बन्दले धनगढीको जनजीवन अस्तव्यस्त, गोदावरीमा खुसीयाली - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 28, 2018

बन्दले धनगढीको जनजीवन अस्तव्यस्त, गोदावरीमा खुसीयाली

दीपक ओली/धनगढी ।

प्रदेश ७ को स्थायी राजधानी र नामांकनको विषयलाई लिएर बिहीबारदेखि भएको अनिश्चितकालीन आमहड्तालका कारण धनगढीको जनजीवन अस्तव्यस्त भएको छ । प्रदेश ७ को संसदद्वारा गठित प्रदेश ७ को नामकरण र स्थायी राजधानी  निर्धारण गर्न गठित विशेष सुझाव समितिले प्रादेशिक राजधानी कैलालीको गोदावरी नगरपािलका तेघरीमा र प्रादेशिक नाम सुदूरपश्चिम प्रदेश राख्न प्रतिवेदन पेस गरेपछि त्यसको असन्तुष्टि जनाउँदै धनगढीमा अनिश्चितकालीन आम हड्ताल गरिएको हो ।

आम हड्तालका कारण बिहीबार धनगढीबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीसाधन चलेनन् भने धनगढीका पसल, शैक्षिक संस्था, बैंक, उद्योग तथा कलकारखाना पूर्ण रूपमा बन्द भएका थिए ।

सिफारिस गरिएको राजधानीको विरोध जनाउँदै बिहीबार बिहानदेखि सर्वसाधारणले नारा जुलुससहित हालको राजधानी धनगढीलाई नै स्थायी राजधानी तोक्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले प्रदेशसभाबाहिर टायर बाल्नुका साथै फाट्फुट रूपमा चलेका सवारीसाधनको साँचो खोसेर अवरोध गरेका थिए । आक्रोशित प्रदर्शनकारीले धनगढीमा रहेका भौतिक पूर्वाधारको रंगरोगन र सजावटमा  करोडौंको खर्च भइसकेको भन्दै राजधानी अन्यत्र सार्न नहुने माग गर्दै आएका छन् । सिफारिस स्थायी राजधानी हालको अस्थायी राजधानी धनगढीभन्दा

झन्डै १८ किलोमिटर उत्तरको तेघरीस्थित वन क्षेत्रमा पर्दछ ।

 

गोदावरीमा खुसीयाली

 

यसैबीच प्रदेश ७ को संसद्मा आफ्नो गाउँठाउँमा प्रादेशिक राजधानी सिफारिस भएको खुसीयालीमा गोदावरीवासीले अत्तरियामा ¥याली निकालेका छन् ।

गोदावरी नगरपालिकाको अगुवाइमा निकालिएको ¥यालीमा नगर प्रमुख, उपप्रमुख, विद्यार्थीलगायत स्थानीको सहभागिता रहेको थियो ।

उनीहरूले गोदावरी प्रादेशिक राजधानीका लागि उपयुक्त रहेको भन्दै राजधानीका लागि हदैसम्म सहयोग गर्न तयार रहेको बताए । उनीहरूले अत्तरियामा चोकमा कोणसभासमेत गरेका छन् । कोणसभामा बोल्दै नगर प्रमुख हरिसिंह साउँदले प्रदेशको राजधानी गोदावरीमा घोषणा गरेकोमा खुसी व्यक्त गर्दै गोदावरी धार्मिक क्षेत्र र सबैलाई पायक पर्ने ठाउँ भएकाले सबैले यसको स्वागत गर्नुपर्ने बताए । अत्तरियामा राजधानीको विषयलाई स्वागत गरिँदा यता धनगढी भने बन्द गरिएको छ ।

