प्रेमलाई कवितामा लेखेँ बिहे गरिनँ : तुलसी दिवस - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

प्रेमलाई कवितामा लेखेँ बिहे गरिनँ : तुलसी दिवस

कविता–संवाद तुलसी दिवस, कवि

-कविता कविले लेख्छन् र कविले नै सुन्छन् रे । तपाईं किन लेखिरहनुभएको छ ?

यो भनाइसँग मेरो सहमति छैन । कविता लेखेपछि प्रकाशित र वाचन हुन्छ । प्रकाशित कविता कविहरूले मात्र पढ्दैनन् । वाचन पनि कविहरूकै बीचमा मात्र हुँदैन । कविहरूको बढी रुचि भने हुन्छ । यो स्वाभाविक हो । तर, कविताप्रति सर्वसाधारणको पनि रुचि हुन्छ ।

अन्य विधाका विशिष्ट मान्छेले पढेको देखेको छु । कसैले कविता पढ्दैन भने ठीक छ, उसलाई जबर्जस्ती पढाउन कवि पछि लाग्नु हुँदैन । मेरो काम लेख्ने हो । म पहिला आफ्नै निम्ति लेख्छु । आफ्ना अनुभूति लेख्छु । तर, जब प्रकाशित हुन्छ वा वाचन गर्छु तब अरूको निमित्त पनि हुन्छ ।

-त्यसो भए कविता समाजका लागि कि कविको आत्मसन्तुष्टिका लागि ?

यो प्रश्नको अभिप्रायः अब पुरानो भइसक्यो । ‘कविता कविताका लागि,’ ‘कला कलाका लागि,’ अथवा ‘कला जीवनका लागि’ भन्ने कुरा र यीसँग जोडिने प्रश्न पुराना भए । कविता कला र जीवन दुवैका लागि हो । मूलभूत रूपमा कवितामा मान्छेको जीवनको स्पर्श तथा सुवास हुनुपर्छ र हुन्छ । त्यसकारण अब कवितालाई हेर्ने सोच र चिन्तन बदल्नुपर्छ ।

-कविताबाट कहिल्यै उल्लेखयोग्य आर्थिक आम्दानी भयो ?

आम्दानीको प्रश्न कविता लेखेर हामी बाँच्यौँ कि बाँचेनौँ भन्नेसँग सम्बन्धित छ जस्तो लाग्यो । हाम्रोजस्तो विकासशील र अझ दक्षिण एसियाका देशमा कविता लेखेरै बाँच्ने अवस्था आइसकेको छैन । तर, कविता लेखेर सामाजिक स्वीकृति र सम्मान पाएको छु ।

म कवितै लेखेर सबैभन्दा सानो उमेरमा प्रज्ञा प्रतिष्ठानको सदस्य भएँ । कविताकै नाममा अन्तर्राष्ट्रिय कवि सम्मेलन, काव्य विमर्श, विचार गोष्ठीमा सहभागी भएँ । कविताकै नाममा तीनचौथाइ संसार घुमिसकेको छु । यसरी घुम्न आफ्नो गोजीको एकसरो पैसा पनि खर्च भएको छैन । कविताले दिएन भनेर कसरी भन्ने ?

-प्रज्ञाको सदस्य बन्दा कति वर्षको हुनुहुन्थ्यो ?

२९–३० वर्षको थिएँ ।

-त्यतिवेला तपाईंका कविताका कृति प्रकाशित थिए ?

थिएन । पछि भयो । त्यो पनि प्रज्ञाबाट निस्किसकेपछि मात्र प्रकाशित भएको हो । म एकेडेमीमै भए पनि आफ्नो कृति निकाल्न पहल गरिनँ । तर, दुईवटा संग्रहलाई पुग्ने कविता लेखिसकेको थिएँ । एकेडेमीमा जानुअघि मेरा लोकवार्ता र लोकसंस्कृतिसँग सम्बन्धित पुस्तक भने थिए ।

-कवि नहुनु भएको भए के बन्नुहुन्थ्यो ?

