बंगबन्धुले लिगमा प्रभाव पार्ने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 28, 2018

बंगबन्धुले लिगमा प्रभाव पार्ने

बंगबन्धु गोल्डकपका कारण सहिद स्मारक ए डिभिजन लिग स्थगित हुने

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । तर, बंगलादेशमा सञ्चालन हुने बंगबन्धु फुटबल च्याम्पियनसिपका कारण ए डिभिजन लिगमा प्रभाव पर्ने छ । बंगबन्धु कप चालू रहँदासम्म एन्फाले लिग स्थगित गर्नेछ । लिग कमिटीले पहिलो र दोस्रो दिनका खेल एन्फा कम्प्लेक्समा खेलाउने जनाएको छ ।

बंगबन्धुका कारण स्थगन
शनिबारदेखि सुरु हुने लिगको पहिलो खेलमा त्रिभुवन आर्मी र न्युरोड टिम (एनआरटी) ले प्रतिस्पर्धा गर्नेछन् । आइतबार संकटा र सरस्वतीबीचको खेल हुनेछ । दुई खेलपछि बंगबन्धु गोल्डकपका कारण अनिश्चितकालका लागि स्थगित हुने एन्फाका महासचिव इन्द्रमान तुलाधरले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

‘बंगबन्धु गोल्डकपको समूहचरण ६ अक्टोबरसम्म हुने भएकाले त्यसपछिको नतिजालाई हेरेर लिगको अर्को तालिका सार्वजनिक हुनेछ,’ एन्फाका महासचिव तुलाधरले भने, ‘नेपालले बंगबन्धु गोल्डकप खेल्ने भएका कारण केही समय लिग प्रभावित हुनेछ । हामी ६ अक्टोबरसम्म कुर्नेछौँ । त्यसपछि नतिजाअनुसार क्लबहरूलाई लिगका बारेमा ७२ घन्टाभित्रै जानकारी गराउनेछौँ ।’

दसैँअघि एक चरण खेल
दसैँअघि लिगको एक चरणको खेल सम्पन्न गर्ने तयारी तुलाधरले बताए । नेपालले बंगबन्धु गोल्डकपअन्तर्गत पहिलो खेलमा २ अक्टोबरमा ताजकिस्तान र ६ अक्टोबरमा प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ । समूह ए अन्तर्गत भिड्ने नेपाल तीन टिममा शीर्ष दुईमा रहन सके अघिल्लो चरण प्रवेश गर्नेछ । साबिक च्याम्पियन नेपाललाई कठिन समूहमा परेको टिमका रूपमा हेरिएको छ ।

उद्घाटन विशेष बनाइने
एन्फाले चारवर्षपछि हुन लागेको लिगको उद्घाटन खेललाई विशेष बनाउने जनाएको छ । ०७२ पछि कुनै पनि प्रकारको लिग नभएकाले लिगको उद्घाटनमा सांस्कृृतिक कार्यक्रम गरिने जनाएको छ । एन्फाले सामाजिक उतरदायित्वका रूपमा ड्रग्सविरुद्धको अभियानका लागि समेत साथ दिनेछ । ‘रेड कार्ड टु ड्रग्स’ नाराका रूपमा राख्दै सांस्कृतिक कार्यक्रम गर्ने एन्फाले जनाएको छ ।

फिक्सिङ रोक्न सिसिटिभी
एन्फा लिग कमिटीका संयोजक विज्ञानराज शर्माले लिगलाई मर्यादित बनाउन एन्फाले सबैखाले प्रयास गरेको जानकारी दिए । उनले भने, ‘लिगलाई मर्यादित बनाउन मैदानमा सिसिटिभिको व्यवस्था गरेका छौँ । यसलाई थप मर्यादित बनाउन क्लब, अफिसियल तथा अन्य सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहेका छौँ ।’

१४ क्लबले प्रतिस्पर्धा गर्दै
योपटक लिगमा १४ क्लबले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । विजेताले ५० लाख र उपविजेताले उपविजेताले ३५ लाख हात पार्नेछन् । त्यस्तै, तेस्रोले २५ लाख पाउनेछ । यसपटकको लिगमा छैटौँ हुनेसम्मलाई पुरस्कार राखिएको छ । यस्तै, हरेक खेल जित्ने टिमलाई छुट्टै ५० हजारको व्यवस्थासमेत गरिएको छ ।

विमल च्यासलमा
थ्री स्टारसँग सम्झौता नवीकरण नभएपछि राष्ट्रिय टोलीका प्रमुख स्ट्राइकर विमल घर्तीमगर च्यासल क्लबसँग आवद्ध भएका छन् । २१ वर्षीय विमलले बिहीबार च्यासल युथ क्लबसँग सम्झौता गरेका हुन् । यससँगै विमलले पनि लिगमा आफ्नो डेब्यु गर्ने अवसर पाएका छन् ।

च्यासलले शुक्रबार एन्फामा विमलको खेलाडी दर्ता गर्नेछ । क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले राष्ट्रिय टोलीका खेलाडीलाई आवद्ध गर्न पाउँदा आफूहरू निकै खुसी भएको बताएका छन् । १४ वर्षको उमेरमा विमलले पाकिस्तानविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । छोटो समयमै राष्ट्रिय टोलीकै प्रमुख स्ट्राइकर भएका विमलले ए डिभिजन लिग भने खेल्न पाएका छैनन् ।

 

The post बंगबन्धुले लिगमा प्रभाव पार्ने appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2Qg7JIO

No comments:

Post a Comment

Post Bottom Ad

Pages