तिहारको मुखैमा भारत पस्ने झन् बढे - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 12, 2020

तिहारको मुखैमा भारत पस्ने झन् बढे

२८ कात्तिक, कैलाली । कैलालीको नेपाल–भारत सीमा नाकामा भारत पस्नेहरुको लामो लाइन छ । यही लाइनमा छिन् धनगढी उपमहानगरपालिका ७ देवरीयाकी ३० वर्षीया रजिता चौधरी । उनी श्रीमानसँगै मजदुरीका लागि भारत जाँदै छिन् । उनी विगत ४ वर्षदेखि भारतको पुनामा काम गर्छिन् । प्रत्येक वर्ष दशैं र तिहारमा बिदा मिलाएर आउने उनीहरू यस वर्ष लकडाउनले काम बन्द भएपछि पहिले नै आए । जसोतसो दसैं त मनाए, तिहारमा भने दाजुभाइको निधार खालि राखेर काममा फर्किए ।

‘म एक्लो दिदी हुँ । ३ भाइ छन्,’ उनले भनिन्, ‘अघि फोनमा पनि तिहार सकेर जानुहोला भन्दै थिए । तर, जानै पर्ने भयो ।’ काम गर्ने ठाउँबाट तारन्तार फोन आइरहेको उनले सुनाइन् । ‘तत्काल नआए फेरि नआउनु भने,’ उनले भनिन्, ‘पर्वभन्दा पीडा ठूलो लागेर जान थालेका हौं ।’

देशभर तिहारको रौनक छाइसकेको छ । तर तिहारको मुखैमा घरपरिवार छाडेर काम खोज्दै भारत जानेहरुको संख्या बढ्दो छ ।

सीमा प्रहरी चौकी डोके बजारका प्रमुख तथा प्रहरी नायब निरीक्षक भूपालसिंह थापाका अनुसार दसैंपछि मात्रै त्रिनगर नाका भएर २२ हजार बढी नेपाली भारत पसेका छन्

तिहारको मुखैमा भारत जान थालेका अधिकांशले नेपालमा रोजगारी नभएको भन्दै सरकारको आलोचना गरे । ‘युवाहरूलाई यहीँ राख्छौं भन्थे । अहिले हाम्रो पीडा कसैले सुनेको छैन,’ धनगढी मनेहराका देव रानाले आक्रोश व्यक्त गरे ।

उनी पहिलो पटक आफन्तसँगै भारत पस्दै छन् । ‘सायद अब सधैं जानुपर्छ होला,’ उनी भन्छन्, ‘यहाँ न त भनेको जस्तो काम पाइन्छ, न सरकारले हेर्छ ।’

गाउँमा सबैतिर तिहारको रौनक सुरु हुँदा मन खिन्न पारेर भारत जानुपरेको बाध्यता उनले सुनाए । ‘घरमा अब के खाने, के लाउने हुन थालेको छ । म जेठो छोरा हुँ,’ उनले भने, ‘अरूले तिहार मनाउन पाउन् भनेर म नमनाई काममा हिँडेको हुँ ।’

पछिल्लो केही दिनयता कैलालीको गौरीफन्टा नाका हुँदै दैनिक एक हजार बढी नेपाली भारत पलायन भइरहेका छन् । उनीहरू त्यहाँ सस्तोमा श्रम बेच्न बाध्य छन् ।

राम्रो काम नभए पनि जानै पर्ने बाध्यता रहेको टिकापुरका विनोद विष्टले सुनाए । कोरोना संक्रमण बढ्न थाले पनि नेपालमै केही गर्ने भन्ने सोचेर फर्किएका उनी ७ महिनामा फेरि भारत जान थालेका हुन् । ‘यहाँ रोजगारी पाइएन । भएको पैसा पनि सकियो,’ उनले भने, ‘पैसा नभएर तिहार खल्लो हुनुभन्दा त पैसा कमाउनु ठीक लाग्यो ।’

गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि चाडपर्वको मुखमा कोरोनाको समेत प्रवाह नगरी दैनिक सयौँ नेपाली त्रिनगर नाका भएर भारत जाने गरेका छन् । स्वदेशमा सामान्य काम समेत नपाएपछि मजदुरीका लागि पनि भारत जानुपरेको उनीहरूको गुनासो छ ।

मुखैमा तिहार आउँदा विगतका वर्षहरूमा यतिकै संख्यामा भारतबाट नेपालीहरू आउने गरेका थिए । तर, अहिले तिहारको रौनक भुलेर भारत जानेहरूको संख्या बढिरहेको छ ।

त्रिनगर–गौरीफन्टा नाका भएर मात्रै भदौ १२ यता ६६ हजार नेपाली भारत पसेका छन् । सीमा प्रहरी चौकी डोके बजारका अनुसार ४६ हजार पाँच सय पुरुष, ११ हजार पाँच सय महिला र ८ हजार बालबालिका भदौ १२ पछि भारत गएका हुन् ।

दसैं सकिएपछि भारत जानेको संख्या बढेको सीमा प्रहरी चौकी डोके बजारका प्रमुख तथा प्रहरी नायब निरीक्षक भूपालसिंह थापाले बताए । उनका अनुसार दसैंपछि मात्रै त्रिनगर नाका भएर २२ हजार बढी नेपाली भारत पसेका छन् ।



from Online Khabar https://ift.tt/2UmEOH5

No comments:

Post a Comment

Post Bottom Ad

Pages