यो हाइपोथेटिकल कुरा भयो । कवि नभएको भए कवि नै बन्ने प्रयत्न बढी गर्थें होला । किनभने कविता लेख्ने–नलेख्ने, कवि हुने–नहुनेचाहिँ व्यक्तिको इच्छा र चाहनामा भन्दा कवि व्यक्तित्वले आग्रह गरेपछि हुन्छ । त्यसो त म पहिला चित्रकलामा बढी रुचि लिन्थेँ । स्कुल पढ्दा आफूले बनाएका रेखाचित्र, पानी रंगचित्रले कोठा सिँगार्थें ।

त्यसकारण मभित्र सिर्जनात्मक आयाम थियो । पहिला रेखा र रंगबाट आफूभित्रका कुरा अभिव्यक्त गर्ने प्रयत्न भयो । धनुकटामा म स्कुल पढ्दा यस्तो विषय थिएन । त्यो विषय पढ्न नपाउँदा बायोलोजी पढ्न थालेँ । तर, डाक्टर बन्न बायोलोजी पढेको होइन । त्यहाँ चित्र बनाउन पाइन्छ भनेर हो । पछि शब्दको माध्यमबाट भावनाको अभिव्यक्ति हुन थालेपछि कवि बनेँ ।

-कवि धेरै रक्सी पिउँछन् रे । कतिको पिउनुहुन्छ ?

कविहरू धेरै रक्सी पिउँछन् भन्ने कुरासँग पनि मेरो सहमति छैन । रक्सी सामान्यतयाः धेरै मानिसले पिउँछन् । त्यसमा कविले पनि पिएका हुन् । एक–दुई कविले अलि धेरै पिए होलान् । अथवा कवि भएर मात्रै तिनले रक्सी पिएको नहोला । उनीहरूका व्यक्तिगत जीवनका घटनाक्रमले त्यस्तो बनाएको होला ।

मान्छेले रक्सी पिउने हो, रक्सीले आफूलाई पिउन भने दिनु हुँदैन भन्ने मेरो मान्यता छ । कवि भनेको समाजलाई बाटो देखाउने हो । कवि भएको नाताले रक्सी पिएर सडक नाप्दै हिँड्ने वा नालीमा लड्ने गर्नु हुँदैन । मान्छेले जे गर्छ, त्योअनुसार बोल्नुपर्छ र जे बोल्छ त्योअनुसार गर्नुपर्छ । रक्सी मैले पनि खाएँ । तर, खाएर कहिल्यै ढलिनँ । अभद्र व्यवहार गरिनँ ।

-रक्सी खाएर कविता लेख्नुभएको छ ?

म रक्सी खाएर कविता लेख्ने कवि होइन ।

-रक्सी खाएपछि भाव आउँछ रे नि त ?

रक्सी खाएर बढी भावुक होइन्छ र त्यहाँबाट कविता लेखिन्छ भन्ने कुरामा मेरो विश्वास छैन ।

-तपाईं अविवाहित रहनुभयो । कवि बन्ने धुनमा यस्तो भएको हो ?

सिर्जनासँग सम्बन्धित भएर अविवाहित बसेको होइन । मैले पटकपटक भन्ने गरेको छु कि हामीले सोचेजस्तो हुँदैन जिन्दगी । जिन्दगी सोचेकोभन्दा नसोचेको ज्यादा हुन्छ, भोगेको भन्दा नभोगेको ज्यादा हुन्छ, देखेकोभन्दा नदेखेको ज्यादा हुन्छ र योजनाभन्दा अयोजना ज्यादा हुन्छ । जिन्दगी यात्रा हो । यात्रामा कोही भेटिँदा अलि परसम्म जान सकिन्छ । त्यसकारण मैले योजना बनाएर बिहे नगर्ने भनेर बसेको होइन । जिन्दगी जसरी आयो उसरी नै जान दिएँ ।

-जिन्दगीको यात्रामा कोहीसँग सँगै हुँदा प्रेमको अनुभूति भयो कि भएन ?

प्रेम नहुने त कुरै भएन नि । त्यो त भौतिक र जैविक आवश्यकता पनि हो । र, स्वाभाविक र हार्दिक पनि । कहिले प्रेमले अभिव्यक्ति पाउँछ, कहिले पाउँदैन । अभिव्यक्ति पाएर पनि त्यो पूर्ण रूपले सफल नहुन सक्छ । कहिले अभिव्यक्ति नहुँदा पनि प्रेम धेरै परसम्म सँगसँगै हिँडेको हुन सक्छ । मैले त्यस्तो अनुभूति पनि गरेको छु । स्वाभाविक रूपमा प्रेम भएको छ । तर, प्रेमको बाटो हिँड्नेबित्तिकै विवाह हुनुपर्छ भन्ने छैन ।

-कवितामार्फत प्रेमको अभिव्यक्ति गर्नुभयो ?

