आहूतिका पाँच किस्सा
आहूति साहित्य, राजनीति र समाज अध्ययन तीनै क्षेत्रमा उत्तिकै चर्चित नाम हो । माओवादी र एमालेबीच एकता भएपछि असन्तुष्ट हुँदै माओवादीबाट बाहिरिएका उनी अहिले छुट्टै पार्टी बनाउने अभियानमा छन् । तपस्वीको गीत र गहुँगोरो अफ्रिका उनका कवितासंग्रह हुन् । नयाँ घर र स्खलित उनका आख्यान हुन् भने वर्णव्यवस्था र वर्गसंघर्ष गैरआख्यान हुन् ।
-अनि म नास्तिक भएँ
सानोमा म धार्मिक प्रवृत्तिको थिएँ । देवस्थलहरूमा धेरै जान्थेँ । सामान्यतया नैकापको मेरो गाउँमा पुरुषहरूले पूजा गर्ने चलन त्यति हुँदैनथ्यो । तर, मचाहिँ पूजा गर्न जान्थेँ । हरेक वर्ष स्वस्थानीको व्रत बस्थेँ । नुहाएर पूजापाठ गर्थें । जतिवेला म नैकापस्थित विद्यामन्दिर स्कुलमा ६ कक्षामा पढ्दै थिएँ । त्यति वेला सरस्वती भन्ने एकजना किशोरी पनि त्यही कक्षामा पढ्थिन् ।
मलाई स्वस्थानी व्रतकथाप्रति धेरै विश्वास थियो । तिनी मलाई साह्रै मन पर्यो । अब चिठी लेख्ने वा प्रस्ताव राख्ने त कुनै सम्भावना नै थिएन । मैले एउटा जुक्ति निकालेँ । त्योपटकको स्वस्थानीचाहिँ राम्रोसँग पाठ गरेर व्रत बसेर उनलाई माग्न पर्यो भन्ने लाग्यो ।
अन्य वर्षभन्दा एकदमै चोखोनितोमा ध्यान दिएँ । बिहानै नुहाएँ । माघ महिनामा बिहानै नुहाउनु सजिलो थिएन । बल्खु खोलामा गएर नुहाउने, आउने अनि पूजा गर्ने, त्यसको बेलुका स्वस्थानी भन्ने गरेँ । हरेक विधि र नियम अपनाएँ । स्वस्थानीको फुलप्रसादलाई विधिपूर्वक नै खोलामा बगाउँदै सरस्वतीलाई पाऊँ भनेर मागेँ ।
माघ महिना स्कुल बिदा थियो । फागुनमा मात्र स्कुल खुल्थ्यो । परीक्षाको रिजल्टचाहिँ पुस १४ गते राजाको जन्मदिनमा हुन्थ्यो । फागुन १ देखि स्कुल लाग्थ्यो । १ गते म स्कुल गएँ । म पूरा स्वस्थानीसँग प्रेम बक्साएर गएको थिएँ । स्कुलमा तिनी आइनन् । एक हप्ताजति नआइसकेपछि मैले उनको घरआसपासका साथीहरूसँग सोधेँ तिनी किन आइनन् भनेर । त्यही माघमा उनको विवाह भएछ । व्रत बसेर मैले मागेको केटी अरूले नै उडाइदियो । मेरो त होसै उड्यो ।
त्यो वर्षदेखि मलाई देउता भन्ने चिजै हावा रहेछ भन्ने लाग्यो । म त्यो बिन्दुबाट पूरै नास्तिक भएँ । पछि त सैद्धान्तिक रूपमा पढियो र भौतिकवादी भइयो । त्यो बेग्लै कुरा हो । तर, देउता अर्थात् ईश्वरप्रतिको विश्वास हटेको चाहिँ त्यो बिन्दुबाट हो ।
-पेनाल्टी हान्दा पनि गोल गर्न सकिनँ
