यस्तो हुन्छ मुटु
मुटु मानिसको मात्र होइन, भर्टेब्रेट (ढाड भएका) प्राणी शरीरको प्रमुख अंग हो । यसलाई शरीरको इन्जिन भने पनि हुन्छ । छातीभित्र दुई फोक्सोबीच हुने मुटु पातलो झिल्लीले घेरिएको हुन्छ, जसलाई ‘पेरिकार्डियम’ भनिन्छ । मुटुमा चारवटा भाग हुन्छन्, दुईवटा अउरिकल र दुईवटा भेन्ट्रिकल । मुटुको प्रमुख काम रक्तनलीमार्फत रक्तसञ्चार प्रणालीमा रगत पम्प गर्ने हो । मुटुको धड्कन एक सेकेन्ड पनि रोकि“दैन । दिनरात, बिनाविश्राम र हरपल निरन्तर चलिरहन्छ ।
शक्तिशाली अंग
मुटु शक्तिशाली मांसपेसीले बनेको हुन्छ । यस अंग सम्भवतः मानव शरीरको सबैभन्दा बलियो अंग हुनुपर्छ । सामान्यतः एउटा वयस्कको मुटुको तौल २५० देखि ३०० ग्राम हुन्छ । तर, यसले एक घण्टामा करिब १४ सय किलोग्राम तौल उठाउन लाग्नेबराबरको शक्ति पैदा गर्छ । यो शक्ति एउटा सानोखाले कार जमिनबाट एक फुटमाथि उठाउन पर्याप्त हुन्छ । मानिसको मुटु कति बलियो हुन्छ भने यसले रगतको छिर्का ३० फिट परसम्म फ्याँक्न सक्छ । एकदिनमा मुटुले करिब ७ हजार ६ सय लिटर रगत पम्प गर्छ । औसत आयुलाई ७० वर्ष मान्ने हो भने मुटुले जीवनभरमा करिब १९ करोड ५० लाख रगत पम्प गर्छ ।
गर्भाधान भएको करिब ८ साताभित्र मानिसको मुटु विकसित भइसकेको हुन्छ । जब कि, त्यो बेला भ्रुणको करिब एक इन्च लामो हुन्छ । अझ गर्भाधानको चार सातादेखि नै भु्रणको मुटु पनि धड्कन सुरु भइसकेको हुन्छ । सामान्य अवस्थामा एक वयस्कको मुटु ७४ पटक धड्किन्छ । त्यसो त, ६० देखि १०० सम्म मुटुको धड्कनलाई सामान्य मानिन्छ । तर, धड्कन ६० भन्दा कम र १०० भन्दा माथि हुन्छ भने यसले मनमस्तिष्कमा, शरीरमा वा स्वयं मुटुमा कुनै समस्या भएको संकेत गर्छ ।
मुटुको रोग
मुटुरोग भन्नासाथ हृदयघात र ‘हार्ट फेल’ हो भन्ने भ्रम छ । तर, मुटुका अन्य थुप्रै रोग हुन्छन् । मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग हुने गरेका छन् । यस्ता रोगलाई दुई भागमा बा“ड्न सकिन्छ । एउटा जन्मजात र अर्को जन्मिसकेपछि हुने ।
जन्मजात मुटुरोग
कतिपय बालबालिकालाई जन्मजात मुटुरोग लागेको हुन सक्छ । यो रोग थोरैलाई मात्र लाग्छ । गर्भधारण गरेको तीन महिनाभित्र आमालाई ‘रुबेला’ नामक दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशु निर्माण भइरहेको मुटुमा विकृत गराउँछ । फलस्वरूप जन्मजात बालकमा मुटुको समस्या आउ“छ । गर्भधारण गरेको तीन महिने अवधिमा महिलाले गर्भका लागि असुरक्षित मानिएका औषधि सेवन, अत्यधिक धूमपान र मद्यपान, शरीरमा एक्सरेको विकीरण परे मुटुको संरचनामा गडबडी भई बच्चामा विकृत मुटु निर्माण हुन जान्छ । भोजनमा भिटामिन र अन्य आवश्यक पोषण तŒव कमी भएमा पनि जन्मजात मुटुरोग लाग्ने सम्भावना रहन्छ । नवजात शिशुको जिब्रो, ओठ र औंलाका टुप्पा निलो हुने, औंलाका टुप्पा बाक्ला र चाक्ला हुने, मुटु हल्लिने, दम बढ्ने, बारम्बार रुघाखोकीले सताइराख्ने, शिशुको उमेरअनुसार शारीरिक विकास नहुने र निधारमा पसिना आउने जन्मजात मुटुरोगका लक्षण हुन् ।