प्रेमका कविता थोरै मात्र लखेँ मैले । अझ आफ्ना कुरा त अत्यन्त कम । बरु अरूको प्रेमको कुरालाई लिएर एक–दुई कविता लेखेँ । त्यसको अर्थ प्रेमका कविता लेखिनुहुन्न भन्ने होइन । प्रेमलाई जीवनमा आएको परिवर्तनसँग हेर्नुपर्छ । संसारमा कुनै पनि वस्तु स्थिर छैन । चलायमान छ । घटना निरन्तर हुन्छ । प्रेममा पनि परिवर्तन आउन थालेको छ । हाम्रा धार्मिक पुस्तकहरूमा अर्धनारेश्वरको कल्पना छ । अहिले लिभ–इन–टुगेदर हामीकहाँ पनि आइसकेको छ ।

कहिलेकाहीँ सरल कविता पनि भावमा जटिल बन्न सक्छ । यो गम्भीर रूपमा सोच्ने कुरा हो । मोहन कोइराला र भूपि शेरचनलाई मात्र हेर्ने प्रवृत्ति ठीक छैन । सरल कविता हामीले पनि लेखेका छौँ र बुझ्न समय लाग्ने कविता पनि लेखेका छौँ ।

-प्रसंग बदलेँ । प्रायः मोहन कोइरालाका जस्ता कविता राम्रा कि भूपि शेरचनका जस्ता भन्ने बहस हुने गरेको छ । तपाईंको विचारमा कविता कस्तो हुनुपर्छ ?

त्यो दृष्टिकोण नै गलत छ । भाषा जटिल हुनेबित्तिकै कविता विशेष हुने वा सरल हुनेबित्तिकै कविता विशेष नहुने होइन । जटिलता र सरलता कविता नाप्ने आधार हो भन्ने मलाई लाग्दैन । जटिलता र सरलता भनेको अभिव्यक्तिलाई भन्ने कि भावलाई ? कहिलेकाहीँ सरल कविता पनि भावमा जटिल बन्न सक्छ । यो गम्भीर रूपमा सोच्ने कुरा हो । मोहन कोइराला र भूपि शेरचनलाई मात्र हेर्ने प्रवृत्ति ठीक छैन । सरल कविता हामीले पनि लेखेका छौँ र बुझ्न समय लाग्ने कविता पनि लेखेका छौँ । प्रतिनिधित्व व्यक्तिविशेषले होइन, समूहविशेषले गर्छ ।

-मोहन कोइराला र भूपि शेरचनको मूल्यांकन कसरी गर्नुहुन्छ ?

उहाँहरू पनि मेरा साथीहरू, समकालीन नै हुनुहुन्छ । मोहन कोइराला मेरो कलिङ भएर एकेडेमीमा आउनुभएको हो । म ०२८ सालमा आएँ । उहाँ ०३० सालमा आउनुभयो । म फेरि ०३० सालमा पनि सदस्य भएँ । भूपिजी त्यसपछि आउनुभयो । उहाँहरूको प्रवृत्तिगत कुरा फरक छन् । यो अग्लो वा यो होचो भन्ने पक्षमा म छैन ।

-कविता र राजनीतिको सम्बन्ध हुन्छ कि हुँदैन ?

हुन्छ । कवितामा रचनात्मक चिन्तन र सोच जहाँबाट आए पनि ग्रहण गर्नुपर्छ । चाहे राजनीतिबाट होस् वा समाजनीति र अर्थनीतिबाट । मात्र के भने, कवितालाई राजनीतिले लगाम लगाउने होइन । वैचारिक वैविध्य स्वाभाविक हो ।

-राल्फाली अभियन्ता नोरेनले तपाईंको कवितावाचन कलाको प्रशंसा गर्नुभएको छ । कविता पढिने विधा हो कि वाचन हुने ?

दुवै हो । कविता शब्दसँग सम्बन्धित लिपिमा आउने हुनाले पढिने भयो । वाचन श्रवणसँग सम्बन्धित हो । कवितामा मैले तीनवटा ‘भी’को अवधारणालाई अघि सारेको छु । अब कवितामा भोकल, भिजुअल एन्ड भाइब्रेन्ट हुन जरुरी छ । कविता कविताजस्तो छैन भने वाचन राम्रो गरेर मात्र हुँदैन । कविता कविताजस्तो छ तर, वाचन छैन भने त्यो पनि हुँदैन । अर्को कुरा कविता प्रकाशित हुँदा कि लिपिमा आउँछ कि ध्वनिमा । कविता लिपिमा आउँदा सुतिरहेको हुन्छ र हाइ… गरेर उठ्ने प्रयत्नमा हुन्छ । तर, वाचनमा आउँदा कविता गतिशील भएर हिँडेको, डुलेको, कुदेको देख्न सकिन्छ ।

-आफ्नो कविता वाचनको कुनै बिर्सन नसक्ने क्षण याद छ ?