डोटीमा पनि आन्दोलन

यसअघि साबिकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायललाई नै प्रदेश ७ प्रादेशिक राजधानी बनाइनुपर्ने माग गर्दै आएका डोटीवासी पुनः आन्दोलित भएका छन् । दिपायलमा राजधानीका लागि आवश्यक भौतिक पूर्वाधार र नौवटै जिल्लाको पायक पर्ने भएको भन्दै राजधानीको माग गर्दै आन्दोलित भएका हुन् । राजधानीको माग गर्दै यसअघि ६४ दिनसम्म आन्दोलन गरेका उनीहरूले आज शुक्रबारदेखि  अनिश्चिकालीन डोटी बन्दको घोषणा गरेका छन् ।

२२ सांसदद्वारा मेयर ओडविरुद्ध मुद्दा दर्ता

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडविरुद्ध जिल्ला प्रशासनमा मुद्दा दर्ता भएको छ । मेयर ओडले बुधबार प्रदेशसभा भवनअगाडि पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै  जिउज्यान असुरक्षित भएको भन्दै प्रदेश सांसदद्वारा प्रमुख जिल्ला अधिकारीसमक्ष प्रशासनमा मुद्दा दर्ता भएको हो ।

प्रदेश ७ का ने क पाका २२ जना सांसदहरूले बिहीबार जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठलाई ओड र उनका सहयोगीलाई पक्राउ गरी कारबाही गर्न र आफूहरूको सुरक्षा व्यवस्था मिलाउन माग गर्दै उजुरी दिएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जानकारी दिए ।

सांसदहरूले दिएको उजुरीमा ओडले बुधबार संसद् चलिरहँदा संसद् भवन अगाडि ‘संसद् भवन २४ घण्टाभित्र खाली नगरे उडाइदिन्छु भन्ने अभिव्यक्ति सार्वजनिक भएकोले मेयर ओडविरुद्ध मुद्दा दर्ता गराउन बाध्य भएको सांसद तारालामा तामाङले बताए ।

मेयर ओडले  सत्तापक्षका सांसदहरूको घर खोजीखोजी जलाइदिनु र भौतिक आक्रमण गर्नू’ भनेकाले शान्ति सुरक्षामा खलल पुग्ने, हुलदंगा हुन सक्ने, अपूरणीय क्षति हुन सक्ने खतरा बढेकाले उजुरी दिएको उनले बताए ।

सांसदहरूले ओडले भड्किलो अभिव्यक्ति दिएको हुनाले धनगढीमा सांसद्, सांसद्को परिवार, घर, डेरा र सांसद् भवनमा कुनै पनि घटना भए सोको जिम्मेवारी मेयर ओडले लिनुपर्ने माग गरेका छन् । सांसदहरूले डर, धाक, धम्की, त्राससमेत दिएर आफ्नो पदीय आचरण र मर्यादाविपरीत अमानवीय ढंगले प्रस्तुत भई सत्ता पक्ष र सांसदलाई सामाजिक र मानसिक दबाब दिएको उजुरीमा उल्लेख छ ।

सांसद लीलाधर भट्टले मेयर ओडको अभिव्यक्ति आंकतकारीजस्तो भएको बताए । उनले ओडको अभिव्यक्ति लोकतन्त्रविरुद्ध रहेको भन्दै ओडले अपराधिक शब्द प्रयोग गरी धनगढीमा साम्प्रदायिक दंगा भड्काउने किसिमको अभिव्यक्ति दिएको हुनाले सांसदले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताए ।

सांसदले मुलुकी अपराध संहिता ऐन २०७४ भाग २ परिच्छेद १ को दफा ५८ अनुसार मेयर ओडलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

मेयर ओड मलेसिया भ्रमणका लागि बिहीबार काठमाडौं पुगेका छन् । उनी बिहीबार नै मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

सांसदहरूको उजुरी बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले मुद्दा दर्ता भएको बताउँदै आफ्नो माध्ययमबाट मेयर ओडलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने र सांसदहरूको सुरक्षा व्यवस्था मिलाउने बताए ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2zB39PS

No comments:

Post a Comment

Post Bottom Ad

Pages