जन्मेपछि हुने रोग
जन्मिसकेपछि देखापर्ने मुटु रोगमा बाथ मुटु प्रमुख हो । यो रोग बाल्यकालमा घाँटीमा समस्या भइरहेका केटाकेटीलाई देखिन सक्छ । सामान्यतः ३ देखि १५ वर्र्षका बालबालिकामा बारम्बार घा“टी दुख्ने तथा टन्सिल बढ्ने हुन सक्छ । यसरी घा“टी दुख्ने गरेका बालबालिकालाई एकखाले ज्वरो आउन सक्छ । ज्वरोस“गै हातखुट्टाका ठूला जोर्नी दुख्ने र सुन्निने हुन्छन् । यसलाई बाथज्वरो भनिन्छ । यसै ज्वरोको कारण पछि गएर मुटुको भल्भ खराब हुने रोग लाग्छ । यसलाई बाथमुटुको रोग भनिन्छ । तर, अधिकांश मुटु रोग जीवनशैलीसँग सम्बन्धित हुन्छन् । जीवनशैलीसँग सम्बन्धित मुटुरोगमा हृदयघात तथा उच्च रक्तचाप आदि पर्छन् । मुटुरोगमध्ये हृदयघातलाई मानव मृत्युको प्रमुख कारण मानि“दै आएको छ ।
हृदयघात के हो ?
मुटु मांसपेशीको डल्लो हो । यसले पम्पको काम गर्छ र शरीरभर रक्त सञ्चालन गराउँछ । मुटुलाई काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीनवटा कोरोनरी रक्तनलीमा प्रवाहित रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक ऊर्जा प्राप्त हुन कोरोनरी रक्तनली स्वस्थ हुनु जरुरी छ । तर, यी रक्तनली विभिन्न कारण कोलेस्टेरोल (बोसो) जमेर साँघुरो हुने गर्छ । जसका कारण मुटुमा रगत प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त ग्लुकोज र अक्सिजन पुग्दैन । विस्तारै कोरोनरी रक्तनली पुरै बन्द हुने सम्भावना बढ्छ । रक्तनली पुरै बन्द भएको खण्डमा रगत प्रवाह पनि पुरै बन्द हुन्छ र मुटुमा ऊर्जा आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजन आपूर्ति नभएपछि मांसपेशी क्षत्रिग्रस्त हुन थाल्छ र यो क्रम लम्बि“दै गए मांसपेशी मर्छ । यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भएको भनिन्छ । हृदयघात हु“दा छातीको बीच भागमा असह्य पीडा हुन्छ । हृदयघात भएका व्यक्तिले समयमै उपचार नपाए तत्काल मृत्यु हुन सक्छ ।
मुटुरोगमध्ये उच्च रक्तचाप पनि खतरनाक रोग हो । हाम्रो मुटु खुम्चिने र फुल्ने गर्दा रक्तनलीमा उत्पन्न हुने रक्तचाप अर्थात् ‘ब्लड प्रेसर’ भनिन्छ । स्वस्थ मानिसमा रक्तचाप १२० र ८० मिमी मर्करी वा सोभन्दा कम हुनुपर्छ । रक्तचाप १४० र ९० भन्दा बढी भयो भने यसलाई ‘उच्च रक्तचाप’ भनिन्छ । रक्तचाप बढी भएमा रक्तनली बढी तन्किन गई फुट्न सक्छन् । दिमागको नसा फुटे पक्षघात हुन्छ, आँखाको नसा फुटे अन्धोपन हुन्छ, मुटु वा मिर्गाैलाका रक्तनलीमा असर परे हृदयघात वा मिर्गौला फेल हुन्छ ।
हार्ट फेल के हो ?
