शम्भूजितको स्वर्णिम संगीतमा झुमे दर्शक - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 30, 2018

शम्भूजितको स्वर्णिम संगीतमा झुमे दर्शक

राजधानी समाचारदाता
काठमाडौं

अग्रज गीतकार एवं संगीतकार तथा गायक शम्भूजित बाँस्कोटाको संगीतमा काठमाडौंवासी शनिबार अपराह्न राजधानीको टुँडिखेलमा झुमेका छन् । साधना कलाकेन्द्रद्वारा आयोगित ‘शम्भूजित स्वर्णिम संगीत यात्रा–२०१८’ अन्तर्गतको टुँडिखेलमा सम्पन्न पहिलो कन्सर्टमा दर्शक झुमेका हुन् ।

करिब साढे ३ घण्टा चलेको प्रत्यक्ष गायनसहितको सो कार्यक्रममा बाँस्कोटा आफैंले चारवटा गीत गाएर कार्यक्रमलाई स्वर्णिम संगीतमय तुल्याए ।

परेवा उडाएर शान्तिको कामनासहित सुरु गरिएको सो सांगीतिक यात्राको पहिलो कन्सर्टमा प्ररम्भमा अग्रज गायक प्रेमध्वज प्रधान प्रस्तुत भए । उनले नर्तकी बनी अभिनय ग-यौ…, तिम्रो घुम्टो…र देउरालीमा माया…जस्ता गीत २०३४ सालतिर रेकर्ड गरिएको जानकारी दिँदै गाएर दर्शकलाई मन्त्रमुग्ध तुल्याए ।

अग्रज गायक बाँस्कोटालाई गाउन दर्शकबाट हुटिङ भएपछि उनले अच्छा लेकिन लन्डनको चिसोले सताउला…गीत सुनाए । यो गीतमा दर्शकहरू पसिना बगाउँदै नाचे ।

राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल ओली र गायक बाँस्कोटाले बाँझो खेतमा छड्के सलाम छ मायालाई…गीत गाए । यतिबेला दर्शकदीर्घाबाट सर्वाधिक हुटिङ आयो । यो गीतमा पनि दर्शक त्यत्तिकै नाचे ।

मनोहर सुनामको निर्देशनमा प्रत्यक्ष संगीतमा करिब दुई दर्जन कलाकारले बाँस्कोटाद्वारा संगीतबद्ध गीत यो संगीत यात्रामा प्रस्तुत गरे ।

उमेश पाण्डे र निशा देशारले सँयुक्त रूपमा गाएको रातो टीका निधारमा टलक्क टल्कियो…गीतमा पनि दर्शक त्यत्तिकै नाचेका थिए । यो प्रस्तुति पनि कार्यक्रमका उत्कृष्ट पाटो बनेको थियो ।

गायक आनन्द कार्की र गायिका निशा देशारले युगल गीतबाट दर्शकलाई मोहित तुल्याए । यी दुईले जनमजनम जिउँला सँगै…गीत गाएका थिए ।

गायिका देविका बन्दनाले यस्तै रहेछ यहाँको चलन…, भरे आउँछु सपनीमा…लगायतका गीतमार्फत कार्यक्रमको रौनक बढाउँदै दर्शकको मन जितिन् ।

यस्तै, गायक यम बरालले चलचित्र अल्लारेको अब चोटहरूले पिरोल्दैन मलाई…गाउँदा दर्शकहरू पनि कार्यक्रममा स्तब्ध देखिए । यस्तै, गायक विश्व नेपालीले के भुँल गरें मैले…मा पनि दर्शक मौन देखिए । जब उनले यो साइनो मायाको… गीत गाए, त्यतिबेला बल्ल दर्शक रमाए ।

गायक अमर तण्डुकारले गाएको धेरै दिन भो तिम्रो झझल्को…, युवराज चौलागाईंले मन पराउने हजार भेटिन्छन्…, मनोजराजले यो माया के हो, आगो हो कि पानी…, समपना हो यो मेरो भने…गीत सुनाए ।

बानिका प्रधानले गाएको मेरा आशक्तिका…, सुरेश लामाले गाएको एकै नजरमा माया बस्यो है…, जबजब म एक्लो हुन्छु…जस्ता गीतले पनि कार्यक्रममा सहभागी दर्शकलाई झुमायो ।

टीका प्रसाईंले चैत मास खडेरीमा…, सुरजकुमार थापाले अब त यो जिन्दगानी…, सञ्जय तुम्रुकले म त अब रिसाउँछु बोल्दै बोल्दिनँ… सहितका गीतमार्फत स्वर्णिम सांगीतिक यात्राको माहोल जमाए ।

सो कार्यक्रममा प्रेमध्वज प्रधान, शम्भूजित बाँस्कोटा, मिलन मोक्तान, अनन्द कार्कीसहित सबैजसो गायक–गायिकाले अग्रज गीतकार एवं प्राज्ञ उन्नति बोहरा ‘शिला’को गीतिपुस्तक ‘फर्की आऊ शान्ति तिमी’ को संयुक्त विमोचन गरे ।

आयोजक मिलन मोक्तानले शम्भूजित स्वर्णिम सांगीतिक यात्रा आइतबार काठमाडौंको होटल सोल्टीमा साँझ ६ बजेबाट हुने पनि जानकारी गराए । शनिबार टुँडिखेलमा गाउने सबै कलाकारको स्वरमा सोल्टीमा गीत सुन्न पाइनेछ ।

यस्तै, भारतबाट आएका कलाकार अनुराध पौडवाल, सञ्जीवनी तथा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, योगेश वैद्य, राजेशपायल राई, दीपक खरेलसहितले पनि सोल्टीमा गीतहरू गाउने आयोजक मिलन मोक्तानले कार्यक्रममा बताए ।



from Rajdhani Daily https://ift.tt/2y0GlXD

No comments:

Post a Comment

Post Bottom Ad

Pages