सन् १९८५ मा एउटा कविताको कार्यक्रममा भाग लिन जर्मनीको हेम्बर्ग गएको थिएँ । त्यहाँ संसारभरिका साढे सात सय कविहरू आमन्त्रित थिए । त्यसमध्ये १५ जना ‘गेस्ट अफ अनर’ थिए । म पनि १५ जनामा थिएँ । गुन्टर ग्रास, अल्बर्टो मोराबियालगायत कवि पनि विशिष्ट अतिथि थिए । एउटा विश्वविद्यालयमा कविता वाचनका लागि बोलाए ।

उनीहरूले आफ्नै भाषामा कविता भन्नुपर्ने बताए । मैले दुई–तीनवटा कविता नेपाली भाषामै सुनाए । स्रोताहरू अत्यन्त ध्यानमग्न भए । त्यसवेला मलाई अनुभव भयो कि कवितामा तत्कालै शब्दमा हाम फालेर अर्थको तहमा झर्नु उपयुक्त नहुने रहेछ । भाषाको ध्वनिको विशिष्टता कविता वाचनमा हुँदो रहेछ ।

-तपाईंलाई राम्रो लाग्ने आफ्नै कविता कुन हो ?

यो बडा विकट प्रश्न हो । आफैँले सिर्जना गरेका छोराछोरी बाबुआमालाई कुनचाहिँ मन पर्छ भन्दा के भन्ने ? तर, कहिलेकाहीँ छोराछोरी पनि एक–दुईचाहिँ नजिक हुने गर्छन् । मलाई मेरा कविता समयअनुसार घनिष्ठ लाग्छ । निरन्तर एउटै हुँदैन । यो राम्रो यो नराम्रो भन्ने पक्षमा म छैन ।

-वैरागी काइँला र तपाईंको एउटा साझा बिम्ब छ । तपाईंले ‘जिन्दगी लुगा भइदिए फुकालेर झुडाइदिनुहुन्थ्यो कोठाको किलामा’ लेख्नुभएको छ । वैरागी काइँलाको पनि यस्तै बिम्ब छ । कसरी मिल्न गयो ?

झ्वाट्ट हेर्दा बिम्ब एकै हो कि जस्तो लागे पनि अलग पक्ष र सन्दर्भमा आएका छन् । उहाँको कविता दुई–तीन लाइनको हो । मेरो ‘लुगा र जिन्दगी’ भन्ने कविताचाहिँ ६५–७० लाइनको छ ।

जिन्दगी लुगा भए फुकालेर झुन्ड्याइदिनुहुन्थ्यो कोठाको किलामार एकछिन हेरिरहनहुन्थ्यो आफू झुन्डिएको आफ्नै कोठाको किलामा यहीँबाट अर्थ भिन्न ढंगले खुल्छ । यो झुन्ड्याउनु मात्र होइन कि आफू झुन्डिएको आफैँले तटस्थ भएर हेर्ने कुरा छ । यो कविता धेरै व्यापक र विस्तारित भएर गएको कविता हो ।

-यो बिम्बचाहिँ कसले पहिला लेख्नुभयो ?

अर्थै फरक भइसकेपछि कसले पहिला लेख्यो भन्ने कुरै भएन नि । सन्दर्भ नै फरक छ । त्यसो त हामीले लेखेका शब्द सबै प्रयोग भइसकेका छन् नि ।

-तपाईंको कवितामाथि कसैले कहिल्यै खरो आलोचना गरेको छ ?

०१५–१६ सालमा दुईवटा कविता लेखिसकेपछि नै म प्रसिद्ध भएको थिएँ । मेरो कवितामा त्यस्तो खरो आलोचना भएको थाहा छैन । प्रशंसा नै बढी भएको देखेको छु मैले त । कतै कसैले एक दुई प्रश्न उठाए होलान्, तर तपाईंको प्रश्नको अभिप्रायः जस्तो आलोचना भएको छैन ।

-नयाँ कविता कृतिको तयारीमा हुनुहुन्छ रे । कहिलेसम्म लेखिएका कविता आउँदै छन् ?

नयाँ र पुराना कविताहरू संग्रहित गरेर निकाल्ने तयारी हुँदै छ । त्यसका अनुवाद अंग्रेजी, स्पेनिस, फ्रेन्च र इटालियनमा पनि हुँदै छ । अहिलेको पुस्तकमा ०४० सालदेखि यता लेखिएका कविता आउँदै छन् ।

प्रस्तुति : प्रकाश गुरागाईं

The post प्रेमलाई कवितामा लेखेँ बिहे गरिनँ : तुलसी दिवस appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2zDC7rc

No comments:

Post a Comment

Post Bottom Ad

Pages