सुदूरपश्चिममा भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने क्रम बढ्दै गएको छ । ६ वर्षमा भ्रष्टाचारविरुद्ध साढे तीन हजारभन्दा बढी उजुरी परेका छन् ।
कञ्चनपुरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले मुद्दा दर्ताको क्रम बढिरहेको जनाएको छ । आयोगका कामु कार्यालय प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले अख्तियारप्रति सर्वसाधारणको विश्वास बढेको बताए । जसका कारण उजुरी आउने क्रम पनि बढेको उनको भनाइ थियो ।
सोमबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा ढकालले सुदूरपश्चिममा परेका उजुरी र मुद्दा फस्र्योटका विषयमा जानकारी दिएका हुन् । उनले ६ वर्षमा तीन हजार ६ सय ५२ मुद्दा फस्र्योट गरिएको बताए ।
अख्तियारले चालू आर्थिक वर्षका एक सय २१ मुद्दा फस्र्योट गरेको छ । त्यस्तै, गत आर्थिक वर्षमा चार सय ११ मुद्दा किनारा लगाएको थियो । आयोगको तथ्यांकअनुसार, आर्थिक वर्ष ०७०/७१ मा दुई सय ३२, आर्थिक वर्ष ०७१/७२ मा एक हजार एक सय ३४ र आर्थिक वर्ष ०७२/७३ मा एक हजार ४३ मुद्दा किनारा लागेका थिए । त्यस्तै, ०७३/७४ मा ६ सय ९५ र ०७४/७५ मा चार सय ११ मुद्दा फस्र्योट गरिएका हुन् ।
कुन जिल्लामा कति मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालयको तथ्यांकअनुसार, पहाडभन्दा तराईका जिल्लामा उजुरी धेरै आएका छन् । सबैभन्दा बढी कैलबाली र सबैभन्दा कम दार्चुलामा उजुरी परेका छन् ।
यो अवधिमा कैलालीमा एक हजार दुई सय २१ उजुरी परेका छन् । तीमध्ये एक हजार ३३ उजुरी फस्र्योट गरिएको आयोगले जनाएको छ । यस्तै, कञ्चनपुरबाट एक हजार ४४ उजुरी परेका छन् । जसमा नौ सय ३३ उजुरी फस्र्योट भएका छन् ।
यस्तै, डोटीमा तीन सय ४१ मध्ये तीन सय ११, अछाममा दुई सय ११ मध्ये एक सय ७४ उजुरी फस्र्योट भएका छन् । आयोगका अनुसार, बझाङका एक सय १६ उजुरी आएका थिए । जसमा एक सय ६ उजुरी फस्र्योट भएका छन् ।
यसैगरी, दार्चुलाका दुई सय ६१ मध्ये दुई सय १४, बैतडीका चार सय ९५ मध्ये तीन सय ९५ उजुरी फस्र्योट भएको आयोगले जनाएको छ । अछामका दुई सय ४३ मध्ये एक सय ८० र डडेल्धुराका तीन सय ५० मध्ये दुई सय ११ उजुरी फस्र्योट भएको आयोगको तथ्यांक छ ।
The post सुदूरपश्चिममा भ्रष्टाचारका साढे तीन हजार मुद्दा appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2SDEoZZ

No comments:
Post a Comment