।
यसरी पाउँछ पूर्णता
विद्युत् प्राधिकरणले म्याग्दीको दानादेखि नवलपरासीको बर्दघाटसम्म जोड्ने १४३ किलोमिटर लामो कालीगण्डकी करिडोर प्रसारण आयोजनाको पहिलो चरणमा दाना–खुर्कोटमा सब–स्टेसन र ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माणअघि बढाएको छ । यसलाई बर्दघाटसम्म जोड्न अन्य तीन चरणका कामसमेत अघि बढाएको छ । खुर्कोटदेखि न्यु बुटवल (बडेरा) ८८ किलोमिटर दूरीको प्रसारण लाइनको सर्भेको काम सकिएको छ भने बडेरामा सब–स्टेसन निर्माणका लागि जग्गा अधिकरण गरी काम सुरु भएको छ ।
बडेरादेखि बर्दघाटसम्मको १६ किलोमिटर लामो प्रसारण लाइन र सब–स्टेसन निर्माण भने टेन्डर मूल्यांकन र वातावरणीय प्रभाव अध्ययनका क्रममा रहेको आयोजनाका सहायक निर्देशक खड्काले जानकारी दिए ।
The post कालीगण्डकी करिडोर प्रसारण लाइन विस्तार तीव्र appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2QONNk4

No comments:
Post a Comment