काठमाडौं/रासस– प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (शनिबार) न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् । उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहनुहुनेछ । असोज ९ गते मंगलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्रसंघलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले ११ असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् । उनले सोही दिन यस विश्व संस्थाका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखरबैठक’का रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्बोधन गर्नेछन् । सो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा उनको शताब्दीयौं जन्मदिवसका अवसरमा आयोजना हुनेछ ।
प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । उनी ९ असोजमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् ।
प्रधामन्त्री ओलीले सोही दिन महासचिव गुटेरेसले आयोजना गर्ने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’लाई सम्बोधन गर्नेछन् । उनले सोही दिन एसिया सोसाइटीमा ‘शान्ति, प्रजातन्त्र तथा विकास’का विषयमा सार्वजनिक व्याख्यान दिनेछन् । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई निर्देशन गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभाका कार्यक्रमका साथसाथै १० असोजमा स्विजरल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्नेछन् । उनले १२ असोजमा क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुई पक्षीय भेटवार्ता गर्नुहुनेछ ।
प्रधानमन्त्री ओली १३ असोजमा दुईपक्षीय औपचारिक भ्रमणका क्रममा न्युयोर्कबाट कोस्टा रिकाको सान होजेतर्फ प्रस्थान गर्नेछन् । उनले त्यहाँ कोस्टा रिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन् । उनले त्यहीँ नै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री १७ असोजमा स्वदेश फर्कनेछन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अन्य बैठकका साथै छुट्टै रूपमा असंलग्न अभियानका मुलुकको समूह, ७७ मुलुकका समूह, अल्पविकसित मुलुकका समूह तथा भूपरिवेष्टित विकासशील मुलुकका समूह तथा मध्यस्थताका मित्रका समूहका मन्त्रीस्तरीय बैठकहरूमा भाग लिनेछन् । ज्ञवालीले ११ असोजमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को मन्त्रीस्तरीय अनौपचारिक बैठक आयोजना गर्नेछन् । प्रधानमन्त्री ओलीका भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनेछन् ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2prYKJ5
No comments:
Post a Comment