राजधानी समाचारदाता/काठमाडौं।
सभामुख कृष्णबहादुर महराले १ भदौदेखि लागू भएको देवानी फौजदारी संहिता प्रेस स्वतन्त्रता प्रतिकूल रहेको उल्लेख गर्दै सरोकारवालसँगको छलफलबाट त्यसलाई संशोधन गरिने बताएका छन् । नेपाल पत्रकार महासंघले बिहीबार राजधानीमा गरेको ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
कार्यक्रमकै अवसरमा सभामुख महराले नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार २०१८ ओखलढुंगाका पत्रकार कुम्भराज राईलाई प्रदान गरे । उनले पुरस्कृत राईलाई २ लाख २२ हजार २ सय २२ रुपैयाँ २२ पैसा राशिको चेक तथा सम्मानपत्र हस्तान्तरण गरे । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघसँग समन्वय गरेर हरेक वर्ष एक जनालाई उक्त पुरस्कार दिने गरेको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले हालै लागू भएको देवानी फौजदारी संहिताले प्रेस स्वतन्त्रतालाई कुण्ठित पर्ने भएकाले त्यसको संशोधन नभएसम्म महासंघले विरोधका कार्यक्रम यथावत राख्ने बताए । महासंघका पूर्वसभापति हरिहर विरहीले प्रेस स्वतन्त्रता कसैले हरण गरेर हरण गर्न नसक्ने भन्दै सबैले त्यसलाई सम्मान गर्नुपर्ने धारणा राखे ।
त्यसैगरी, सल्लाहकार तथा पूर्वअध्यक्ष शिव गाउँलेले नेपालको पत्रकारितामा शासकको गुनगान गाउनेलाई मात्रै सहज रहेको भन्दै स्वस्थ आलोचना अझै पाच्य हुन नसकेको टिप्पणी गरे । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुदिप पन्तले प्रवासमा रहेर पनि आफुहरु भावनात्मक रूपमा स्वदेशी पत्रकारसंगै रहेकाले पुरस्कारको स्थापना गरिएको धारणा राख्नुभयो ।
from Rajdhani Daily https://ift.tt/2OHJRxc

No comments:
Post a Comment