राजधानी संवाददाता/बिर्तामोड।
झापाको भद्रपुर विमानस्थलमा सुरक्षा जाँचमा खटिएको प्रहरीले सुरक्षा जाँचका नाममा यात्रुहरूसँग अवैधरूपमा जबर्जस्ती रकम लिने गरेको पाइएको छ । विमानस्थल प्रहरीले डर त्रास देखाउँदै यात्रुहरूसँग जबर्जस्ती रकम लिने गरेको मौखिक उजुरी जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी प्रधान कार्यालय काठमाडौंमा दिँदासमेत ती प्रहरीमाथि कारबाहीको कुनै पहल भएको छैन ।
पछिल्लो पटक भारतीय नागरिक चन्द्र ठाकुरसहित अन्य चार जनासँग भद्रपुर विमानस्थलमा खटिएका प्रहरीले झण्डै एक लाख सत्तरी हजार रुपैयाँ जबर्जस्ती रूपमा असुलेका छन् । बुद्ध एयरको जहाजबाट ६ असोजको दिउँसो ३ बजेर ३५ मिनेटको उडानमा काठमाडौं आउन लागेका ठाकुरसहित पाँच जनासँग चिनियाँ आरएमबी ६ हजार (नेपाली करिब एक लाख रुपैयाँ) र चार हजार दुई सय भारतीय रुपैयाँ जबर्जस्ती असुलेका हुन् ।
प्रहरीले अवैधरूपमा आफूहरूसँग रकम लिँदा पनि जहाज उड्न लागेकाले समय अभावका कारण आफूहरूले तत्कालै कुनै कदम चाल्न नसकेको बताए । उनले आफूहरूमाथि भएको अन्यायको मौखिक जानकारी प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय झापामा दिएको पनि बताए ।
पीडित भारतीय नागरिक ठाकुरले भने, ‘जहाजतर्फ जाने सिलसिलामा विमानस्थलका सईसहित अन्य प्रहरीले लाइनमा रहेका हामीलाई चेकजाँच गरेका थिए । सो क्रममा सुरुमा उनीहरूले मसँग रहेको दुई हजार भारतीय रुपैयाँ लिए, त्यसपछि मसँग भएको ६ हजार चिनिया आरएमबी पनि लिए । मैले मेरो पैसा मागेँ, तर दिएनन् । जहाज छुट्न लागेकाले मैले तत्कालै कुनै कदम चाल्न पनि सकिन ।’
भारतीय नागरिक ठाकुरका अनुसार, आफूभन्दा पछाडि रहेका अन्य चार जनासँग पनि उनीहरूले अनेक डर त्रास देखाउँदै प्रतिव्यक्ति १० हजार भारतीय रुपैयाँ असुलेका थिए ।
‘यस्तो गैरकानुनी काम गर्ने ? तपाईंहरू अब जेल जानु हुन्छ’ भनेर त्रास देखाउँदै आफूहरूसँग रकम लिएको ठाकुरको भनाइ छ ।
कानुनतः उनीहरूसँग भएको रकम अवैध भएको भए प्रहरीले उनीहरूलाई पक्राउ गरी सो रकम राजस्व अनुसन्धान विभागमा बुझाउनु पर्छ । तर, विमानस्थल प्रहरीले सो रकम अहिलेसम्म पनि राजस्व अनुसन्धान विभागमा बुझाएको छैन ।
विमानस्थल प्रहरीका सई मानबहादुर खड्काले भने आफूहरूले सुरक्षा जाँचका नाममा डरत्रास देखाइ रकम असुल नगरेको प्रतिक्रिया दिए । ठाकुरको आरोपका सम्बन्धमा सई खड्काले भने, ‘हामीले सुरक्षा जाँच गर्दा उनीहरूसँग चिनिया आरएमबी र भारतीय रुपैयाँ देखेपछि सोधखोज गरेका हौं, उनीहरूले मानसरोबर भ्रमणमा जान लागेको बताएपछि पासपोर्ट र पैसा फिर्ता गरेका हौं । हामीले कोहीसँग पनि रकम असुलेका छैनौं ।’
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2OVmX5O

No comments:
Post a Comment