‘हार्ट फेल’ डरलाग्दो रोग हो । अधिकांश मानिस दम बढ्नेबित्तिकै फोक्सोमा खराबी आयो भन्ने सोच्छन् । तर यो आंशिक सत्य हो । दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुस“ग पनि हुन्छ । यदि शारीरिक श्रम गर्दा दम बढ्छ र आराम गरेपछि कम भएर जान्छ भने यो मुटुरोग हुन सक्छ । मुटु सुन्निएको, मुटुका मांसपेशी कमजोर भएको, मुटुको भल्भ बिग्रिएको अवस्थामा यस प्रकृतिको दम उत्पन्न हुन्छ । यसलाई ‘हार्ट फेल’ भनिन्छ । ‘हार्ट अट्याक’ र ‘हार्ट फेल’ फरक अवस्था हुन् । ‘हार्ट अट्याक’ भएपछि मुटु कमजोर भई ‘हार्ट फेल’ हुन्छ । मुटु कमजोर हुँदा श्वास नपुगेर निसासिन्छ । यसका साथै मुटु सुन्निने रोग तथा धड्कनमा गडबडी आउने पनि जीवनशैलीमा आएको परिवर्तनका कारण मुटुमा देखिने समस्या हुन् ।
कोरोनरी मटुको रोग
कोरोनरी मटुको रोग भनेको मटुका मांशपेसीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनली सा“घुरो वा बन्द हुनाले लाग्ने रोग हो । हृदयघात पनि एक प्रकारको कोरोनरी मुटुरोग नै हो । यो रोग विशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसमा देखिन्छ । तर, आजकल युवा उमेरका मानिसमा पनि देखिन थालेको छ ।
मुटु रोगका लक्षण
छातीको बीच भागमा पीडा हुनु, बेचैनी हुनु वा भारीपन महसुस हुनु । श्वास फेर्न कठिनाइ हुनु । धेरै पसिना आउनु । नियमित ‘वाकवाक’ लाग्नु । हात झमझमाउने तथा चेतनाविहीन बन्नु । शरीरको कुनै अंगले काम गर्न छाड्नु । कमजोर यौन गतिविधि हुनु । घुर्ने तथा निन्द्रा असन्तुलन हुनु । का“ध र घाँटीमा दुखाइ हुनु । अपच, मुटुमा जलन हुनु । बोल्दा कठिनाइ हुनु, जिब्रो लरबरिनु । परिश्रम गर्दा दम बढ्नु । खुट्टा सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घा“टीको रक्तनली फुल्नु वा चल्नु, बाल्यकालमा जोर्नी दुख्नु र साथमा ज्वरो पनि आउनु, जिब्रो तथा औंलाका टुप्पा निलो हुनु मुटुरोगका लक्षण हुन सक्छन् ।
शारारिक परिश्रम गर्दा वा मानसिक तनावमा छातीको बीच भागमा वा देब्रेतिर भएर ढुंगाले थिचेजस्तो अनुभव हुने र आराम गरेपछि हराएर जाने लक्षणलाई ‘एन्जाइना’ भनिन्छ । कसैकसैलाई भने पहिलोपटक नै असह्य तरिकाले छाती दुख्ने, देब्रे छातीतिर झनै श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, वाकवाक लाग्नेजस्ता हृदयघातका लक्षण देखिन्छन्, जसमध्ये एकतिहाइ बिरामीको अस्पताल पुग्नअघि नै मृत्यु हुन्छ ।
बढ्दो मुटुरोग
विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ । विश्व मुटु महासंघका अनुसार यो रोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छन् । मुटुरोग प्राणघातक भए पनि ८० प्रतिशत हृदयघात रोकथाम गर्न सकिन्छ । नेपालमा १० वर्षयता मुटु रोगीको संख्यामा पाँच गुणाले वृद्धि भएको छ ।
उपचार तथा रोकथाम
मुटु रोगको प्रारम्भिक अवस्थामा उपचार गरे जोखिम कम हुन्छ । तर रोग छिपि“दै गए उपचार कठिन हुनुका साथै धेरै महँगो हुन्छ त्यसैले आफूमा मुटु रोगको समस्या छ कि छैन भनेर बेलाबेला ईसीजी गरेर हेर्नुपर्छ । मुटुरोगबाट बच्न धूमपानका साथै सुर्तीजन्य पदार्थ सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो र बोसोयुक्त खानेकुरा, फास्टफुड, जंकफुड कम गर्ने, मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, भुँडी बढ्न नदिने र नियमित रूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ । शरीरको इन्जिन, मुटु स्वस्थ भए मानिसको जीवन नै स्वस्थ हुन्छ । ल
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2DG5jBP

No comments:
Post a Comment