मेरो घरमा मेरो हजुरबा तान्त्रिक थिए । मन्त्रसन्त्र फुकफाक गर्थे । हामी बिरामी पर्दा उनले हामीलाई फुक्थे । गाउँलेहरू पनि आएर फुकेर निको पारेर फर्किन्थे । त्यही ६ कक्षाकै आसपासको समयमा मलाई तन्त्रमन्त्र र तान्त्रिकहरूप्रति विश्वास थियो । गाउँमा सबैले भन्थे, कालो बिरालोको साल फेला पार्न सक्यो भनेचाहिँ मनले चिताएको पुग्छ ।
हजुरबाले पनि यसै भन्थे । मेरो घरमा कालो बिरालो पालेको थियो । त्यो बिरालो गर्भवती भयो । अरूलाई त त्यसको मतलब थिएन । तर, मलाई बहुत चासो थियो । आमालाई सोधिरहेँ, कहिले सुत्केरी हुन्छ भनेर । ब्याउने वेला थाहा भएदेखि स्कुलबाट आएदेखिको त्यो बिरालोको वरपर जाने, बस्ने गर्दैगर्दै गएपछि एक दिन बिरालो ब्यायो ।
ठूलो घरको बुइँगलमा त्यो बिरालोले चारवटा बच्चा जन्मायो । त्यहाँबाट चारवटा साल ल्याएर अरूले नदेख्ने गरी मैले पालीमा सुकाएँ । दुई–तीन दिनमा सुक्यो । म हाफ पाइन्ट लगाएर फुटबल खेल्न जान्थेँ । त्यो सुकेपछि एउटा कागजमा त्यसलाई हालेँ र एक टुक्रा काटेर पाइन्टको दायाँतिर भित्रबाट कपडा टाँसेर सिलाएँ ।
किनकि मलाई त गोल हान्नु थियो । म एक दर्जन गोल त हानिहाल्छु नि भन्ने विश्वासमा फुटबल खेल्न गएँ । अरू दिन त बरु कहिलेकाहीँ गोल हुन्थ्यो । तर, त्यो दिन त पेनाल्टी हान्दा पनि गोल गर्न सकिनँ । त्यसपछि मलाई यो मन्त्रतन्त्र भन्ने कुराबाट पूरै विश्वास हट्यो ।
-छिटै जुँगा आएकाले सात नपढी आठमा भर्ना गरिदिए
विद्यामन्दिर स्कुलमा ६ कक्षाबाट म एकैचोटि आठ कक्षामा गएँ । सात कक्षा पढिनँ । मेरो जुँगा आयो र अब सानो कक्षामा पढ्न सुहाएन भनेर मेरो घरका मान्छेले मलाई आठमा लगाइदिएका थिए । सात कक्षाको त केही पाठ पनि पढेको थिइनँ । आठ कक्षाको सुरुमा असाध्यै गाह्रो भयो ।
जसोतसो पढ्दैपढ्दै गएँ । र, संयोगले आठ कक्षामा समेत पहिलो नै भएँ । सातबाट पहिलो भएर आएको मान्छेलाई त साह्रै पिर पर्यो । रिजल्ट लिन जाने दिन म हेडमास्टरको कोठाभित्र पस्दै थिएँ । भित्रचाहिँ ती पहिला सात कक्षाका पहिलो भएका केटा साथी, जो आठ कक्षाबाट दोस्रो भएका थिए । उनी हेडमास्टरको अगाडि बसेर रोइरहेका रहेछन् ।
हेडमास्टरले के भनिरहेका रहेछन् भने ‘रोएर हुन्छ र एउटा चमारेलाई त जित्न सकिनस् ।’ शिक्षक र विद्यार्थी दुवै नेवार थिए । त्यो उनीहरूको बीचमा भएको संवादले नेपाली समुदायले कसरी सोच्दा रहेछन् त जातलाई भन्ने एउटा विशाल आकाश खुलेको जस्तो भयो मलाई । त्यसपछि म जातको पृष्ठभूमि बुझ्न झन् लालायित भएँ ।
-विवाहको दिन किनेको घडी डिभोर्सको दिन चल्न छाड्यो
