धान रोपाइँको चटारोमा किसान - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 23, 2020

धान रोपाइँको चटारोमा किसान

१० असार, धनगढी । मनसुनी वर्षा भएसँगै कैलाली, कञ्चनपुरलगायतका जिल्लाका किसानलाई बर्खे धान बालीको रोपाइँ गर्ने चटारो बढेको छ । आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतका रूपमा बर्खे धानखेती रहेकाले कोरोना भाइरसको त्रासका बीच धान रोपाइँ गर्ने चटारो बढेको स्थानीय परशुराम चौधरीले बताए।

“जताततै कोरोनाको सन्त्रास छ, तर अहिले खेती नगरे भोलि कसरी जीविका चलाउने भन्ने समस्या आउने भएकाले सामाजिक दूरी कायम गरेर भए पनि खेतीमा लागेका छौँ”, कैलालीको लम्कीचुहा नगरपालिकाका कृषक चौधरीले भने ।

कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान व्यापारीलाई बिक्री गरेर घर खर्चको जोहो गर्ने गरेका छन् । धान रोपाइँ गर्ने, काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग पनि पछिल्ला वर्षमा बढ्दै गएको छ ।

यी औजारको प्रयोगसँगै समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्ने हुँदा रोपाइँ गर्न सहज भएको धनगढी उपमहानगरपालिकाका किसान श्याम रानाले बताए । “खेती गर्न र कृषि उपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर आधुनिक मेसिनको प्रयोग बढ्दा निकै सहज भएको छ”, रानाले भने, “समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।”

वर्षाको पानीले रोपाइँ गरौँला भन्ने आसमा बस्नुपर्ने अवस्थामा रहेका तराईका कृषक दुई दिनयता मनसुनी वर्षा भएपछि हौसिएका छन् । तराईका अधिकांश कृषक सिँचाइको भरपर्दो सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका छन् । प्रदेशका पहाडी क्षेत्रका जिल्लामा भने जेठ महिनादेखि नै रोपाइँ शुरु भएको थियो ।

पहाडी जिल्लाका गाउँबस्तीमा छरछिमेकीले आपसमा मिलेर पालैपालो रोपाइँ गर्नुपर्ने पर्मको प्रचलन छ । पर्मको प्रचलनले रोपाइँ गर्दा सम्बन्धित कृषकलाई नगद खर्च गर्नुपर्ने बाध्यता त्यति नहुने बताइन्छ । तराईका जिल्लामा यस्तो प्रचलन भने त्यति ठूलोरूपमा देखिँदैन । अधिकांशले मजदुर लगाएर रोपाइँ गर्नुपर्ने अवस्था छ ।

पहाडी जिल्लामा रोपाइँ गर्नुपर्ने घरमुलीले आफ्नो रोपाइँको दिन सहभागी हुने रोपाहारका लागि लाउन, बाबर, माणालगायतका डोटेली खानाका परिकार पकाएर खाना र खाजाको व्यवस्था गर्ने गर्दछन् । रोपाइँ गर्ने गोरुका लागि भने जौँ पिँधेर बनाइएको पिठोको बाडी र ढुल्ला बनाएर खुवाउने चलन छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४५० हेक्टरमा धानखेती हुने गरेको छ । यस्तै डोटीमा १० हजार ६७०, डडेलधुरामा छ हजार १३६, अछाममा १६ हजार ५८०, बाजुरामा तीन हजार ३१०, दार्चुलामा चार हजार ४८०, बैतडीमा नौ हजार र बझाङमा सात हजार ११० हेक्टरमा धानखेती हुने गरेको तथ्याङ्क छ । धान उत्पादन बढी हुने कैलाली र कञ्चनपुरबाट पहाडी जिल्लामा आपूर्ति हुने गरेको छ ।

यो प्रदेशमा धानखेती गरिने जग्गामध्ये ५१ प्रतिशत खेतमा सिँचाइ सुविधा भए पनि बाँकी जग्गामा सिँचाइको पर्याप्त सुविधा छैन । यस वर्ष मनसुन जुन १२ देखि प्रवेश गरे पनि पछिल्लो २४ घण्टादेखि सक्रिय भएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालय कैलालीले जनाएको छ ।

कार्यालयका प्रमुख सिङ्गल चौधरीले प्रदेशमा जुन १२ मा मनसुन प्रवेश गरेको भए पनि २४ घण्टादेखि मात्र सक्रिय भएको बताए । मनसुन सक्रिय भएसँगै गएको २४ घण्टामा यहाँ ८३ दशमलव चार मिमी वर्षाको मापन भएको छ ।

सर्जू धानमा आकर्षण

कैलाली र कञ्चनपुर जिल्लामा सर्जू जातको धानखेतीतर्फ कृषकको आकर्षण बढ्दो देखिएको छ । अधिकांश कृषकले सर्जू धानको ब्याड राखेर रोपाइँ गर्ने गरेका छन् । कैलाली र कञ्चनपुर जिल्लामा धानखेती गरिने जग्गामध्ये झण्डै ८० प्रतिशत क्षेत्रफलको जग्गामा सर्जू धानको खेती गर्ने गरिएको कृषकको भनाइ छ ।

अन्य धान बालीको तुलनामा उत्पादकत्व बढी हुने र दाना पनि पुष्ट हुने भई वजन पनि बढी हुने भएकाले सर्जू धानखेती गर्ने गरिएको कृषकको भनाइ छ । किसानलाई यो धानको उन्नत बीउ पाउन भने समस्या हुने गरेको छ । रोपाइँका लागि बीउ राख्ने समयमा बर्सेनि यो धानको बीउको माग ह्वात्तै बढ्ने गरेको छ ।

निजी क्षेत्रका कतिपय बीउ उत्पादक कम्पनीले यो धानको बीउ उत्पादन गरी कारोवार गर्दै आएका छन् । सर्जू धान किसानमाझ लोकप्रिय हुँदा यसको बीउको पनि ठूलो माग रहेको बीउ उत्पादक कम्पनीका विष्णुराज बुर्लाकोटीले बताए ।



from Online Khabar https://ift.tt/3ewjsiX

No comments:

Post a Comment

Post Bottom Ad

Pages