निर्मला हत्याको दुई महिना, अनुसन्धानमा अझै संशय - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 28, 2018

निर्मला हत्याको दुई महिना, अनुसन्धानमा अझै संशय

महेश्वर गौतम/काठमाडौं।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बित्यो । यस अवधिमा दोषी पत्ता लाग्नेभन्दा पनि प्रत्येक तहमा गरिएका अनुसन्धानसमेत थप अनुसन्धानकै घेरामा रहँदै आएका छन् ।

स्थानीय प्रहरीले अनुसन्धानको सुरुवाती अवस्थामा नै ‘फेक’ अभियुक्त देखाएर अनुसन्धानलाई फितलो बनाउनतर्फ अघि बढ्यो । निर्मलाका हत्याका चरणमा भएका धेरै प्रमाण त्यसबीचमा गुमनाम भए । त्यस यता अनुसन्धानका नाममा थप अनुसन्धान हुँदासमेत मुख्य अभियुक्त पक्राउ पर्न सकेका छैनन् ।

हाल प्रहरीसँग निर्मलाको हत्या पुष्टि गर्ने प्रमाणका नाममा उनको यौनांगबाट निकालिएको पुरुषको सुक्रकिटबाहेक अरू केही छैन ।

निर्मला गत १० साउनमा साथी रोशनी बमको घर जाने भन्दै घरबाट निस्केकी उनका परिवारले बताउँदै आएका छन् । तर, उनै बम दिदीबहिनीसमेत हाल प्रहरी थुनाबाट बाहिरी सकेका छन् । निर्मलाको शव ११ साउनमा घर नजिकैको उखुबारीमा भेटिएको थियो ।

उनको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले २५ दिनपछि मानसिक सन्तुलनसमेत ठीक नभएका भनिएका दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो तर दिलिप निर्दोष भएको र प्रहरीले वास्तविक अपराधी जोगाएर उनलाई फसाउन खोजेको भन्दै आन्दोलन कञ्चनपुरवासीले आन्दोलन गर्दै आएका थिए ।

अनुसन्धानकै क्रममा उनै दिलिपको डीएनए परीक्षण गर्दा मेल नखाएपछि प्रहरीको ‘फेक’ अभियुक्त पुष्टि भएको थियो । त्यसबीचमा निर्मलाको न्यायका लागि भएको आन्दोलनकै क्रममा एक जना आन्दोलनकारीको समेत ज्यान गयो ।

निर्मलाका हत्यारा पत्ता लाग्ने आशामा रहेका उनका परिवारसमेत अब निराश हुँदै गएका छन् ।

दुई महिनामा केके भए ?

१० साउनमा साथी रोशनी बमको घर गएको

११ साउनमा उखुबारीमा मृत फेला

१२ गतेदेखि हत्याको विरोधमा प्रदर्शन सुरु

१३ साउनमा हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी नायब उपरीक्षक अंगुर जिसी नेतृत्वको तीन सदस्यीय टोली कञ्चनपुर प्रस्थान

४ भदौमा सीआईबी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीद्वारा हत्या आरोपमा दिलिपसिंह विष्ट सर्वजनिक

५ भदौमा वास्तविक अपराधी लुकाइएको भन्दै प्रदर्शन चर्काइयो, बजार बन्द

७ भदौमा विरोधमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच झडप, प्रहरीद्वारा गोली प्रहार, गृह मन्त्रायद्वारा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी उपरीक्षक तथा प्रहरी नायब उपरीक्षक परिवर्तन, अनिश्चितकालीन कर्फ्यु, गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदिस्यीय छानबिन समिति गठन र १५ दिनभित्र घटनाको प्रतिवेदन बुझाउन निर्देशन

८ भदौमा झडपका क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्य, दर्जनौं घाइते

१४ भदौबाट कर्फ्यु हटाइयो

१८ भदौमा सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीको टोली अनुसन्धानका लागि कञ्चनपुर प्रस्थान

२६ भदौमा निर्मला पन्तको हत्या आरोपमा पक्राउ परेका अभियुक्त दिलिपसिंह विष्ट डीएनए परीक्षण नमिलेपछि रिहा

३० भदौमा गृह मन्त्रलायका सहसचिव हरिप्रसाद मैनालीको समितिद्वारा गृह मन्त्रालयमा प्रारम्भिक प्रतिवेदन पेस, एसपी डिल्लीराज विष्टसहित डीएसपी ज्ञानबहादुर सेटी, सीआइबीका डीएसपी अंगुर जिसीलगायत सात जना प्रहरी निलम्बित, समितिलाई एक साता म्याद थप

३१ भदौमा प्रहरी प्रधानकार्यालयद्वारा तत्कालीन डीआईजी धिरु बस्नेतको नेतृत्वमा पुन नौ सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन

९ असोजमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिबाट गृहमन्त्रीलाई प्रतिवेदन पेस

१० असोजमा निर्मलाका बुवाको औंठाछाप नै नक्कली भएको र कपडासमेत जलाइएको गृहमन्त्रीको भनाइ

‘जहाँबाट मेरी छोरी हराई त्यहीँबाट अनुसन्धान हुनुपर्छ, शंका गर्ने धेरै ठाउँ छन् तर अनुसन्धानले सबैलाई जोगाउँदै गएको छ । अब न्याय पाइनेमा पनि शंका लाग्न थाल्यो,’ निर्मलाका बुवा यज्ञराजले राजधानीसँग भने ।

प्रहरी भने अभियुक्त पत्ता लाग्नेमा आशावादी रहेको बताउँदै आएको छ । निर्मला हत्यका लागि प्रहरीतर्फबाट बनेको छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्नेतले निर्मला हत्याबारे गहन रूपमा अनुसन्धान भइरहेको बताए ।

हाल प्रहरीकै तर्फबाट बनाइएको छानबिन समितिले निर्मला हत्याबारे स्थानीयले आरोप लगाउँदै आएका तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का मेयरका भतिजा भनिएका आयुष विष्टको डीएनएसमेत परीक्षण गरिरहेको छ । नतिजा भने आएको छैन ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2OQUD4q

No comments:

Post a Comment

Post Bottom Ad

Pages