०४७ सालमा मैले विवाह गर्दाखेरि एउटा सिटजन घडी किनेको थिएँ । त्यो घडी अत्यन्तै राम्रो थियो । पानी पनि कहिल्यै पसेन । १० वर्षसम्म निरन्तर लगाएँ । जब १० वर्षपछि मेरो पहिली पत्नीसँग डिभोर्स भयो, त्यसै दिन त्यो घडी पनि चल्न बन्द भयो । पछि बनाउन धेरै प्रयत्न गरेँ ।
तर, बने पनि एक हप्ताभन्दा धेरै नचल्ने भयो । त्यस दिनपछि मैले घडी लगाउन पनि छाडिदिएँ । त्यसपछि अहिलेसम्म मैले घडी लगाएको छैन । विवाहको निमित्त किनेको घडी डिभोर्सको दिन चल्न बन्द भएको हुनु कस्तो अचम्मको संयोग हो, मलाई अचम्म लाग्छ ।
-मलाई ब्राह्मण बनाएर सिन्धुपाल्चोक पठाए
एसएलसी सकेपछि म कम्युनिस्ट पार्टीको सम्पर्कमा आएँ । पुल्चोकमा सिभिल इन्जिनियरिङ सुरु गरेँ । करिब एक वर्ष इन्जिनियरिङ पढेर राजनीतिमै पूर्णकालीन बन्ने सोच बनाएर पढाइ छोडेँ । एउटा विषयको परीक्षा दिने दिन थियो । परीक्षा हलतिर जान साइकलमा त्रिपुरेश्वर आइपुगेको थिएँ । त्यहीँको सालिकबाट साइकल घुमाएर घरतिर फर्किएँ ।
संयोगले के भइदियो भने म कम्युनिस्ट राजनीतिको सम्पर्कमा पुगेको मुस्किलले पाँच महिना भएको थियो । मैले होल टाइमर राजनीति गर्छु भनेर पार्टीको सम्पर्कका मान्छेहरूसँग भनेँ । त्यो वेला त्यो पार्टीको काठमाडौंमा कोही पनि पूर्णकालीन कार्यकर्ता रहेनछन् ।
सबै पेसा व्यवसाय गरेर बसिरहेका रहेछन् । त्यसपछि उनीहरूको दुइटा खेमा भएछ । एउटाचाहिँ यो मान्छे भर्खर आउनेबित्तिकै पूर्णकालीन बन्ने किन भन्छ ? त्यो पनि इन्जिनियरिङको पढाइ छाडेर भन्ने ठूलो प्रश्न जन्मिएछ । यो मान्छे गुप्तचर हुन सक्छ भनेर पार्टीको केन्द्रमा त्यो रिपार्ट पठाएछन् । अर्को पक्षले चाहिँ परीक्षण गर्नुपर्छ भनेछन् ।
उनीहरूले मलाई सिन्धुपाल्चोक पठाए । त्यहाँको भोटेचौरस्थित सरस्वती माध्यमिक स्कुलमा पठाएका थिए । त्यहाँ दुलालहरूको बस्ती भएको र मेरो थर पनि दुलाल भएकाले मलाई ब्राह्मण बनाएर पठाए । जनै लगाइदिएर, गायत्री मन्त्र पढ्न सिकाएर पठाए । १३ महिना पढाएर म त्यहाँबाट फर्किएँ । त्यहाँ हुँदा पुलिसको समस्या भएपछि फर्किएर काठमाडौंमै मजदुर क्षेत्रमा काम गरेँ ।
०४६ सालको आन्दोलनभन्दा ठीक अगाडि अर्थात् फागुन ५ गते गिरफ्तार भएँ । धेरै ठूलो यातना खाइसकेपछि बल्ल प्रमाणित भयो कि यो मान्छे सिआइडी होइन रहेछ भन्ने । म ०४१ सालमा हिँडेको थिएँ । मैले पार्टी सदस्यता पाउन पूर्णकालीन भएपछि पनि ६ वर्ष कुर्नुपर्यो । छिटो उत्साही भएर पार्टीमा लागेको हुनाले मैले पाएको सजाय हो त्यो ।
The post व्रत बसेर मैले मागेकी केटी अर्कैले उडाइदियो : अाहूति appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2xXFHu5


No comments:
Post a Comment