शिक्षकद्वारा राहत कोषमा १५ लाख प्रदान - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 23, 2020

शिक्षकद्वारा राहत कोषमा १५ लाख प्रदान

१० असार, वालिङ । स्याङ्जाको वालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन् ।

नगरपालिकाले स्थापना गरेको कोभिड–१९ राहत कोषमा वालिङ नगरभित्रका ८० सामुदायिक विद्यालयका स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी, राहत, साविक उच्च माध्यमिक विद्यालय र प्राविधिक धारसमेतका शिक्षकहरुले १५ लाख ३४ हजार ९८३ रुपैयाँको चेक मङ्गलबार वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण तथा उपप्रमुख कल्पना तिवारीलाई हस्तान्तरण गरेका हुन् ।

विश्व समुदाय कोरोना भाइरससँग जुधिरहेको अवस्थामा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको तर्फबाट पनि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले राहत कोषमा रकम जम्मा गरेको नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष एवं रणवीर जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले बताए ।

नगरभित्रका मावि तह वा सो सरहका शिक्षकहरुको पाँच दिनको र अन्य शिक्षकहरुको तीन दिनको पारिश्रमिक सङ्कलन गरिएको प्रधानाध्यापक रेग्मीले बताए।

कोभिड–१९ का कारण आइपरेको समस्यामा राज्यले बनाएको नीतिलाई सहर्ष स्वीकार गरी रकम सङ्कलन गरेर नगरपालिकालाई एकमुस्ट उपलब्ध गराइएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य एवं पूर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक परशुराम लम्सालले बताए ।

नगरप्रमुख खाँणले शिक्षकहरुले कोरोना भाइरस नियन्त्रणका लागि अनवरतरुपमा सक्रिय रहँदा रहँदै पनि राहत कोषमा आर्थिक सहयोग गरेर उदाहरणीय कार्य गरेकोमा खुशी व्यक्त गरे ।

“नगरपालिकाले स्थापना गरेको राहत कोषमा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले एकमुस्ट हालसम्मको सर्वाधिक राशि उपलब्ध गराएर ठूलो सहयोग गर्नुभएको छ” उनले भने, “यहाँहरुले उपलब्ध गराउनुभएको रकमको सही सदुपयोग गर्नेछौँ ।”



from Online Khabar https://ift.tt/3dwiFNA

No comments:

Post a Comment

Post Bottom Ad

Pages